-रामकृष्ण ढकाल
हो, उनी साँच्चिकै सुसज्जित अनि सुगन्धित छन् ।
वासन्ती कालमा रचना जालमा परेर यो युगमा, भरेर शृंगार खुलाई मुहार पथोत्सुक कर्ममा ।भई सत्यको रसमा रमाई जसमा पारासरी व्यासिनी, आइन् नृत्य भरदै हुन् मेरी संगिनी । आएको थियो यिनको नाम पहिले नै कानमा, जसरी आयो तिनको सुवास राजालाई वनमा ।
मेरो बाल्यवयका अनि हजारौं महान आत्माहरूका महान श्रद्धेय गुरुवर, चितवनका साहित्यिक पाराशर मूर्धन्य स्रष्टा केशवराज आमोदीको लेखनी नवीनतम अनि सीमन्तोन्वित कृति ‘मत्स्यगन्धा’ आज हस्तगत भयो । छोडेर अन्य टण्टा हेरं केही घण्टा अनि भयो श्री गणेश यो चिरफार धन्दा ।
वैवस्वत मन्वन्तरको अठ्ठाइसौं कलीयुगका कृष्ण द्वैपायन व्यास महाभारत युद्धभन्दा केही पुस्ताअघि नेपालको तनहुँ जिल्लामा महर्षि वशिष्ठका नाति महर्षि पराशर तथा निषाद धीवरकी संयोगी सुपुत्री मत्स्यगन्धा÷सत्यवतीका साझा प्रकाशनका रूपमा भएको थियो । उनै व्यासकृत महाभारत महाकाव्यमा २ कुमारिज वीरहरूमध्ये एक दानवीर कर्ण हुन् भने अर्का यिनै कलमवीर व्यास ।
आमोदीकृत महाकाव्य ‘मत्स्यगन्धा’ तिनै व्यासकी जननी मत्स्यिज कन्या सत्यावतीको महोपाख्यान हो । हालको नेपालको तनहुँ जिल्लाको त्यो बेलाको स्वच्छ वातावरण, जसमा अलिकति तुवाँलो उत्पन्न गर्न पनि पराशर ऋषिको तपोबल चाहिएको थियो, त्यसको जीवन्त तस्बिरयुक्त अग्रावरण, महाकाव्य र त्यसका सर्जकको तस्बिरसँगै सर्जकीय संक्षिप्त वृत्तान्त सुसज्जित पश्चावरण महाकाव्यको बाह्य आद्यान्त हुन् ।
प्रथम सर्गात् सप्तदश सर्गपर्यन्त चतुरोत्तर द्विशत पृष्ठसहित द्वादश पृष्ठपूर्ण शुभकामना लेखमालाश्च अस्मिन् पुस्तके विद्यते । त्यसमाथि विद्वत्वर प्रा. डा. नारायणप्रसाद खनालको रौंचिरा विश्लेषण यो ग्रन्थका दिव्याभूषण हुन् । मेरा लागि त प्रा. डा. नारायणप्रसाद खनालको त्यो विश्लेषण नै अर्को एउटा ज्ञान सागर हो ।
महाभारत पर्वत पश्चिममा हालको अफगानिस्तानदेखि पूर्वमा करिब थाई भूमिसम्म वर्तमान मापन पद्धतिअनुसार करिब २ हजार किलोमिटर लामो छ । यसको अधिकांश भाग नेपालमै पर्छ । यही महाभारत पर्वतभित्रको एउटा देवघाट स्पर्शित पूण्यभूमि तनहुँ पर्छ । विश्वभरका हिन्दुहरूका लिखित धार्मिक मूल ग्रन्थावलीका महान् जनक व्यास अनि हाम्रा श्रद्धेय गुरुवर आमोदी यही जिल्लाका आत्मज हुन् ।
महाभारतको १८ दिने महासमर, जसमा १ शताब्दीअघिका २ महासमरमा भन्दा बढी जनसंहार भएको थियो । त्यही महासमरले महान ग्रन्थ गीता पनि जन्मायो । हो, त्यही महासमरका बीज व्यक्ति हुन्– मत्स्योदरी सत्यवती । तिनै सत्यवती, जसको जन्म माछाको पेटबाट भएर माझी (धीवर)को कन्याका रूपमा पालिएकी थिइन् ।
त्यस क्रममा उपरिचर बसु, स्वर्गकी शापिता अप्सरा अद्रिकालगायतका दर्जनौं संयोगहरू परेका छन् । माछीको पेटबाट जन्मेकी हुँदा उनको शरीरबाट माछाको जस्तो गन्ध आउँथ्यो । त्यसैले, उनको न्वारन ‘मत्स्यगन्धा’ भनेर भयो ।
धीवरगृहमा अनेक सुसंस्कारले सुसज्जित हुँदै मत्स्यगन्धा हुर्किइन् । बाबुसँगै डुंगा चलाउन पनि सिकिन् । हजारौं यात्रु तारिन् । तिनका कुरा सुनिन् । अनेक ज्ञान लिइन् । तरुनी भएपछि १ दिन यस्तो असमञ्जसको आयो, जसले लट्टा दाह्री पालेका ज्ञानी र शक्तिवान् ऋषि पराशरलाई केही बेरका लागि ज्यान सुम्पिन बाध्य गरायो र कालजयी महाविद्वान् पुत्र कृष्ण द्वैपायनकी माता बनायो अनि यो धर्तीमा हजारौं वर्षसम्म नाम र जीवनी अमर बनायो ।
जन्मनासाथ व्यास तपस्या गर्न गए । ऋषिलाई पु¥याएको अतिरिक्त सेवाले उनको जीउको गन्ध हरायो । फूलको जस्तो मगमग सुगन्ध चार कोस परसम्म फैलिने भयो । पछि त्यही सुगन्धले सिकार खेल्दै गरेका पराक्रमी राजा शन्तनुलाई तान्यो र अनेक घटनाक्रमसँगै सुगन्धा बनेकी माझीकी छोरी हस्तिनापुरकी रानी भइन् ।
यहाँ गंगा, देवव्रतदेखि लिएर अनेक ब्यक्तिहरू, अनेक प्रसंगहरू सुन्दर परिधानका कलात्मक बुट्टाझैं आउँछन् । सुखका र दुःखका सर्वोच्च अवस्थाका कहानीहरू छन् । जीवन र मृत्युका हृदयस्पर्शी वर्णनहरू छन् ।
आमोदी गुरुको लेखन कलाको श्लाघा मेरो ज्ञानले भ्याउँदैन । यो डेढ सय आसपासका छन्दहरू, सुललित शब्दालंकारावली, रस, लय आदिले भरिपूर्ण यति छ कि मानौं, यी शब्दहरू मधुमख्खी हुन् अनि त्यसको मह महाकाव्यको मिठास ।
विभिन्न शीर्षक, उपशीर्षक सर्गका पूर्वोत्तर भागहरूसहित मधुसरिता बनेको यो महाकाव्य अवर्णनीय छ ।
आफ्नै देशको पुरातन इतिहास बनेको हैमप्रभाखण्डको लाखौं महान कहानीहरूका बारेमा सुन्न पनि नचाहने विदेशान्धहरूको बहुमत रहेको समाजमा यस्तो गहन ग्रन्थ एक प्रेरणा, एक व्यंग्य, एक मार्गनिर्देशन पनि हो अनि के केन विद्वान् साहित्यिक हुँ भन्ने र निर्लज्ज पाराले कुनै डाडु–पन्यँु लिएर ठीककार्यवादको खोलभित्र धिक्कार्यवादको अभ्यासमा सपना, बिपना, जपना, तर्कनामा लाग्नेहरूका मथिंगलमा यो एक चेतन बज्र पनि हो ।
कैयौं पक्षमा रौंचिरा विश्लेषण गुरु नारायणप्रसाद खनालले गरिसक्नुभएकाले र मेरो ज्ञान बौद्धिक हिसाब भन्दा पनि अत्यधिक अल्पज्ञताका कारणले मैले सतही समीक्षा मात्र गरिटोपल्ने धृष्टता गरें । समग्रमा केशवराज आमोदी गुरुको लेखनिज ‘मत्स्यगन्धा’ महाकाव्य कृति यसका पाठकहरूलाई सहृदयतापूर्वक तनहुँको मादी नदी होइन, स्वर्गीय कल्पनाको मधुबाहिनी गंगामा सुमधुर स्नान गराउन पूर्ण समर्थ छ ।
हुनत यही विषयवस्तुमा आधारित भएर स्वर्गीय साहित्यकार विनोदप्रसाद धितालले ‘योजनगन्धा’ नामक उपन्यास लेखेका छन्, जुन एकदम पठनीय कृति हो । समान विषय भए पनि ‘मत्स्यगन्धा’ र ‘योजनगन्धा’ विल्कुलै नौला प्रतीत हुन्छन् ।
अन्त्यमा, मेरा आदरणीय गुरु तथा चितवनका वेदव्यास आमोदीका यस्तै सत्कृतिहरू, सत्प्रेरणाहरू, सत्मार्ग निर्देशनहरू मलगायत समग्र नेपाली समाज र साहित्यले सुदीर्घकालसम्म पाइरहोस् । यस शुभघडीमा हार्दिक शुभेच्छा प्रकटसहित गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः भन्दै विश्राम लिन्छु ।