-जीवन शर्मा
‘पत्रकारिता समाजको ऐना हो’ भन्ने भनाइलाई सार्थक तुल्याउन नेपाली पत्रकारिताको इतिहासका विभिन्न चरणहरूमा महत्त्वपूर्ण योगदान छ । नेपाली पत्रकारिता बहुभाषिक, बहुसांस्कृतिक समाजको प्रतिनिधि हो । यसले जनताको आवाज उठाउने, सरकारी नीतिमा निगरानी राख्ने, मानवअधिकार संरक्षणको पक्षमा बोल्ने र भ्रष्टाचारविरुद्ध लड्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
विशेषगरी विपद्, निर्वाचन, जनआन्दोलन, मानवअधिकार उल्लंघन, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा गरिएको खोजमूलक रिपोर्टिङले नेपाली पत्रकारिताको स्तर उच्च बनाएको छ । नेपालमा पत्रकारिताको प्रारम्भ १९५८ सालमा भएको थियो ।
सुरुमा गोरखापत्र (तत्कालीन ‘गोर्खापत्र’) सरकारी मुखपत्रका रूपमा प्रकाशन भए पनि यसले नै नेपाली मुद्रण पत्रकारिताको जग हालेको इतिहास छ । त्यसयता २००७ सालको प्रजातन्त्र स्थापनासँगै पत्रकारितामा विस्तारको नयाँ युग सुरु भएको देखिन्छ । निजी र स्वतन्त्र पत्रपत्रिकाहरू प्रकाशन हुन थाले, जसले जनताको आवाज उठाउन थाले ।
२०१७ सालमा पञ्चायती व्यवस्था स्थापनापछि प्रेस स्वतन्त्रतामा निकै अंकुश लगाइयो । त्यसबेला सरकारी नियन्त्रणमा रहेका मिडियाले मात्र काम गर्न पाउने अवस्था थियो । तर, २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्याएपछि पत्रकारितामा फेरि स्वतन्त्रता प्राप्त भयो । त्यसपछि निजी लगानीका ब्रोडसिट पत्रपत्रिकाहरू आए ।
इलेक्ट्रोनिक मिडियाको सुरुवातसँगै टेलिभिजन, रेडियो र अहिलेसम्म आइपुग्दा अनालाइन संचार माध्यमहरूले फड्को मारिसकेका छन् ।
कुनै समय पत्रकारिता केवल सत्ताको प्रचार माध्यम भएको आरोप लाग्ने गरे पनि यसले जनताको आवाज बनेर लोकतन्त्रको संवाहकको भूमिकामा उत्रिएको छ । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता नेपाल वा कुनै निश्चित भूगोलमा सीमित रहेन । नेपाली पत्रकारिताले विश्वबजारमा पनि आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।
विदेशमा रहेका नेपालीहरूले समेत त्यहीँबाट सहज रूपमा अनालाइन संचार माध्याम चलाएर पत्रकारितालाई व्यावसायिकतातर्फ डोहो¥याउने काम गरिरहेका छन् । नयाँ प्रविधिहरू, जस्तै ः मोबाइल पत्रकारिता, भिडियो पत्रकारिता र पोडकास्टले पत्रकारितामा नयाँ आयाम थपेका छन् । यी प्रविधिहरूले पत्रकारिताको पद्धति र संचारको प्रक्रिया अत्यधिक परिवर्तन गरेका छन् । यसले विश्व बजारमा पत्रकारिताको हैसियत बृद्धि भइरहेको छ भन्न कुनै हिच्किचाहट छैन ।
नेपाली पत्रकारिता प्रभावकारी बनाउन अनुसन्धानमूलक र डिजिटल पत्रकारितातर्फ लाग्नुुपर्ने अहिलेको अवस्था छ । यसले अझ पत्रकारिताको क्षेत्र विस्तार विकासमा नयाँ आयाम थप्छ भन्ने विश्वास लिन सकिन्छ, जसले प्रेस स्वतन्त्रता, व्यावसायिकता, र अन्तर्राष्ट्रियकरणमा टेवा पुुग्छ ।
िवश्वसनीयता, गुणस्तर र प्रविधिको सही प्रयोग गरेमा नेपाली पत्रकारिता नेपालमा सीमित रहँदैन, विश्व बजारमा पनि प्रतिस्पर्धी बन्न सक्ने सम्भावना बलियो छ ।
अहिले नेपाली पत्रकारहरूले अन्तर्राष्ट्रिय मिडियामा काम गर्दै देशको प्रतिनिधित्व गरिरहेका छन् । बीबीसी, सीएनएन, भ्वाइस अफ अमेरिका, अल जजिरा, डच वेललगायत अन्तर्राष्ट्रिय संचार माध्यममा नेपाली भाषा र मुद्दालाई स्थान दिन थालिएको छ ।
पछिल्लो समय नेपालका पत्रकारहरूद्वारा बनाइएका केही डकुमेन्ट्री र रिपोर्टहरूले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएका छन् । भूकम्पपछिको खोजमूलक रिपोर्टिङ, बालश्रम र मानव बेचविखनबारेका रिपोर्टहरूले अन्तर्राष्ट्रिय ध्यान तानेका छन् । यसले नेपाली पत्रकारिताको विषयवस्तुमा विश्वसनीयता बढाएको संकेत गर्छ ।
विदेशमा रहेका नेपालीहरूको संख्या लाखौंमा पुगेको छ । तिनीहरूको समाचार, भावना र सरोकार बोकेर विभिन्न मुलुकमा नेपाली मिडिया संचालन भइरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली समुदायका लागि संचालित डिजिटल रेडियो, टेलिभिजन, पोडकास्ट, अनलाइन न्युज पोर्टलहरूले नेपाली भाषा, संस्कृति र विचारहरूको संरक्षणसँगै नेपालसँगको सम्बन्धलाई बलियो बनाउने कार्यमा इँटा थपेका छन् ।
डिजिटल युग
विक्रमको २०६० को दशकपछि इन्टरनेटको पहुँच बढ्दै जाँदा अनलाइन पत्रकारिता पनि विकसित हुँदै गयो । अनलाइन न्युज पोर्टलहरू, ब्लग, युट्युब च्यानल, सामाजिक संजालमार्फत सूचना सम्प्रेषणले पत्रकारिताको स्वरूप नै परिवर्तन गरिदिएका छन् ।
संचारका पारम्परिक माध्यमहरू, जस्तै ः रेडियो, टेलिभिजन र प्रिन्ट मिडियाको तुलनामा डिजिटल पत्रकारिता अहिले अत्यन्त लोकप्रिय बनिसकेको छ । अनलाइन समाचार पोर्टल्स, मोबाइल एप्स र सोसल मिडियाको प्रयोगका माध्यमबाट समाचार प्रसारण गरिन्छ । यसले जनतालाई तत्क्षण खबर प्राप्त गर्न मदत पु¥याएको छ ।
त्यस्तै, फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक संजाल प्लेटफर्महरूको प्रयोग पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भएको छ । पत्रकार र समाचार संस्थाहरू आफ्ना सामग्रीलाई ती प्लेटफर्महरूमा साझा गरेर पाठकहरूसम्म पु¥याउने गर्छन् । यसले समाचारको पहुँचलाई व्यापक बनाएको छ र समाचारलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गर्नका लागि अवसर प्रदान गरेको छ ।
योसँगै विश्लेषणात्मक र अनुसन्धानमुलक पत्रकारिता अधिक लोकप्रिय र विश्वासिलो हुँदै गएको छ । पत्रकारिताले समाचार संकलनको काम मात्र नभई समसामयिक घटनाहरूको गहिरो विश्लेषण र समीक्षासम्म गर्ने र अनुसन्धानलाई सहयोग प¥याउने काम पनि गरेको छ । नागरिकलाई तथ्यपूर्ण र प्रमाणित जानकारीसहित दिइने सूूचना तथा जानकारीले विश्वसनीयतामा अझै बल पुुग्ने भएकाले अबको पत्राकारिता खोजमूलक पत्रकारितालाई प्राथमिकता दिनु अनिवार्य भइसकेको छ ।
भ्रष्टाचार, मानवअधिकार उल्लंघन, सरकारका कमजोरीहरू उजागर गर्न खोज पत्रकारितामा जोड दिनुपर्छ । त्यस्तै, तथ्यांक र प्रविधि प्रयोग गरेर अनुसन्धान गर्ने अभ्यासलाई अझ तिखार्दै लैजानु अहिलेको आवश्यकता हो ।
नेपाली पत्रकारिताले अन्तर्राष्ट्रिय स्तरका ब्लग, पोडकास्ट र वेबिनार प्रविधिलाई अपनाउन सकिन्छ । यसले मिडियाको विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाली पत्रकारितालाई, विशेषगरी राजनीतिक संकट, जनआन्दोलन, भूकम्प, मानवअधिकार उल्लंघन, अपराध, भ्रष्टाचार न्यूनीकरणलगायतका सवालमा निडरताका साथ रिपोर्टिङ गर्ने निकायका रूपमा हेर्ने गरेका छन् ।
लामो समयदेखिको दबाब र नियन्त्रणबीच पनि जनताका पक्षमा बोल्ने इतिहास बोकेको नेपाली पत्राकारिताले लोकतन्त्र र नागरिक सचेतनाको विकासमा उल्लेखनीय भूमिका खेलेको अन्तर्राष्ट्रिय रूपमा स्वीकारिएको छ ।
नेपाली पत्रकारितालाई विश्व बजारमा एउटा विकसित हुँदै गएको, संघर्षशील तर सम्भावनायुक्त पेसाका रूपमा हेर्न थालिए पनि अझ पारदर्शिता, निष्पक्षता र प्रेस स्वतन्त्रताको संरक्षणका लागि सर्वपक्षीय सहकार्यले मात्र पत्रकारिताको छवि अझ उज्यालो बनाउन सकिन्छ ।
समस्या र चुनौती
नेपाली मिडिया जगत्मा योसँगै केही नकारात्मक प्रभावसमेत देखिएको छ । खासगरी राजनीति र ठूला व्यवसायीहरूबाट प्रभावित भएकाले निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ ।
पत्रकारहरूको अपहरण, कुटपिट, हत्या र धम्कीका घटनाहरू नियमित छन् । बेलाबखत लगाइने सेन्सरसिप र सामाजिक संजालको अराजक प्रयोगले नेपालमा प्रेसको पेसागत मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठाएको कुरालाई आत्मसात् गर्दै सच्याएर र सच्चिएर अघि बढ्नुपर्ने अवस्था छ ।
यो चुनौतीका बीच विदेशमा रहेका नेपालीहरूले नेपाली मिडियालाई आफ्नो मूल देशसँग जोड्ने प्रमुख माध्यम बनाउन कन्टेन्टहरूमा पारस्परिक सहकार्यको आवश्यकता देखिन्छ ।
पत्रकारितामाथि अनावश्यक प्रतिबन्ध लगाउने कानुनहरू ल्याउने विषयमा सरकारलाई सचेत गराउने, पत्रकारमाथि हुने हिंसा, धम्की तथा राजनीतिक हस्तक्षेप रोक्न स्पष्ट नीतिहरू ल्याउनुपर्छ भने स्वतन्त्र पत्रकारिता टिकाई राख्न वैकल्पिक आम्दानी स्रोतहरू (सदस्यता मोडेल, डोनेसन, क्राउड फन्डिङ) अपनाउनु जरुरी छ ।
नेपाली समाचारलाई अन्तर्राष्ट्रिय पाठकका लागि अंग्रेजी र अन्य भाषामा अनुवाद गर्ने अभ्यासको सुरुवात भइसकेको छ । यसलाई अझ बलियो बनाउँदै लौजानु पनि अनिवार्य भइसकेको छ ।
प्रेस स्वतन्त्रताको अवस्था अझै खतरामुक्त छैन । सरकारको हस्तक्षेप, समाचारमाथिको अनावश्यक सेन्सर, पत्रकारहरूको सुरक्षाको कमी, विज्ञापनमा केन्द्रित व्यापारिक मानसिकता र भ्रामक सूचनाहरू फैलिनु जस्ता समस्याहरू विद्यमान छन् ।
तर, यी चुनौतीका बाबजुद नेपाली पत्रकारिता नयाँ प्रविधि, इनोभेसन र अन्तर्राष्ट्रिय सहकार्यमार्फत अघि बढ्न सक्छ । मेटावर्स, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, डेटा पत्रकारिता, मोबाइल पत्रकारिता, क्राउड सोर्सिङ, भिडियो ब्लगिङ आदि विधिहरू समेट्न सके नेपाली पत्रकारिता अझ सशक्त बन्ने छ ।