२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

पक्राउ पुर्जी जारी भएकालाई विभागको चेतावनी

Nada
२०८३ कार्तिक १० गते ०६:२५
Shares
पक्राउ पुर्जी जारी भएकालाई विभागको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू मंसिर १५ गतेसम्म उपस्थित नभए बैंक खाता र राहदानी रोक्का हुने चेतावनी दिएको छ । विभागको प्रशासन तथा योजना शाखाले सोमबार सूचना जारी गर्दै उक्त चेतावनी दिएको हो ।

विभागले वैदेशिक रोजगारसम्बन्धी उजुरी परेका व्यक्तिहरूका सम्बन्धमा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएको र हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरू निगरानीमा रहेको जनाएको छ । उनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा जान विभागले आग्रह गरेको छ ।

पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको मितिभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम उनीहरूको बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायत आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

विभागले गत साउन ५ गतेदेखि मुद्दा फछ्र्योट गर्ने कार्यलाई तीव्रता दिने भन्दै उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीमा अनलाइन उजुरी लिन सुरु गरेको थियो । उक्त प्रणालीमा वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले प्रमाणसहित अनलाइन माध्यमबाट उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर