२०८२ वैशाख १ गते सोमवार / Apr 14 , 2025 , Monday
२०८२ वैशाख १ गते सोमवार
Ads

नेपाल–चीनबीच खाना सम्बन्ध

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते ०९:०२
नेपाल–चीनबीच खाना सम्बन्ध

-सञ्जु दाहाल
जीवनको सबैभन्दा महत्त्वपूर्ण वस्तु खाना हो । खानाबिना जीवन सम्भव नै छैन । जीवन किन त ? जीवन प्रकृतिको नियम संचालन गर्नका लागि हो । कुनै पनि चिजको जन्म हुन्छ, वृद्धि, विकास हुन्छ र अन्त्य हुन्छ । जन्मदेखि मृत्युसम्मको यात्रा अर्थात् वृद्धि र विकास नै जीवन हो । यही वृद्धि र विकासको आधार नै खाना हो ।

जस्तो वृद्धि र विकास चाहिन्छ, उस्तै खाना खाइन्छ । अर्थात्, यो जीवन अथवा यो शरीर खानाकै थुप्रो हो । मानिसको शरीर पनि यही खानाकै प्रतिफल हो । जस्तो अन्न, उस्तै मन पनि भनिन्छ ।

त्यसैले, शारीरिक तथा मानसिक विकासका लागि खाना सबैभन्दा महत्त्वपूर्ण छ । नेपाल र चीन दुवैमा चाडपर्वहरू विशेष खानाका साथ मनाइन्छन् । आनन्दको एक स्रोत खाना नै हो । नेपालको सेल रोटी (घ्युमा पकाइने चामलको पिठोको रोटी) दसैं–तिहारमा खाइन्छ, जुन चीनको युआनस्याउ (मीठो ग्लुटिनस राइस बल)सँग तुलना गर्न सकिन्छ । यो खाना चन्द्र नववर्षमा शुभसंकेतको स्वरूपले खाइन्छ ।

चीनमा होस् या नेपालमा, यस्ता अवसरहरूमा परिवारका सदस्यहरू मिलेर यस्ता परिकारहरू तयार गर्छन्, जसले पारिवारिक सामाजिक सम्बन्धलाई बलियो बनाउने गरेको छ । खाना संस्कृति नै मानिसको सामाजिक संस्कृतिको आधार हो । 

खाना संस्कृति
खाना संस्कृति भन्नाले कुनै समाज, देश वा समुदायको खानपानसँग सम्बन्धित परम्परा, मान्यता र व्यवहारलाई जनाउँछ । यो संस्कृति समाजको इतिहास, भौगोलिक अवस्था, धार्मिक आस्थाहरू तथा सामाजिक संरचनाले निर्माण गरेको हुन्छ ।

खाना नै समाजको मनोवैज्ञानिक पहिचान हो । नेपालको सन्दर्भमा रोटी हिमाली क्षेत्रको, ढिँडो पहाडी क्षेत्रको र भात तराई क्षेत्रको वास्तविक पहिचान हो । मानिसको बसाइँसराइसँगै खानाको पनि बसाइँसराइ हुन्छ ।

आजकल पनि विश्वभर नेपालीले दाल–भात नै खान्छन् । रोटी, ढिँडो पनि खान्छन् । यो खानाले उनीहरूको उद्गमस्थलको त्यो समाजको रमाइलो समय स्मरण गराउँछ । 

अन्डा, ऐला, क्वाँटी, खजुरी, खट्टे,  खिचडी, खीर,  गुझिया, छ्याङ, ठेकुवा, ठों, तिलौरी, तरकारी, तेर्मा, दही–चिउरा, दाल, माछा, मासु (राँगा, खसी, कुखुरा, बंगुर), मःम, भात,  योमरी, लड्डु, बारा, बि¥यानी, सर्बत, साग, सातु, सेबई, सेलपुरी तथा फलफूलहरू नेपालीबीच प्रख्यात छन् ।

नेपाली पर्वहरूमा यी खानपानलाई विशेष महत्त्व दिइन्छ । यी परिकारहरूले पारिवारिक पुनर्मिलन, सौभाग्य र संस्कृतिको पहिचान झल्काउँछन् ।

त्यस्तै, चीनमा अन्डा, ग्लुटिनस राइस बल, चाउमिन, चोङयाङ केक, चोङज, तरकारी, थाङयुआन, भात, माछा, मासु, मःम, युआनस्याउ,  साग, स्प्रिङरोल आदि अत्यन्तै प्रसिद्ध छन् । चिनियाँ चाडपर्वमा खानपान केवल स्वादका लागि नभई धार्मिक, सांस्कृतिक र सौभाग्यसँग जोडिएको हुन्छ । चिनियाँ समाजमा खाना भाग्य, दीर्घायु र पारिवारिक पुनर्मिलनको प्रतीक मानिन्छ । 

दुवै देशका भोजन परम्पराहरूमा चामल र अन्नलाई प्रमुख स्थान दिइएको छ । नेपालमा दैनिक भोजनका रूपमा लाखौंले दाल–भात ग्रहण गर्छन्, जबकि चीनको दक्षिणी भागमा चामल मुख्य खाद्य हो भने उत्तरी भागमा गहुँबाट बनेका नुडल्स जस्ता परिकारहरू लोकप्रिय छन् ।

नेपालमा गुन्द्रुक (फर्मेन्ट गरिएको हरियो साग) र चीनमा चाछाई (अचार बनाइएको तरकारी) जस्ता फर्मेन्टेड सामग्रीहरूको प्रयोगले खाद्य संरक्षण प्रविधिमा समेत समान निर्भरता देखाउँछ । यो प्रविधिले  स्वाद र भण्डारणको समय दुवैलाई बढाउँछ । यो दुवै देशको साझा खाना संस्कृति हो ।

चीनमा होस् या नेपालमा, शारीरिक होस या मानसिक, जता पनि खाना महत्त्वपूर्ण छ । खानाबिना जीवन चल्दैन । 

भौगोलिक खाना र सांस्कृतिक सम्बन्ध 
नेपाल र चीन भौगोलिक रूपले १ हजार ३८९ किलोमिटर उत्तरी सीमामा जोडिएका छन् । नेपालको उत्तरी भूगोल विश्वको शिर सुमेरु सगरमाथा हो । भव्य हिमशृंखलाले भरिएको भूमि हो ।

यहाँ पशुपालन तथा जौ, गहुँ, उवा, कोदो, फापर, आलु आदि  उत्पादन हुन्छन् । नेपालको  उत्तरी सीमापारिको भेग तिब्बत हो । तिब्बतमा पनि यस्तै भूभाग छ । वर्षा कम हुन्छ ।

नेपाल र तिब्बतको खाना संस्कृति भौगोलिक उचाइ, चिसो मौसम, बौद्ध धर्म र व्यापारिक सम्पर्कका कारण धेरै मिल्दोजुल्दो छ । दुवै क्षेत्रका खानाहरूले स्थानीय उत्पादन, मौसम र सांस्कृतिक सम्प्रेषण झल्काउँछन् । खानाबिना जीवन र जीवनबिना संस्कृति, प्रकृति केही चल्दैनन् । 

भूगोलअनुसार मौसम, मौसमअनुसार कृषि उत्पादन, कृषि उत्पादनअनुसार खाना र खानाअनुसारका चाडपर्व तथा जीवनशैली निर्धारण हुन्छन् । त्यसैले, नेपालको उत्तरी क्षेत्र र तिब्बतको दक्षिणी भू–भागको खाना, धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्व सबै मिल्दाजुल्दा छन् ।

हिमालयन बुद्धिजम, महायानी लामयिजम तथा शेर्पा समुदायको धार्मिक सांस्कृतिक क्रियाकलापहरू समान छन् । नेपालको प्रसिद्ध मःम (मासु वा तरकारी भरिएको स्टिम वा फ्राइड डम्प्लिङ) चीनको च्याउज र मानथउ जस्ता डम्प्लिङसँग मिल्दोजुल्दो छ । 

इतिहासकारहरूले मःमको उत्पत्ति तिब्बती व्यापारीहरूबाट भएको मान्छन्, जसले सिल्क रोड हुँदै नेपालमा यस्ता डम्प्लिङहरू ल्याए । त्यस्तै, हिमाली क्षेत्रमा लोकप्रिय थुक्पा (नुडल सुप)को गाढा झोल र नुडल आधार चीनका युनतुन सुप नुडल परिकारहरूसँग मिल्दोजुल्दो छ, जसले चिसो पहाडी मौसमअनुसार भएका परिमार्जनहरू दर्शाउँछ ।

भनिन्छ, रानी भृकुटी (सम्राट स्रङ चङ गम्पोकी रानी)ले योमरी चीनमा लगिन् र मःम नेपालमा ल्याइन् । त्यस्तै, दुवै देशमा बुद्ध धर्मको संरक्षण, विकास र प्रचारप्रसारमा पनि उनको महत्त्वपूर्ण भूमिका छ । 

धार्मिक खाना सम्बन्ध
नेपालको उत्तरी भाग (विशेषगरी हिमाली क्षेत्र) र दक्षिणी तिब्बतका मानिसहरू भौगोलिक रूपमा उस्तै कठिन हिमाली वातावरणमा बस्छन् । यी क्षेत्रहरूबीच खाना, धर्म र संस्कृतिमा गहिरो समानता पाइन्छ, जसको प्रमुख कारण बौद्ध धर्म, व्यापारिक सम्पर्क र साझा पारम्परिक जीवनशैली नै हुन् ।

नेपालको उत्तरी भेगका (शेर्पा, गुरुङ, तामाङ, भोटे आदि) समुदायहरू तिब्बती समुदायसँग ठ्याक्कै मिल्छन् । दुवैतिर नुडल, बटर टी र सुप लोकप्रिय छन् । हिमालयन बौद्ध धर्मको खाना संस्कृति अहिंसा, शुद्धता, ध्यान र आध्यात्मिक जीवनशैलीमा आधारित छ । यस क्षेत्रमा थुक्पा, मःम, त्सम्पा, बटर टी र जौका परिकारहरू लोकप्रिय छन् ।

पर्वहरूमा विशेष खानाहरू तयार पारिन्छ भने ध्यान र उपवासको समयमा साधारण भोजन मात्र लिइन्छ । हिमालयन भोजन भौगोलिक अवस्था, बौद्ध परम्परा र आत्मसंयमको सिद्धान्तसँग गहिरो रूपमा जोडिएको छ । 
नेपालको उत्तरी भागका ल्हो–ग्याल्बो क्षेत्रका शेर्पा गाउँहरूमा  र दक्षिणी तिब्बतमा महायान बौद्ध धर्मले गहिरो रूपमा जरा गाडेको छ । बौद्ध गुम्बाहरू नेपाल र तिब्बत दुवै ठाउँमा महत्त्वपूर्ण मानिन्छन् । माने घुमाउने चलन नेपाल र तिब्बतका बौद्ध क्षेत्रहरूमा समान रूपमा देख्न पाइन्छ ।

नेपाल र तिब्बतका हिमाली क्षेत्रमा बौद्ध भिक्षुहरूको सम्मान समान रूपमा गरिन्छ । ल्होसार तिब्बत र नेपालका शेर्पा, तामाङ, गुरुङ समुदायमा मनाइने नयाँ वर्ष हो । त्यस्तै, सागा दावा पनि  बुद्धको जन्म र निर्वाण दिवस नेपाल–तिब्बतमा समान रूपमा मनाइन्छ । पहिरन उस्तै हुन्छ । जीवनशैली पनि उस्तै हुन्छ भने कृषि उत्पादन पनि उस्तै हुन्छ ।

नेपालको दोस्रो ठूलो बौद्ध धर्म पनि समान रूपले मनाइन्छ । चीन र नेपालको पाककलात्मक खाना संस्कृतिका समानता  सिल्क रोडका सयौं वर्षदेखिका अन्तरक्रियाको परिणाम हो, जुन हाल बेल्ट एन्ड रोड इनिसिएटिभ जस्ता आधुनिक परियोजनाहरूमा समेत प्रतिबिम्बित भइरहेको पाइन्छ । गुन्द्रुकदेखि मःमसम्म र  चाडपर्वका विशेष परिकारदेखि आधुनिक फ्युजन व्यञ्जनसम्म गज्जबको सम्बन्ध रहिआएको छ । 

निष्कर्षमा, यस्ता साझा परम्पराहरूले खाना राष्ट्रिय सीमाभन्दा पर पुगेको देखाउँछन् । भविष्यमा पनि यी २ देशबीच पाककलात्मक सृजनाको आदानप्रदान जारी रहने छ । यसले  दुवैको सांस्कृतिक पहिचान र नवीनतालाई जगेर्ना गर्दै आएको छ  ।

चीन र नेपालको भौगोलिक निकटताले दुवै देशका खानाको सांस्कृतिक विविधतालाई गहिरो रूपमा संश्लेषण गरेको छ । नेपाली खानामा चिनियाँ प्रभाव र चिनियाँ खानामा नेपाली विशेषताको मिश्रणले २ राष्ट्रका जनतालाई साझा भोजन संस्कृतिबाट जोडेको छ ।

चीन र नेपालको भोजन संस्कृति एकअर्काप्रति खुल्ला छ, जहाँ नेपाली मःमले चिनियाँ खानाको झल्को दिन्छ भने चिनियाँ चपस्टिक नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गइरहेको छ । भोजन आदानप्रदानको यो जीवन्त उदाहरणले दुवै देशका जनतालाई साझा भविष्य निर्माणको दिशामा अघि बढ्न प्रेरित गर्ने गरेको छ ।

‘रातो राम्रो, गुलियो मीठो’, ‘टन्न मीठो–मीठो खानुपर्छ, मस्तसँग चाडपर्व, जात्रा मनाउनुपर्छ र रमाउनुपर्छ’ भन्ने संस्कृति नै नेपाल–चीनको साझा खाना संस्कृति हो भन्न सकिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise