२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्‍यो : भुवन केसी

Nada
२०८१ असार २१ गते १२:२१
Shares
ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्‍यो : भुवन केसी

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाति चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातिले आफ्नो भाषा, संस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस विषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनको धारणा थियो ।

ncell

चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार इटहरीमा आयोजना गरेको ‘बृहत् विचार गोष्ठी कार्यक्रम–२०८१’मा बोल्दै केसीले आदिवासी जनजाति चलचित्रकर्मीको गतिविधि बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली कला, संस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्‍याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरे ।

आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सह–आयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरुका विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडौंमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उनको भनाइ थियो ।

अभिनेत्री मिरुना मगरले चलचित्र क्षेत्र आफ्ना लागि विद्यालय जस्तै भएको बताइन् । उनले आफुले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताए । उनले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सिर्जना गर्नु अहिले अपरिहार्य भएको बताए ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक, निर्माता तथा निर्देशक लाख बहादुर तामाङ, कलाकार तथा समाजसेवी डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बू चलचित्र ‘हाङनाङ्ग’का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मञ्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल, भुजेल चलचित्रका सह–नायक सुरज भुजेललगायतलाई सम्मानसमेत गरिएको थियो ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रममार्फत आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवर्द्धनमा प्रोत्साहन मिल्ने कार्यक्रम र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सम्बन्धित खबर