२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

‘लोकतन्त्र सबलीकरणमा मिडियाको भूमिका अपरिहार्य’

draupadi film
जुनु भट्टराई
२०८२ वैशाख १० गते १९:०९
‘लोकतन्त्र सबलीकरणमा मिडियाको भूमिका अपरिहार्य’

विराटनगर : १९औं लोकतान्त्रिक दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको आयोजना तथा गैरसरकारी संस्था महासंघको समन्वयमा बुधबार विराटनगरमा सम्पादकहरूसँग विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ कोशी प्रदेश अध्यक्ष लखन शाहले वर्तमान लोकतान्त्रिक व्यवस्थाले देखाएको चुनौतिबारे चर्चा गर्दै राजनीतिक दलहरूले समेत व्यवस्थापन गर्न नसकेको लोकतन्त्रलाई सुदृढ गर्न मिडियाको भूमिका झनै महत्वपूर्ण रहेको बताए ।

उद्घोष दैनिकका सम्पादक बन्धु पोख्रेलले लोकतन्त्र केवल शासन प्रणाली नभइ स्वतन्त्रता, उत्तरदायित्व र जनअपेक्षासँग जोडिएको मूल्य प्रणाली भएको स्पष्ट पार्दै भने, ‘लोकतन्त्रको कार्यान्वयनमा निरन्तर दबाब सिर्जना गर्नु मिडियाको जिम्मेवारी हो ।’

आवर विराटनगरका सम्पादक नवराज कट्टेलले लोकतन्त्र स्थापनाको १९ वर्ष पुगिसक्दा पनि आम नागरिक सन्तुष्ट नभएको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएको कमजोरी सच्याउन प्रेसले दबाब सिर्जना गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार महाप्रसाद खतिवडाले सामन्ती सोचले लोकतान्त्रिक संस्कारलाई अवरुद्ध गरिरहेको भन्दै जनमुखी शासनका लागि सामाजिक चेतनाको स्तर उकास्न मिडियाले भूमिका बढाउनुपर्ने धारणा राखे ।

अरुण खबरका प्रधान सम्पादक महेन्द्र विष्टले लोकतन्त्रमा जनताकै सर्वोच्चता हुने भएकाले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकार कार्यान्वयनमा अझ बल पु¥याउन मिडियाले कलम झन धारिलो बनाउनुपर्नेमा जोड दिए ।

हाम्रो मत दैनिकका प्रधान सम्पादक विवेक गौतमले लोकतन्त्र कुनै दलको स्वार्थका लागि नभई आम नागरिकको जीवनस्तर सुधार गर्न हो भन्ने दृष्टिकोण राख्दै दलभित्रको आन्तरिक अव्यवस्थाले समेत सुसासनमा बाधा पुर्‍याएको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि कमल रिमालले समाचार कक्षमा लोकतान्त्रिक दृष्टिकोण कमजोर बन्दै गइरहेको चिन्ता व्यक्त गर्दै मिडियाले प्रस्तुतिका शैली, सरोकार र एजेन्डालाई पुनः परिभाषित गरी सशक्त बनाउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, पत्रकार श्यामसुन्दर सुतिहार, अभयकुमार राईलगायतले पनि लोकतन्त्रको संरक्षण र सबलीकरणमा मिडियाको जिम्मेवारीबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise