काठमाडौं : थरूहट आन्दोलनपछि जन्मिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र पृथक्तावादी संघर्ष त्यागेर मूलधारको राजनीतिमा आएको जनमत पार्टीबीच बुधबार एकीकरण हुँदै छ ।
दुवै पार्टीले आ–आफ्नो अन्तिम केन्द्रीय समिति बैठक गरेर एकताको औपचारिक निर्णयलाई अनुमोदन गरेका हुन् ।
एकता प्रक्रियाका बाँकी कामलाई टुंग्याउँदै दुवै पार्टीले बुधबार बिहान ११ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा एकीकरण घोषणा गर्ने जनमत पार्टीका प्रवक्ता शरत्सिंह यादवले बताए ।
दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदल र शीर्ष नेतृत्व तहमा चरणबद्ध छलफल भएपछि एकताले आकार लिएको हो ।
दुवै पार्टीले एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकता गर्न लागेका नेताहरू बताउँछन् ।
पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको दुवै दलका नेताहरूको भनाइ छ ।
नाउपा र जनमतले ९ बुँदे सम्झौतासहित पार्टी एकीकरण गर्न लागेका हुन् । नाउपाको अन्तिम केन्द्रीय समितिले ९ बुँदे सम्झौतासहित पार्टी एकता गर्ने निर्णय गरेको हो ।
एकीकृत पार्टीको पहिलो वरीयतामा नाउपाका वर्तमान संरक्षक रेशम चौधरी हुने छन् । उनी नयाँ पार्टीमा पनि संरक्षक नै रहने छन् । दोस्रोमा जनमतका अध्यक्ष सीके राउत हुने छन् । उनको पद कार्यकारी समितिको अध्यक्ष हुने छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयतामा हुने छन् । उनको पद सहअध्यक्ष हुने छ ।
दुवै पार्टीले नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिह्न, पदाधिकारीका संख्या आदि विषयमा टुंगो लगाइसकेका छन् । एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी अर्थात् नाजपा रहने तय भएको छ । पार्टीको विधान पनि लेखिसकिएको जनमतका सचिव वीपी साहले बताए । नेता–कार्यकर्ताहरूले ‘जय नागरिक’ भनेर सम्बोधन गर्ने छन् ।
दुवै पार्टीले पदाधिकारीका विषयमा पनि सहमति गरिसकेका छन् ।
‘हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौं, पार्टीको नाम, झण्डा, चुनाव चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ’, सचिव साहले भने, ‘सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना बिस्तारै मिलाउँदै जान सकिन्छ ।’
७०० जनाको केन्द्रीय समिति
एकीकृत पार्टीको केन्द्रीय पदाधिकारी ५० सदस्यीय हुने छ । दुवै पार्टीका २५/२५ जना पदाधिकारी रहने छन् । यस्तै, केन्द्रीय समिति ७०० सदस्यीय रहने दुवै पार्टीले टुंगो लगाएका छन् ।
केन्द्रीय समितिका लागि दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिने छन् । यस्तै, कार्यसम्पादन समिति ५१ सदस्यीय रहने छ । कार्यसम्पादनमा दुवै पार्टीबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने छ, जसमा दुवै पार्टीबाट २५/२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय रहने छ ।
पार्टीको चुनाव चिह्न ढकिया नै रहने छ । ढकिया नागरिक उन्मुक्तिको चुनाव चिह्न हो । पार्टीको झण्डा भने वैजनी रङको चौकुने आयातभित्र ढकिया हुने छ । झन्डा हाल नाउपा र जनमत दुवैले प्रयोग गरिरहेकालाई मिश्रण गरी बनाइएको छ ।
एकतापछि ७ प्रदेशमध्ये जनमत र नागरिक उन्मुक्तिले क्रमशः ३/३ वटामा नेतृत्व लिने छन् । त्यसमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नागरिक उन्मुक्तिले र कोशी, मधेश र गण्डकीमा जनमतले नेतृत्व गर्ने छन् । बाग्मतीमा भने २ अध्यक्षात्मक प्रणाली अपनाइने नेताहरूले बताएका छन् ।
पार्टी एकतापछि प्रज्ञाप्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बस्ने छ भने १९ वैशाखमा निर्वाचन आयोगमा पार्टी दर्ता गरिने छ ।
छैटौं ठूलो दल
२०७५ सालमा सीके राउतको नेतृत्वमा जनमत पार्टी र १९ पुस २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए ।
प्रतिनिधिसभामा जनमत पार्टीका १ प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नाउपाका ४ सदस्य छन् । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो । नाउपा भने राष्ट्रिय पार्टी बन्न सकेको छैन ।
जनमत र नाउपाबीच एकीकरणपछिको पार्टी तराई–मधेश केन्द्रित ठूलो दल हुने छ भने संसद्मा छैटौं ठूलो हुने छ ।
पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकीकृकत पार्टी १० सिटका साथ छैटौं स्थानमा पुग्ने छ । संसद्मा अहिले नेकपा (एकीकृत समाजवादी)का १० सांसद छन् ।