–उत्तम कार्की
वनस्पति विभागका अनुसार ७ हजार फूल फुल्ने वनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रूपमा प्रयोग हुँदै आएका छन् । नेपालमा सबैभन्दा बढी कर्णाली क्षेत्रमा तथा कम गण्डकी क्षेत्रमा जडीबुटी उत्पादन हुन्छ । कर्णाली क्षेत्रको अनुकूल हावापानी तथा जलवायुका कारण बढी मात्रामा जडीबुटी उत्पादन हुने गरेको पाइन्छ । हिमाली क्षेत्रमा पाइने जटामसी, कुट्की, अतिस, पद्मचाल तथा पहाडी क्षेत्रमा चिराइतो, टिमुर, तेजपात, दालचिनी, सुगन्धवाल र तराईमा पाइने मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धालगायतका जडीबुटी औषधिका रूपमा प्रयोग हुने गरेका छन् । नेपालमा उत्पादन हुने अधिकांश जडीबुटी भारत र चीनमा निकासी हुने गरेको छ ।
तर, करोडौंका जडीबुटी अत्यन्त कम मूल्यमा विक्री भई विदेश निकासी हुने गरेका छन् । प्रशस्त जडीबुटी रहेको कर्णाली प्रदेशका बहुमूल्य जडीबुटीको उचित प्रयोग नहुँदा र राज्य पक्षले आवश्यक ध्यान नदिँदा ती कौडीको मोलमा विक्री भइरहेका स्थानीयको गुनासो आइरहन्छ ।
उसै त विकट र विकासमा पछाडि परेको क्षेत्र भनेर चिनिने कर्णाली क्षेत्र प्राकृतिक र जडीबुटीका हिसाबले भने बहुमूल्य छ तर सरोकारवालाले यता ध्यान दिन नसक्दा कर्णालीका दुःख कहिल्यै समाधान नहुने अवस्था बनेको हो । यहाँ जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रूपमा विक्री वितरण गर्ने हो भने मात्र पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको देखिन्छ ।
कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर घोषणा गर्नुमै सरकारले आफ्नो दायित्व पूरा भएको ठानेको छ । तर, यहाँका जडीबुटीको उपयोग गर्ने, तिनलाई ब्रान्डिङ गर्ने, व्यापकीकरण गर्ने, प्रशोधन गर्नेतर्फ सरकार मौन छ । कर्णालीमा १४७ जातका जडीबुटी पाइने भए पनि प्रशोधन भण्डारणका लागि नेपालगंज लैजानुपर्ने बाध्यता रहेकाले समस्या परिरहेको छ ।
प्रशस्त औषधिजन्य जडीबुटी हुँदाहुँदै यहाँका जडीबुटी निकै सस्तोमा विदेश निर्यात हुँदै आएका छन् । सरकारी तथ्यांकअनुसार वार्षिक करिब १२ हजार मेट्रिक टन जडीबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ । ती सबै जडीबुटी प्रशोधनबिना नै कच्चा पदार्थका रूपमा निर्यात हुने गरेका छन् ।
प्रदेशमै कच्चा पदार्थको प्रशोधन गरी तयारी सामग्री अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके आम्दानीको थप स्रोतसमेत प्राप्त हुन सक्छ । यसले कर्णाली प्रदेशको समग्र आर्थिक र भौतिक विकासमै टेवा पुग्न सक्छ । वीरेन्द्रनगरमा सुगन्धित तेल उत्पादन गर्ने उद्देश्यले स्थापना भएको उद्योग ‘बायो–कर्णाली एरोमा’ले खेर गएको जडीबुटीको उपयोग गरी राम्रो आम्दानी गर्न सकेको उदाहरण नै काफी छ ।
कर्णालीमा रहेका जडीबुटीबाट प्रशोधन गरी विभिन्न औषधि वा सौन्दर्य, सुगन्ध चिकित्सा, स्वच्छ सरसफाइका क्षेत्रमा प्रयोग गर्न सकिए यसले एसिया मात्र नभएर युरोप र अमेरिकाका बजारमा पनि राम्रै स्थान लिन सक्ने विज्ञहरूले बताउँदै आएक छन् । कर्णालीमा सरकारी तवरबाट जडीबुटी परीक्षण प्रयोगशाला तुरुन्त स्थापना गर्न जरुरी छ । विदेश निकासी गर्दा अपनाउनुपर्ने मापदण्ड पूरा गर्न विभिन्न प्रयोगशालाबाट प्रमाणित हुनपर्ने प्रावधान हुन्छ । विश्व बजारमा नेपाली जडीबुटीको माग बढेको छ तर मागअनुसार निर्यात हुन सकेको छैन । कोभिड महामारीपछि जडीबुटीको महत्त्व झनै बढेको विज्ञहरूको मत छ । कोभिड– १९ पछि जडीबुटीको महत्त्व बढेपछि माग पनि बढेको छ । जटामसीलगायतका जडीबुटीको बजार मूल्य पनि बढ्दै गएको व्यवसायीहरू बताउँछन् । हुम्ला र जुम्लाका हिमाली भेग जटामसीका उर्वर क्षेत्र हुन् ।
सरकारले नै जडीबुटी प्रवद्र्धनमा चासो नदेखाएकाले मागअनुसार विदेश निर्यात गर्न सकिएको देखिन्न । बढ्दो मागअनुसार आपूर्ति गर्न उत्पादन बढाउनुपर्ने अवस्था त छ नै, भूगोलअनुसार उत्पादन हुने जडीबुटी पहिचान गरेर स्थानीय निकायले यसलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । हरेक स्थानीय तहले आफ्ना क्षेत्रमा उत्पादन हुने वा हावापानीअनुसार कस्ता किसिमको जडीबुटी उपयुक्त हु्न्छ, त्यो अनुसार उत्पादन गर्न सक्नुपर्छ । केन्द्र सरकारले यसका लागि आवश्यक सहजीकरण गर्ने, सहज नीति, कानुनहरू बनाइदिने, प्रशोधन कारखानाहरू स्थापना गरिदिनेलगायतका काम गर्न आवश्यक छ । सँगसँगै जडीबुटी खेतीका लागि आवश्यक तालिम र अनुदानको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारले तदारुकता देखाउन पनि जरुरी छ ।