२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

नेपालले लिनुपर्ने भूमिका

२०८२ वैशाख २५ गते ०६:१०
नेपालले लिनुपर्ने भूमिका

पाकिस्तान प्रशासित कश्मीरमा भारतले क्षेप्यास्त्र प्रहार गरेपछि थप युद्धको सम्भावना बढेको छ । १५ दिन अगाडि १ नेपालीसहित २७ भारतीय पर्यटकको ज्यान जानेगरी कश्मीरमै आतंकवादी हमला भएको बदलामा भारतले क्षेप्यास्त्र प्रहार गरेको हो । भारतीय अधिकारीहरूका अनुसार मंगलबार राति विभिन्न ९ स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको छ । उक्त हमलाहरूमा परी २६ जनाको ज्यान गएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार पाकिस्तानले क्षेप्यास्त्र प्रहारको जबाफ दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन भारतका तर्फबाट भएकाले त्यसको जबाफ दिने तयारी गरेको तर्क पाकिस्तानले गरेको छ । सँगै, अन्तर्राष्ट्रिय समर्थनको अपिलसमेत पाकिस्तानी सरकारले गरेको छ । 

पाकिस्तानको अपिलबमोजिम चीन सरकारले भारतीय हमलाको चर्को निन्दा गरेको छ । टर्कीले पनि हमलाको निन्दा गरेको छ । संसारभरका देशहरूले हमलाप्रति गम्भीर चासो देखाएका छन् । भारत र पाकिस्तानभित्र युद्धको असर सुरु भइसकेको संकेत मिलेको छ । अन्तर्राष्ट्रिय उडानहरू प्रभावित बनेका छन् भने एकअर्का देशविरुद्ध धावा बोल्ने क्रम उत्कर्षमा पुगेको छ । यद्यपि, क्षेप्यास्त्र हमलापछि भारतले थप कदम चालेको देखिँदैन बरु पाकिस्तानको प्रतिक्रिया कुरेको अनुमान लगाउन सकिन्छ । तर, भारत र पाकिस्तानबीच बढेको द्वन्द्वको असर दक्षिण एसियाली देशहरूमा प्रत्यक्ष पर्ने भएको छ । सबैभन्दा ठूलो असर त नेपाललाई नै पर्ने देखिन्छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र र भारतको छिमेकी भएकाले मात्र नभएर भारतीय सेनामा नेपाली युवाहरू रहेकाले पनि युद्धको प्रत्यक्ष असर पर्ने भएको हो । 

भारतीय सेनामा रहेका नेपालीहरू पाकिस्तानी सीमा क्षेत्रमा खटाइने गरेकाले पनि युद्धको पिर नेपाली घर परिवारसम्म पर्ने भएको हो । यसअघि चीनसँगको युद्धमा पनि भारतीय सेनामा रहेका नेपालीहरू मारिने र कब्जामा परेका थिए । पाकिस्तानसँगकै लडाइँमा पनि यसअघि नेपाली युवाहरूले भारतका तर्फबाट लडेका थिए । अर्थात्, भारत–पाकिस्तानबीचको युद्धको असाध्यै ठूलो असर नेपाललाई पर्ने छ । यस्तो बेला नेपालले सचेततापूर्वक धारणा निर्माण गर्नुपर्छ र पहलकदमी लिनुपर्छ । सार्कको अध्यक्ष राष्ट्र पनि भएकाले नेपालले सकेसम्म दुवै देशलाई युद्धतर्फ अग्रसर नहुन अपिल गर्नुपर्छ । पक्कै पनि भारतको चाहना आफ्नो पक्षमा नेपाल उभियोस् भन्ने होला सँगै पाकिस्तान र चीनको चाहना भारतसँग टक्कर लिनुपर्छ भन्ने होला । तर, नेपालले तटस्थ भएर सकेसम्म युद्धलाई टार्नेगरी आफ्नो भूमिका तय गर्नुपर्छ । युद्ध कसैका पनि हितमा हुँदैन ।

ADV

सम्बन्धित खबर