जगदीश थापा/मध्यान्ह
काठमाडौं : परिवर्तन नेपालको आयोजनामा हरितारा चलचित्र पुरस्कार तथा श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार अर्पण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मानबाट कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार नाट्यकर्मी, रेडियोकर्मी एवं विशिष्ट कलाकार मदनदास श्रेष्ठ र चलचित्रकर्मी कृष्ण मल्ललाई प्रदान गरियो । २०७७ सालको सोही पुरस्कारबाट गीतकार सहदेव ढुंगानालाई पनि सम्मान गरिएको छ । सम्मानसँगै जनही २५ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको छ ।
निजी क्षेत्रबाट स्थापित पहिलो चलचित्र पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ । हरितारा चलचित्र पुरस्कार नेपाली चलचित्रको क्षेत्रमा योगदान पुर्याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व. विजया राणा, (तारा रानी)ले रु ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार हो । अक्षयकोषको ब्याजबाट प्रप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार वर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टालाई प्रदान गरिँदै आएको छ ।
त्यस्तै कार्यक्रममा सञ्चारकर्मी राजेश खनाललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७६ र २०७७ सालका लागि अभिनेत्री सपना श्रेष्ठलाई सोही पुरस्कारबाट सम्मान गरिएको छ । यो पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।
दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाका माता स्व. दुर्गादेवी निरौला एवं पिता स्व. पुण्य प्रसाद निरौलाको स्मृतिमा स्थापना गरिएको हो । साहित्य, संस्कृति एवं ज्ञानको क्षेत्रमा क्रियाशील आफ्ना बुवा र आमाको स्मृतिमा पुरस्कार स्थापना गरी सम्झिरहने प्रण गर्दै चलचित्रका लेखक, निर्देशक, कलाकार एवं परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले यो पुरस्कार स्थापना गरेका हुन् ।
कला, साहित्य एवं संस्कृतिका क्षेत्रमा लागिपरेका कलाकार, निर्माता, लेखक, पत्रकार एवं यस क्षेत्रसँग आवद्ध श्रष्टाहरुलाई यस पुरस्कारबाट सम्मान गरिँदै आएको छ ।
यस्तै परिवर्तन विशेष सम्मान लेखक, निर्देशक तथा कलाकार माधवराज खरेल, लेखक निर्देशक तथा कलाकार विश्वदीप घिमिरे र संचारकर्मी तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला सचिव मोहन पन्तलाई अर्पण गरिएको छ ।
कार्यक्रममा हरितारा पुरस्कार गुठीका मालिका राणा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौला, लय संग्रौला, रवीन्द्र खड्का, मोहन निरौला, शान्तिप्रियलगायतले आफ्ना धारणा राखेका थिए ।
परिवर्तन नेपाल राष्ट्रिय, राष्ट्रियताका विषय एवं जनसरोकार र चासोका विषयमा सांस्कृतिक गतिविधिको माध्यमबाट स्वयंसेवी अभियान संचालन गर्दै देशको सेवा गर्ने एवं चेतना जागृत गराउने उद्देश्यसहित २०५३ सालमा स्थापना भएको हो । यस संस्थाले कला र संस्कृतिको माध्यमबाट देशका जागृत युवाहरुलाई परिचालन गर्दै विभिन्न क्रियाकलापहरु संचालन गर्दे आएको अध्यक्ष निरौला बताउँछन् ।
परिवर्तन नेपालले सडक नाटक, चेतनामूलक टेलिश्रृंखला निर्माण एवं अन्य सामाजिक र चेतनामूलक अभियानहरु संचालन गर्दै आएको छ । साथै यस संस्थाले युवाहरुलाई बेला बखत निःशुल्क प्रशिक्षणसमेत प्रदान गर्ने गरेको छ भने सांस्कृतिक प्रशिक्षणका रुपमा नृत्य, अभिनय, निर्देशन जस्ता विधाको प्रशिक्षण दिँदै आएको छ ।
परिवर्तन नेपालले विभिन्न कलाकर्मी एवं आफ्नै संस्थाका सदस्य कलाकारहरुलाई समेत प्रोत्साहन गर्न सम्मान गर्दै आएको छ । यसरी वरिष्ठदेखि नव प्रतिमासम्मका कलाकर्मी यस संस्थाबाट सम्मानित भएका छन् । चेतन कार्की, स्व. शान्ति मास्के, आनन्द थापा, शंकर विसी, सपना श्रेष्ठ, गोविन्द सिंह रावत, कुमार बस्नेत, भुवन चन्द, डा. भगवान कोइराला, डा. तारानाथ शर्मा, लय संग्रौला, रमेश बुढाथोकी, रामनारायण श्रेष्ठलगायतका श्रष्टाहरु यस संस्थाबाट यसअघि नै सम्मानित भइसकेका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies