२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

सहकारी ठगी : सांसद राई पक्राउ, बस्नेत फरार, कतिपयलाई देखेन सरकारले

निमिष झा
२०८२ वैशाख १५ गते ०६:३०
सहकारी ठगी : सांसद राई पक्राउ, बस्नेत फरार, कतिपयलाई देखेन सरकारले

काठमाडौं : स्वर्णलक्ष्मी सहकारीको साढे २ अर्बभन्दा बढी रकम अपचलनमा तानिएकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परे पनि यस्तै मुद्दामा मुछिएकाहरू केही भने अनुसन्धानको दायराभन्दा बाहिर छन् ।

फरार रहेकी सांसद राईलाई प्रहरीले पक्राउ गरे पनि राप्रपा सांसद गीता बस्नेत अझै फरार छन् । सहकारी ठगीमै मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि विगत ७ महिनादेखि फरार छन् भने एमाले बाग्मती प्रदेश सांसद ज्ञानबहादुर तामाङमाथि अनुसन्धान नै सुरु भएको छैन ।

दबाबमा थिए गृहमन्त्री

प्रहरी स्रोतका अनुसार सांसद राईलाई पक्राउ गर्न गृहमन्त्री रमेश लेखक दबाबमा थिए । मन्त्री लेखकको ठाडो आदेशमा राई पक्राउ परेकी हुन् ।

सांसद राई सत्ता संरक्षणमा रहँदा सरकारकै आलोचना हुन थालेपछि दबाबमा आएर गृहमन्त्री लेखकले उनलाई पक्राउ गर्न आदेश दिएका थिए ।

उनी जनजाति कोटाबाट कांग्रेस केन्द्रीय सदस्य छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

ठगी प्रकरणमा मु्छिएपछि महिनौंदेखि सत्ता संरक्षणमा रहेकी राईलाई प्रहरीले शनिबार उनकै निवास कपनबाट पक्राउ गरेको हो । राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीकी पूर्वसहसचिव हुन् ।

उनी सहसचिव हुँदा उक्त सहकारीमा घोटाला गरेको आरोप छ । यसबीच राईलाई ३ दिन हिरासतमा राख्न आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति पनि दिएको छ ।
सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पूरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने छ ।
सांसद पद जोगाउन फरार रहेकै अवस्थामा राई वर्षे अधिवेशनको पहिलो दिन शुक्रबार संसद् पुगेर सुटुक्क हाजिर गरेकी थिइन् । फरार अवस्थामै उनले ११ लाख तलबभत्ता बुझेकी थिइन् । 

कुन मुद्दा लाग्छ ?

२१ पुसमा प्रहरीले उक्त सहकारी ठगीमा ३९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

यसअघि संगठित अपराधको मुद्दा लगाइएकाले राईलाई पनि प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने सम्भावना छ ।

प्रहरीको खोजी सूचीमा रहे पनि सरकारकै सहयोगमा उनी आफ्नै घरमा ढुक्कले बस्दै आएकी थिइन् । तर, जब गृहमन्त्री लेखकले उनलाई पक्राउ गर्न आदेश दिएका थिए, प्रहरीले उनको रेकी गरेको थियो ।

प्रहरीले उनी आफ्नै घरमै बस्दै आएको सूचना पाएपछि तत्काल पक्राउ गरेको थियो । पक्राउ गर्दा राईलाई धरपकड नगर्न पनि प्रहरीलाई आदेश दिइएको थियो ।

यसबीच सांसद राई पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेलाई गराइएको छ ।

जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।

बस्नेत अझै फरार 

राई पक्राउ गरे पनि यस्तै प्रकरणमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत अझै फरार छन् । बस्नेतविरुद्ध चितवनको सनराइज र पूर्वी नवलपरासीको कावासोतीको छिपछिपे सहकारीको १६ करोड ६९ लाख हिनामिनामा मुद्दा दायर छ ।

सहकारी ठगीमा मुछिएपछि उनी करिब १ वर्षदेखि फरार छन् । तर, फरार अवस्थामै उनले संसद् सचिवालयबाट १६ लाखभन्दा बढी रकम बुझेकी छन् । 

१८ वैशाख २०८१ मा प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छन् जबकि उनले सांसद पद जोगाउन सचिवालयमा आफू बिरामी परेको निवेदन दिएकी छन् । 

गुरुङमाथि छैन अनुसन्धान

ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि उजुरी परे पनि थप अनुसन्धान गरिएको छैन । प्रहरीले गुरुङसँग एक पटक मात्र सामान्य सोधपुछ गरेको छ ।

१४ करोड रुपैयाँ हिनामिनामा आरोपमा संलग्न उनकी पूर्वपत्नी ज्योति गुरुङ पनि विगत ७ महिनादेखि फरार छन् । सो सहकारी ठगी मुद्दामा हालसम्म १ जनालाई पनि प्रहरीले पक्राउ गरेको छैन ।

उक्त सहकारी ठगी प्रकरणमा अरूलाई पक्राउ गर्दा गुरुङलाई पनि प्रक्राउ गर्न बाध्य हुने भएपछि गृहमन्त्री लेखकले रोकेका प्रहरी स्रोतकै दाबी छ ।

सांसद तामाङमाथि भएन अनुसन्धान

नेसनल नमोबुद्ध सहकारी संस्था ठगी प्रकरणमा मुछिएका एमाले बाग्मती प्रदेश सांसद ज्ञानबहादुर तामाङमाथि अनुसन्धान नै सुरु भएको छैन । यस सहकारीमा करिब ११ हजार बचतकर्ताको १ अर्ब ५२ करोड रुपैयाँ हिनामिना भएको छ ।

सहकारीका तत्कालीन अध्यक्ष तामाङमाथि कुनै निकायले अनुसन्धान गरेका छैनन् । 

त्यस्तै, पोखराको सूर्यदर्शन सहकारीबाट १५ लाख पेस्की लिएका एमाले केन्द्रीय सदस्य राजीव पहारी पनि अनुसन्धानबाहिरै छन् । सरकारको दबाबमा प्रहरीले उनीमाथि मुद्दा चलाएको छैन । पोखरा महानगरको छानबिन प्रतिवेदन र सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पहारीले पेस्की लिएका देखिन्छ । 

रविविरुद्ध अर्को मुद्दा पनि अघि बढ्यो

वीरगंजको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रहरी कार्यालय पर्साले अनुसन्धान पूरा गरेर उक्त सहकारीमा भएको ठगी प्रकरणको फाइल सरकारी वकिलको कार्यालय पर्सालाई बुझाएको हो ।

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार सानो पाइला सहकारीको बचत हिनामिना प्रकरणमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिललाई पठाइएको हो । सानो पाइलाको बचत हिनामिनामा ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

उक्त प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित ३० जनाविरुद्ध मुद्दा चलाउने राय सरकारी वकिललाई दिइएको छ ।

११ वटा संस्था र कम्पनीविरुद्ध पनि मुद्दा चलाउने राय दिइएको छ । मुद्दा चलाउन राय दिइएकामा लामिछाने र गोर्खा मिडियामा उनका साझेदारसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी पनि छन् ।

सानो पाइला सहकारीको बचत हिनामिना प्रकरणमा प्रहरीले जम्मा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८०० रुपैयाँ बिगो माग दाबी गरेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्न राय दिइएको छ । त्यसैगरी जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै, विभिन्न ५ वटा सहकारीको बचत रकम ठगीपछि गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र हाल कास्की जेलमा रहेका कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो माग दाबी गर्न प्रहरीले राय दिएको छ ।

अहिले लामिछाने र जोशी भैरहवा कारागारमा छन् भने रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

यसअघि रवि, जीबी र छविविरुद्ध पोखरास्थित सूर्य दर्शन सहकारी, चितवनको भरतपुरस्थित सहारा सहकारी, काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी र रुपन्देही बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा चलिसकेको छ ।

जीबी, रवि र छविसहितविरुद्ध चलेका मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाउन आदेश दिएको थियो । अन्य अदालतले भने रवि र छवि दुवैलाई धरौटीमा छाड्नेगरी राहत दिएका थिए ।

जिल्ला अदालतबाट धरौटीको आदेश हुँदा रवि प्रभु बैंकले जम्मा २ करोड ४० लाख रुपैयाँ बैंक ग्यारेन्टी बसिदिनाले जेल नगई छुट्न सफल भएका थिए ।

तर, धरौटी राखेर निस्किएका उनी २२ चैतमा उच्च अदालत दाङको बुटवल इजालसबाट भएको आदेशअनुसार अहिले भैरहवा कारागारमा थुनामा छन् । छवि त्यसअघि नै कारागारमा थिए । जीबी भने फरार छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर