२०८१ चैत २५ गते सोमवार / Apr 07 , 2025 , Monday
२०८१ चैत २५ गते सोमवार
Ads

विपक्षीले मागे संसद्को विशेष अधिवेशन

draupadi film
जानकी पाठक
२०८१ चैत २५ गते ०६:१५
विपक्षीले मागे संसद्को विशेष अधिवेशन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसद्को विशेष अधिवेशन माग गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशन बोलाउन सकिने बताएका हुन् । 

विद्यालय शिक्षा ऐन मागेर शिक्षकहरू अनवरत आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । विद्यालय शिक्षा विधेयक ऐनका रूपमा नपाएसम्म आन्दोलन छाडेर घर नफर्किने शिक्षकहरूको अडान छ । यही बेला विपक्षी दलका नेता प्रचण्डले शिक्षकहरूलाई उकासेका हुन् । 

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरूका निम्ति जरुरी पर्‍यो भने संसद्को विशेष अधिवेशन बोलाउन सकिने बताए । यो विषयमा प्रतिपक्षी दलहरूसँग समेत कुरा गर्न सकिने उनको आश्वासन छ । 

‘शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्को विशेष अधिवेशन बोलाउन सकिन्छ । यसका लागि आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु’, प्रचण्डको प्रतिबद्धता छ । 

संविधानको धारा ९३ को उपधारा ३ मा विशेष अधिवेशनसम्बन्धी व्यवस्था छ । संसद्को अधिवेशन नचलेको अवस्थामा संसद् बैठक बोलाउनुपरे एक चौथाइ सांसदले राष्ट्रपति समक्ष लिखित अनुरोध गर्न सक्छन् ।

‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन बाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने छ’, संविधानको धारा ९३ को उपधारा ३ मा लेखिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विशेष अधिवेशन बोलाउन एक चौथाइ अर्थात् ६९ सांसद आवश्यक पर्छ । यसका लागि माओवादी केन्द्रसँग मात्र पर्याप्त संख्या छैन । यस कारण प्रचण्डले अन्य दलसँगसमेत संवाद गर्ने बताएका हुन् ।

माओवादी केन्द्रसँग ३२ जना सांसद छन् । अर्को विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ सिट र नेकपा (एकीकृत समाजवादी)को १० सिट छ । यी दलहरू मिलेका खण्डमा विशेष अधिवेशन बोलाउन आवश्यक संख्या पुग्छ ।

सत्तारूढ दलहरू नियमित अधिवेशन नै केही समयमा आह्वान हुने भएकाले विशेष अधिवेशन माग गरिरहन नपर्ने बताउँछन् । संघीय संसद्को विधेयक अधिवेशन यही १९ चैतमा अन्त्य भएको थियो ।

अधिवेशन अन्त्य भएको १ साता हुँदै छ । तत्काल माओवादी अध्यक्ष प्रचण्डले अर्को अधिवेशन माग गरेका हुन् । 

१५ जेठमा बजेट ल्याउनुपर्छ । त्यसको १५ दिन अगाडि प्रि–बजेट छलफल सक्नुपर्छ । यस कारण वैशाखको दोस्रो सातासम्म अधिवेशन आह्वान हुन सक्ने नेताहरू बताउँछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise