२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

कालीकोटको पचाल झरना गन्तव्य सूचीमा

shivam cement
२०८२ साउन २४ गते ०६:१५
कालीकोटको पचाल झरना गन्तव्य सूचीमा

–भरतप्रसाद देवकोटा

कालीकोट जिल्लाको सदरमुकाम मान्म खाडाचक्र बजारदेखि १६ कोष उत्तरमा अवस्थित साबितको राम्नाकोट गाउँविकास समितिको खार्दु गाउँमा पचाल झरना पर्छ । हालको पचाल झरना गाउँपालिकाको वडा नम्बर ७ र ४ मा पर्ने निकै सुन्दर पर्यटकीय पचाल झरना ३ सय ८१ मिटर अग्लो रहेको छ । कुनै पनि मुलुकको सुन्दरता त्यस मुलुकको राष्ट्रिय सम्पदा हो । पचाल झरना राष्ट्रिय रूपमै पर्यटकीय गन्तव्यमा सूचीकृत झरना हो । नेपालको सबैभन्दा अग्लो झरनाको रूपमा रहेको पचाललाई सरकारले पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा सूचीकृत गरेको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका सयवटा प्रमुख गन्तव्यमध्ये पचाल झरनालाई ६४औं स्थानमा सूचीकृत गरेको छ । झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा प्रचारप्रसारको कामसमेत भएको छ । जसका लागि सो क्युआर कोड तयार गरिएको छ । जसलाई आमनागरिक र पर्यटकले सहज रूपमा प्रयोग गर्न पाउनेछन् । कालीकोटको खान्डाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बिचमा पर्ने पचाल झरनाबाट बग्ने पानी चुलीमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ ।

हयातुङ झरना जुन तेह्रथुम जिल्लामा पर्छ, सो झरनाले दोस्रो ठुलो स्थान ओगटेको छ । जसको उचाइ ३ सय ६५ मिटर रहेको छ । पचाल झरना समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोकिएको लम्बाइ जोड्दा त पताल झरनाको लम्बाइ ४ सय १५ मिटर रहने गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ । हयातुङ झरनाभन्दा पचाल झरनाको उचाइ १६ मिटर बढी अग्लो भएको पाइन्छ । पचाल झरना पुग्न कर्णाली कोरिडोर लाफा गाउँबाट ३ घण्टा पैदल र १ घण्टा गाडीमा पुग्न सकिन्छ । झरनाको सिरमा राष्ट्रिय पन्छी डाँफे र कालिजलगायत अन्य चराचुरुंगी र गोरल कस्तुरी बदेल हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइन्छन् । पर्यटकलाई खान बस्न खार्दु गाउँमा पाँचवटा घरमा होमस्टे पनि सञ्चालन भएका छन् ।

करिब ४ हजार मिटर उचाइमा रहेको पुग मालिका हिमालको ढैगर भन्ने ठाउँमा यो झरना अवस्थित छ । सो ठाउँमा ढुंगैढुंगा भएकाले ढइगार भनिएको र सो ठाउँमा पानी बगेको आवाज मात्र सुनिन्छ तर पानी देखिँदैन । धेरै तल आइसकेपछि मात्र पानी देख्न पाइन्छ । बाह्रै मास र सधैं लाग्ने इन्द्रेणीका रंगीन तरंगले पर्यटकलाई निकै आनन्दित तुल्याउँछ । घना जंगलको बिचमा एकनासतवरले झरिरहेको सेतो हिउँका थुप्पाको पहिरन बोकेको झरनाको अनुभव आनन्दले मनलाई मात्र लोभ्याउँदैन एक प्रकारको स्वर्णिम अनुभूति दिलाउँछ ।

झरनाको महत्वपूर्ण पक्ष प्राकृतिक सुन्दरता मात्र होइन, ऐतिहासिक पक्ष पनि हो । सुरुवातमा पचाल छहरो नामले परिचित रह्यो भने झरनाका सम्बन्धमा एउटा किंवदन्ती छ, देउतामध्येका ठुलो र प्रतापी मष्टका १२ भाइमध्ये पैचालो पनि एक हो । पैचालोको मन्दिर कालीकोट जिल्लाको पचाल झरना गाउँपालिकाको खार्दु गाउँमा रहेको छ । यस देवतालाई आफू सबैभन्दा बलियो भएको घमण्ड हुँदै आएको र यसै झरनाको पितमा बस्ने एक राक्षसकी छोरीसँग विवाह ग¥यो ।  विवाहपश्चात् राक्षसकी छोरी विवाह गर्नेलाई समाजमा राख्न हुन्न भन्ने र देवताहरू मिली समाजबाट अलग गरे । अनि दीप समाजबाट च्युत भएपछि त्यसै छहराको पीतमा ससुरालीमा गएर बस्न थालेपछि, सो झरनाको नाम देउताको नामबाट पैचाल हुँदै पचाल झरना हुन गएको हो । 

सरकारी निकायबाट प्रचारप्रसार हुनुभन्दा पहिले राम्नाकोटका चेतनशील तथा प्रकृति प्रेमी युवाले पहिचान गरी पैचाल छहरा विकास समिति भन्ने एक संस्था दर्ता गरी केही समय सक्रिय रूपमा सो झरनाको प्रचारप्रसारका लागि काम गर्दै आएका थिए । कर्णाली प्राकृतिक रूपमा निकै सुन्दर छ, धनी छ भन्ने विषयमा दुई मत छैन । अझै पनि सरकारले विकासका लागि नागरिकलाई गर्नुपर्ने व्यवहारमा फरक नपरोस् भन्ने आवाज कर्णालीवासीको सधैं रहने देखिन्छ र रहिरहनेछ । पर्यटकका दृष्टिले नेपाल विश्वकै अग्रस्थानमा पर्छ, यो भनेको आर्थिक विकासको आधार पनि हो । प्रकृतिले सबै देशलाई धनी बनाएको हुँदैन तर हामी प्रकृतिमा धनी छौं, पर्यटन अर्थतन्त्रको बलियो आधार हो । तीव्र आर्थिक विकासमा लम्किने सबैभन्दा बलियो र छोटो बाटो बन्न सक्छ, यो राज्यले गर्न ढिलो भएको नागरिकसामु तितो यथार्थ पनि हो ।

पर्यटन प्रवर्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न समन्वयात्मक रूपमा पूर्वाधार विकास गर्न पर्यटकीयस्थलको उपज विविधीकरण तथा विस्तार गरी ग्रामीण पर्यटनमार्फत थप रोजगारीका अवसर सिर्जना गर्न र मुलुकमा सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालनका निम्ति आन्तरिक पर्यटनलाई प्रोत्साहनमा जोड दिनुपर्छ । पर्यटन मुलुकको आर्थिक विकासको बलियो खम्बाका रूपमा लिन सकिन्छ, कुल गार्हस्थ उत्पादनमा २ दशमलव ४ प्रतिशत योगदान दिने पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरी अघि बढ्नुपर्छ । आन्तरिक तथा विदेशी पर्यटनको प्रमुख गन्तव्यका रूपमा पछिल्लो समय कर्णाली प्रदेश निकै सुन्दर र मनमोहक रूपमा लिने गरेको पाइन्छ ।

एसियामा पर्यटन व्यवसायबाट चीन र भारत, जापानलगायतका देशहरूले आफ्नो स्थितिलाई मजबुत बनाइसकेका छन् । नेपालको गतिविधि पर्यटनको अनुकूल नरहे तापनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ । नेपालमा गगनचुम्बी चुचुराहरू, सांस्कृतिक धार्मिक धरोहरका कारण विश्वका विभिन्न मुलुकबाट पर्यटकहरू आउने गरेका छन् । यद्यपि, त्यो पर्याप्त छैन । पर्यटकीय स्थलहरूको विकास गर्नका लागि पनि यातायात र सञ्चारको विकास भएको हुनुपर्छ । त्यसैले गर्दा धेरै मानिसहरूमा विचारहरूको आदानप्रदान हुन सजिलो हुन्छ । नेपालमा यातायात साधन र सडक सञ्जाल निकै अप्ठ्यारो असजिलो छ । हवाई यात्रा पनि मौसम र विभिन्न कारणले भनेको समयमा सहज देखिँदैन । यसले गर्दा पर्यटकहरू कतिपय भनेको समयमा सो क्षेत्र पुग्न अप्ठ्यारो महसुस भएको देखिन्छ । पैदल यात्रा गर्ने बाटा पनि जोखिममा छन् । बाढी पहिरो खोला नालाहरूले गर्दा कष्टकर बन्छन् ।

पर्यटकका लागि उपयुक्त वातावरण होमस्टे स्वास्थ्यकर खानेकुराहरूको व्यवस्था स्थानीय तह सरोकार निकाय प्रदेश सरकार र केन्द्रीय सरकारले पूर्ण रूपमा आफ्नो दायित्व पूरा गरेको खण्डमा भ्रमणका लागि गन्तव्य स्थानमा पर्यटकहरूलाई पुग्न, घुम्न र भ्रमण गर्न सक्ने थिए । जसले पर्यटन क्षेत्रलाई अगाडि बढाउन मद्दत गर्ने थियो । कालीकोटको पचाल झरनाजस्ता क्षेत्रलाई गन्तव्य सूचीमा राखेर विकास गर्नु अहिलेको आवश्यकता हो । 

ADV

सम्बन्धित खबर

Advertise