युक्रेन : कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन् । आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ र ९० भन्दा बढी घाइते भएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन। यो अनावश्यक र गलत समय हो । भ्लादिमिर, रोक! शान्ति सम्झौता गरौं ।” उनका विशेष दूत स्टिभ विटकोफ चाँडै रूस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई ‘सबैभन्दा घातक र दुस्साहसी’ भनेका छन् । कीभमा रातभरि ७० भन्दा बढी मिसाइल र १४५ ड्रोन प्रहार गरिएका थिए । रूसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ ।
यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ। -एएफपी