२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कपिलवस्तुमा सामुदायिक विद्यालयका ६७ प्रतिशत छात्रामा रक्तअल्पताको समस्या

ADV
क्षितिज किरण
२०८१ असार २४ गते ११:४५
कपिलवस्तुमा सामुदायिक विद्यालयका ६७ प्रतिशत छात्रामा रक्तअल्पताको समस्या

कपिलवस्तु : कपिलवस्तुको सामुदायिक विद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढी किशोरी छात्रामा रक्तअल्पता (एनिमिया) को समस्या देखिएको छ । लुम्बिनी प्रदेश सरकारको किशोरीहरूको रक्तअल्पता जाँच कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका २४ वटा सामुदायिक विद्यालयका छात्राको रक्त परीक्षण गर्दा ६७ प्रतिशत बढी छात्रामा रक्तअल्पताको समस्या देखिएको हो ।

जिल्लाका १० पालिकाका कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत ४ हजार ७ सय ३४ किशोरी छात्राको रगतको नमुना लिइ हेमोग्लोबिनको मात्रा परीक्षण गर्दा ३ हजार १ सय ३६ जनामा रक्तअल्पता देखिएको हो । जुन संख्या प्रतिशतमा हेर्ने हो भने ६७ दशमलव ३० प्रतिशत हुने देखिएको छ । रगतमा हेमोग्लोबिनको मात्रा १२ भन्दा कम हुनु रक्तअल्पता हो । परीक्षणका क्रममा ८ भन्दा कम हेमोग्लोबिनको मात्रा हुने (कडा रक्तअल्पता) देखिएकामा १ सय ६१ जना अर्थात ३ दशमलव ४ प्रतिशत छात्रा छन् । त्यसैगरी ८ देखि १० दशमलव ९ हेमोग्लोबिन हुने (मध्यम रक्तअल्पता) देखिएकामा १ हजार ८ सय ६५ जना अर्थात ३९ दशमलव ४ प्रतिशत र ११ देखि ११ दशमलव ९ हेमोग्लोबिन (कम रक्तअल्पता) हुने छात्राको संख्या १ हजार १ सय ६० अर्थात २४ दशमलव ५ प्रतिशत देखिएको छ ।

किशोरी र छात्राहरूमा जंकफुडको सेवन तथा व्यवस्थित खानपान नहुँदा रक्तअल्पताको समस्या देखिने गर्दछ । खानपानमा हरियो सागसब्जी, दुध, दही, माछा र मासुको सेवन नगर्दा रक्तअल्पताको समस्या आउने स्वास्थ्यकर्मीहरू बताउँछन् । सर्वेक्षणका क्रममा गरिएको परीक्षणको तथ्यांकले समेत नगर, बजार र भारतीय सीमावर्ती क्षेत्र जहाँ जंकफुडको उपलब्धता सहज छ त्यहीँ रक्तअल्पताको समस्या बढी देखिएको छ । जिल्लामा सबैभन्दा बढी बुद्धभूमि नगरपालिकाका किशोरी छात्रामा रक्तअल्पताको समस्या देखिएको छ । बुद्धभूमि नगरपालिकाको भृकुटी मावि बुड्डी र सिद्धार्थ स्मारक मावि भेलाइका ५ सय १९ छात्राको रगत परीक्षण गर्दा उनीहरूमध्ये ४ सय ४० अर्थात ८४ दशमलव ७७ प्रतिशत छात्रामा रक्तअल्पता देखिएको छ । जसमा ११ जनामा कडा रक्तअल्पता, २ सय ६९ जनामा मध्यम र १ सय ६० जनामा न्यून रक्त अल्पता देखिएको हो ।

त्यसैगरी बढी रक्तअल्पता देखिने दोस्रो पालिकामा कपिलवस्तु नगरपालिका छ । त्यहाँका तिलौराकोट मावि र बुद्धपद्यम माविका ३ सय ३८ जना छात्राको रगत परीक्षणमा २ सय ७९ जना (८२ दशमलव ५४ प्रतिशत)मा रक्तअल्पता देखिएको छ । त्यसैगरी तेस्रो बढी रक्तअल्पता देखिनेमा यशोधरा गाउँपालिका रहेको छ । त्यहाँका ४ सय ८६ छात्रामध्ये ३ सय ९० (८० दशमलव २४ प्रतिशत) मा रक्तअल्पता देखिएको छ । सर्वेक्षणका क्रममा २४ वटा विद्यालयमध्ये जिल्लाको यशोधरा गाउँपालिकाको बासुदेव जनता मावि रंगपुरका १ सय ६९ छात्रामध्ये १ सय ६७ जनामा अर्थात ९८ दशमलव ८१ प्रतिशतमा रक्तअल्पता देखिएको छ । बुद्धभूमिको भेलाइस्थित सिद्धार्थ स्मारक माबिमा परिक्षणका क्रममा छात्रामा हेमोग्लोबिनको मात्रा ६ सम्म पनि देखिएको परीक्षणमा सहभागी सोही नगरपालिकाको महुवा स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट ज्ञानेन्द्र बहादुर यादवले जानकारी दिए ।

रक्तअल्पताका तत्कालीन असरहरूमा शारीरिक थकावट र कमजोरी हुने, कार्य क्षमता घट्ने, आलस्य हुने र बौद्धिक क्षमता घट्ने हुन्छ । यसका दीर्घकालीन असरमा कार्य क्षमतामा कमी आउने, अन्य रोगको संक्रमण सम्भावना बढ्ने, गर्भावस्थामा रक्तचाप बढ्नुका साथै जटिलता उत्पन्न हुने, मातृ मृत्यु र बाल मृत्युको सम्भावना बढ्ने, बच्चा कुपोषित र कम तौलको हुनेलगायतका समस्या देखिने गर्छ । जिल्लामा गरिएको सर्वेक्षणमा सहभागी स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ निरीक्षक मोहम्मद इरफानले यो तथ्यांकले जिल्लामा रक्तअल्पताको समस्या गम्भीर भएको देखिएको बताए । उनले बालबालिकालाई जंकफुडको सेवन गर्नबाट रोक्न र पोषणयुक्त खाना खाने विषयमा सचेत बनाउन आवश्यक रहेको बताए ।

२०८० फागुन र चैतमा जिल्लाका २४ सामुदायिक विद्यालयमा गरिएको सर्वेक्षणमा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरी, क्षयकुष्ठ निरीक्षक मोहम्मद इरफान र कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनाल सहभागी थिए । त्यसैगरी सम्बन्धित पालिकाका अनमी, ल्याब असिस्टेन्ट, शिक्षकसहितका ७ जनाको टोलीलाई सहभागी गराइ परामर्श तथा रक्त परीक्षण गरी सर्वेक्षण गरिएको थियो । सो क्रममा किशोरीको रगतको नमुना लिइ विद्यालयमै क्याफरिन सलुसन विधिद्वारा परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा रक्तअल्पता देखिएका किशोरी छात्रालाई सम्बन्धित स्वास्थ्य संस्था र विद्यालयका शिक्षकको निगरानीमा आइरन चक्की सेवन गराउन थालिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए । त्यसैगरी विद्यालय किशोरी आइरन कार्यक्रमअन्तर्गत आवश्यकताका आधारमा जिल्लाका सबै विद्यालयमा आइरन चक्की वितरणका लागि उपलब्ध गराइएको उनले स्पष्ट पारे । सो चक्की हप्तामा १ पटकका दरले तीन महिना निरन्तर र सोपश्चात पुनः तीन महिना रोकेर पुनः निरन्तर सेवन गराउन थालिएको उनले स्पष्ट पारे । चाउचाउ, चिप्स, कुरकुरे, बिस्कुट, कोल्ड ड्रिक्स, म:म, चाउमिन, डोनट, पपकर्नलगायतका जंकफुडको सेवनमा बालबालिकाको बढ्दो प्रभाव र पोषणयुक्त हरियो सागसब्जी, तरकारी, माछा मासु नखाँदा किशोरी छात्रामा रक्तअल्पताको समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise