– चन्द्रबहादुर बस्याल
नेपाली हस्तकला तथा सीप हाम्रो मौलिक संस्कृति, पहिचान र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको विषय हो । नेपाल विविध जातजाति, भाषा, वेशभूषा र परम्परागत सीपले भरिपूर्ण मुलुक हो । हाम्रा गाउँ–शहरका सुनार, लोहार, दर्जी, ताम्राकार, जुत्ता बनाउने, हातले बुन्ने, ढाका कपडा तयार गर्ने, काठका सामान बनाउने, माटोका भाँडा बनाउने, धातुका मूर्ति कोर्ने, थांका चित्र बनाउने, ढोल, मादल, सारंगी निर्माण गर्नेजस्ता थुप्रै सीप परम्परादेखि पुस्तान्तर हुँदै आएको छ ।
अहिले विशेषगरी विश्व बजारमा सुनका गहना, कलात्मक काठका सामग्री, माटोका सामग्री, ढुंगाका कलात्मक सामग्री, सिसाका सामग्रीको माग निकै उच्च छ, जुन कुराहरू निर्माणमा नेपालीहरू सक्षम छन् ।
पछिल्ला दशकहरूमा यी हस्तकलाहरूको माग र बजार कमजोर हुँदै गएको पनि पाइन्छ । तर, यी सामग्रीहरू बजारीकरण गर्न भने नेपालीहरू चुकिरहेका छन्, जसको मुख्य कारण भनेको आधुनिक उत्पादन प्रणाली, सस्तो सामानको आयात र बजारसम्म सीपको पहुँच नहुनु हो ।
उत्पादन भएका वस्तुहरूलाई उपभोक्ता वा ग्राहकसम्म पु¥याउने, उनीहरूलाई तिनको मूल्य, महत्त्व र मौलिकता बुझाउने प्रक्रिया बजारीकरण हो । नेपाली हस्तकला र परम्परागत सीपको बजारीकरण गर्न सकिएमा, यिनले हाम्रो सांस्कृतिक पहिचान जोगाउने मात्र होइन, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने, युवाहरूलाई आफ्नै मुलुकमा सिर्जनशील बन्ने प्रेरणा दिने, पर्यटनको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य राख्छ ।
यसका लागि पहिलो आवश्यकता हो– उत्पादनमा गुणस्तर र प्रविधिको प्रयोग । सँगै, परम्परागत डिजाइन र ढाँचालाई आधुनिक सौन्दर्यबोधसँग जोडेर आकर्षक बनाउनु पनि उत्तिकै आवश्यक छ । उदाहरणका लागि, ढाकाको कपडालाई आधुनिक फेसनमा ढालेर बजारमा ल्याउन सकिन्छ, जसमा केही नेपाली ब्रान्डहरूले प्रयास गरिरहेका छन् ।
थांका चित्रकला, पस्मिना, धातुका मूर्ति, काठका कलात्मक सामग्रीहरूलाई पनि नयाँ डिजाइनमा प्रस्तुत गर्न सकिन्छ, जसले विशेषगरी हहरी तथा अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्न सक्छ ।
यसैगरी दोस्रो महत्त्वपूर्ण पक्ष हो– बजारमा पहुँच । गाउँघरका साना उद्यमी तथा सीपकारसँग बजारको जानकारी, पहुँच र प्रवद्र्धन गर्ने साधन हुँदैन । त्यसैले, सरकार र निजी क्षेत्रबीचको सहकार्यमा स्थानीय हस्तकलाका उत्पादनहरूलाई डिजिटल प्लेटफर्म, अनलाइन मार्केट, सामाजिक संजाल र ई–कमर्स साइटमार्फत विक्री प्रवद्र्धन गर्न सकिन्छ ।
नेपाली हस्तकलाका लागि विशेष स्टोरहरू, पर्यटक क्षेत्रहरूमा शो–रुम, प्रदर्शनी मेलाहरूको आयोजना र विदेशी बजारसम्म निर्यातको पूर्वाधार निर्माण हुनुपर्छ ।
तेस्रो पक्ष हो– सीप संरक्षण र पुस्तान्तरण । अहिलेका युवा पुस्ता यस्ता परम्परागत सीप सिक्नभन्दा वैदेशिक रोजगारीलाई प्राथमिकता दिन्छन् किनभने तिनमा तत्काल आम्दानी देखिँदैन । तर, यदि यी सीपलाई व्यवसायीकरण गरियो, व्यावसायिक तालिममार्फत युवालाई दक्ष बनाइयो भने उनीहरू गाउँमै बसेर पनि सम्मानजनक जीवनयापन गर्न सक्छन् ।
यसका लागि सीपमूलक तालिम, प्राविधिक सहयोग, स्टार्टअप प्रोत्साहन, सस्तो ऋण, बजार पहुँच, ब्रान्डिङ र सरकारी सहुलियत आवश्यक हुन्छ ।
साथै, अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गर्न पनि दीर्घकालीन रणनीति आवश्यक छ । ‘मेड इन नेपाल’ भन्ने ब्रान्डलाई गुणस्तरीय र विश्वसनीय बनाउँदै लैजानुपर्छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूका लागि नेपाली हस्तकला एउटा प्रमुख आकर्षण हो । यसलाई नेपालबाट हस्तकला किनेर लैजान सजिलो बनाउने व्यवस्था गर्न सकियो भने उनीहरू स्वदेश फर्किएपछि पनि नेपाली उत्पादनको प्रचारक बन्न सक्छन् ।
यस्ता उत्पादनहरूलाई उपहारका रूपमा प्रयोग गर्ने, सजावटका सामग्री बनाउने चलन विश्वभर बढ्दै गएको छ, जसले गर्दा नेपाली हस्तकलाको माग पनि बढ्न सक्छ ।
अन्ततः नेपाली हस्तकला र परम्परागत सीपको बजारीकरण केवल आर्थिक दृष्टिकोणबाट हेर्नु हुँदैन । यो हाम्रो पहिचान, स्वाभिमान र सांस्कृतिक उत्तराधिकारसँग गाँसिएको विषय हो । यिनलाई व्यावसायिक सफलता र राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो ।
जब हाम्रा हातले बनाएका कलात्मक वस्तुहरू विश्व बजारमा चम्कन्छन्, तब त्यो केवल एउटा उत्पादनको व्यापार हुँदैन– त्यो हाम्रो संस्कृति र इतिहासको पनि विश्वव्यापीकरण हुन्छ । त्यसैले, समयमै सही रणनीति अपनाएर नेपाली हस्तकला र सीपलाई आधुनिक बजारसँग जोड्न सके, नेपाल केवल सगरमाथाको देश भनेर होइन, कला र सीपको खानी भनेर पनि चिनिने छ ।