२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सर्बियामा बन्धक बनाइएका ९ नेपालीको अवस्था अझै अज्ञात

ADV
२०८१ असार २४ गते ०६:४०
सर्बियामा बन्धक बनाइएका ९ नेपालीको अवस्था अझै अज्ञात

झापा : वैदेशिक रोजगारीका लागि सर्बिया पुर्‍याइ मानव तस्करले बन्धक बनाएका झापाका दुई युवा छुटे पनि अन्य ९ जनाको अवस्था अज्ञात रहेको छ । गत हप्ता बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीसहित ११ जनालाई सर्बियामा बन्धक बनाइएको खबर सार्वजनिक भएको थियो । सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ फिरौती रकम मागेको आफन्तले बताएका छन् ।

आमाशु र पशुपतिसँगै बाह्रदशी–५ का २९ वर्षीय दीपेश राजवंशी, शिवसताक्षी नगरपालिकाका बम राजवंशीलगायत ११ जनालाई बन्धक बनाइएको थियोे । उनीहरुलाई काठमाडौंको एफएस वर्कर एजेन्सी प्रा.लि.का विज्ञान खनाल र झापा मेचीनगर इँटाभट्टाकी सपना राजवंशीमार्फत सर्बिया पठाइएको पीडित परिवारको भनाइ छ ।

खनालले आमाशुलाई रोमानिया पुर्‍याइदिने भन्दै झण्डै १४ महिना झुलाएपछि अहिले सरकारले टाइट गरेकाले रोमानिया पठाउन समस्या भएको र त्योभन्दा राम्रो साढे ५ सय युरो तलब र अन्य सुविधा हुने रोमानियाको छिमेकी देश पठाइदिने भन्दै सर्बिया पुर्‍याएको पीडितका परिवारले बताएका छन् ।

सर्बिया पुर्‍याएपछि उनीहरूलाई आकर्षक तलब सुविधाको रोजगारी नदिइ त्यसभन्दा राम्रो ठाउँ इजिप्ट पठाउने भन्दै सर्बियाको जंगलमा पुर्‍याएर बन्धक बनाइ फिरौतीबापत लाखौं रकम तिर्न बाध्य पारिएको उनीहरुको भनाइ छ । रोमानियामा रहेका सपनाका पति नरेश राजवंशी पनि एफएस वर्कर एजेन्सीको समन्वयमा रहेको बताइएको छ । रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म रकम पुर्‍याउने गरिएको पीडितका परिवारले बताए पनि त्यस कार्यमा नरेश संलग्न रहे–नरहेको स्पष्ट नभएको उनीहरूले बताएका छन् ।

बन्धक बनाइएका नेपालीले आफूहरूलाई जंगलमा हातखुट्टा बाँधेर राखेको र रकम नबुझाए गोली हानेर मार्ने धम्की दिएको भिडियो कलमार्फत परिवारसँग बिलौना सुनाउने गरेका थिए । नेपालीलाई बन्धक बजाउने समूहको हिन्दी, अरबी र पाकिस्तानी भाषामा कुराकानी हुने गरेकोे बताइएको छ । 

सर्बिया उडाउने एफएसका सञ्चालक खनालले आफूले वैधानिकरूपमा सर्बिया पठाएको भन्दै आफ्नो कुनै दोष नरहेको बताएर उम्कने प्रयास गरेकाले यसबारेमा वैदेशिक रोजगार विभागले पनि चासो राख्नुपर्ने पीडित परिवारले माग गरेका छन् ।

तीन वर्षअघि खुला गरिएको सर्बियामा केही नेपाली गएका छन् । नेपाली कामदारका लागि उक्त मुलुक आकर्षक देखिएको भन्दै केही म्यानपावर कम्पनी र मानव तस्करहरूले सर्बियालाई चर्को रकम असुल्ने माध्यम बनाएको बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise