२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

ज्ञवाली १ दर्जन कवितामा गुञ्जिए

मध्यान्ह
२०८२ वैशाख १३ गते २१:४८
ज्ञवाली १ दर्जन कवितामा गुञ्जिए

काठमाडौं : छन्दकवि, साहित्य अभियन्ता, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीको एकल कवितावाचन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गर्दै आएको ‘अविरल जनसाहित्य यात्रा’को ९८औं शृंखलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र छन्द बचाऊ अभियानका अभियन्तासमेत रहेका ज्ञवाली एक दर्जन छन्दकवितामा गुञ्जिए । 

डा. हरिप्रसाद सिलवालले कवि ज्ञवालीको परिचय दिएका थिए । २०५४ सालदेखि प्राध्यापन पेसामा प्रवेश गरेका ज्ञवाली हाल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापकका रूपमा कार्यरत रहँदै सिर्जना र समालोचना कर्ममा सक्रिय रहेका सिलवालले बताए । हालसम्म उनका कविता–काव्यका १४ वटा, समालोचनाका १८ वटा, दुइटा उपन्यास, दुइटा नाटक, बालसाहित्यका ७ वटा, अनुवादको एउटा कृति प्रकाशन भएका जानकारी सिलवालले दिए ।

त्यसैगरी पूर्वप्राथमिकदेखि स्नातकोत्तर तहसम्मका दर्जनौं पाठ्यपुस्तकका लेखकसमेत रहेका ज्ञवालीले विभिन्न ६ वटा साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका तथा विभिन्न संस्थाको स्थापनासमेतमा सक्रियता देखाएका ज्ञवालीको साहित्य साधनाको सम्मान गर्दै स्वदेशी तथा विदेशी गरी करिब ४ दर्जन सम्मान तथा पुरस्कार उनले प्राप्त गरेका सिलवालले बताए ।

कवि ज्ञवालीले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आफूले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवं आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त क्रियाशील भइरहेको र सकेजति सक्रियता देखाइरहेको बताए ।

आफू ढलेर दुनियाँलाई उठाउने व्यक्ति मात्र सच्चा कवि हुन्छ भन्ने मान्यता राख्ने कवि ज्ञवालीका कवितामा देश, जनता र जनजीविकाको चिन्ता प्रकट भएको थियो ।

७ वटा पद्यकविता ज्ञवालीले वाचन गरेका थिए भने सहयोगी कवि दामोदर अधिकारीले मन्दाक्रान्ता छन्दको ‘निर्मला पन्तलाई’, शार्दूलविक्रीडित छन्दको ‘स्वाभिमान छ भने’ र गीतिछन्दको ‘जाग जाग’ शीर्षकका अनि दिनेश पाण्डेले अनुष्टुप् छन्दको ‘सच्चा कवि’ र चौबोला छन्दको ‘शालिग्राम’ शीर्षकका कविता वाचन गरेका थिए । सबै कवितामा संगीतकार शंकर योगीले संगीत दिएका थिए ।

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले अहिलेको समयका अत्यन्त प्रखर स्रष्टा रामप्रसाद ज्ञवाली नेपाली कविताको विकासमा छन्द सिर्जनाका माध्यमबाट उच्च र अनुकरणीय योगदान गरिरहेका व्यक्तित्व रहेका बताए । कवि ज्ञवालीका कवितामा रचनादर्शन, विषयको गम्भीरता, श्रमको उच्चगान, प्रेमको सौन्दर्य, सृष्टिसौन्दर्य, पर्याचेतना अत्यन्त सशक्त रहेको उनको भनाइ थियो ।
 

ADV

सम्बन्धित खबर