२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

नेपालमै पहिलोपटक स्तन क्यान्सर सर्भाइभरका लागि ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ सम्पन्न

shivam cement
२०८२ कार्तिक १३ गते ११:४८
नेपालमै पहिलोपटक स्तन क्यान्सर सर्भाइभरका लागि ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ सम्पन्न

चितवन : इनर ह्विल क्लब अफ बुद्धनगर (क्यान्सर सर्भाइभर्स समूह) ले स्तन क्यान्सरबाट बचेका महिलाहरूका लागि नेपालमै पहिलोपटक ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ नारायणी सामुदायिक अस्पताल, भरतपुरमा सम्पन्न गरेको छ ।

‘लिभ विथ डिग्निटी’ भन्ने नारासहित आयोजित सो कार्यक्रम स्तन क्यान्सर सर्भाइभर महिलाहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो ।

क्लबका पदाधिकारीका अनुसार, सर्जरीपछि शरीरमा आउने शारीरिक परिवर्तनका कारण धेरै महिलामा आत्मविश्वास घट्ने समस्या देखिने भएकाले यस्तो सहयोगले उनीहरूलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि सहज बनाउने विश्वास गरिएको छ ।

कार्यक्रममा डा. भक्तमान श्रेष्ठले व्यक्तिगत तर्फबाट क्लबलाई रु १ लाख, र नारायणी सामुदायिक अस्पतालले रु १ लाख ५० हजार सहयोग गरेका छन् ।

डा. श्रेष्ठले सन् १९९६ (वि.सं. २०५३) मा आफूले पहिलो पटक स्तन शल्यक्रिया (ब्रेस्ट अपरेशन) गरेको अनुभव सुनाउँदै भने, “परिवार र समाजको माया र हौसला भए, रोगसँग लड्न सकिन्छ, र लामो आयु बाँच्न पनि सम्भव हुन्छ ।”

उनले २९ वर्षअघि अपरेशन गरेकी पहिलो बिरामी बबि शाक्य अहिले पनि स्वस्थ र सक्रिय जीवन बाँचिरहेकी देख्दा खुशी व्यक्त गरे । डा. श्रेष्ठले अहिलेसम्म २,७०० भन्दा बढी महिलाको स्तन क्यान्सर अपरेशन गरिसकेका छन् ।

कार्यक्रममा सहभागी एक क्यान्सर सर्भाइभरले पनि रु २१ हजार सहयोग गर्दै सकारात्मक सोचले जीवनमा नयाँ उत्साह ल्याउने सन्देश दिए ।

त्यसैगरी, गैडाकोटकी देवी कुमारी आचार्य ले क्यान्सरसँगै कोलेस्ट्रोल, प्रेसर र थाइराइडका औषधि नियमित रूपमा खानुपरे पनि स्वस्थ खानपान, सकारात्मक सोच र खुसी मनले जीवन सहज बनाउने अनुभव सुनाइन् ।

इनर ह्विल क्लब अफ बुद्धनगरकी अध्यक्ष नानीमाया तामाङ का अनुसार, क्लब तीन वर्षअघि स्थापना भएको हो र स्तन क्यान्सरबाट बचेका महिलाहरूको पुनःस्थापनाका लागि नियमित रूपमा सहयोग तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थापक अध्यक्ष तारा अमात्य ले क्यान्सरपछि अपनाउनुपर्ने जीवनशैली र व्यवहारबारे सचेतना फैलाउने अभियानलाई निरन्तरता दिइरहेको बताइन् ।

क्लबकी सचिव बबि शाक्य स्तन क्यान्सरसँगको लामो संघर्षपछि निको भएकी एक उदाहरणीय सर्भाइभर हुन् । करिब २९ वर्षअघि उहाँको पहिलो स्तन शल्यक्रिया डा. भक्तमान श्रेष्ठले गरेका थिए । त्यसको १० वर्षपछि अर्को स्तनमा पुनः क्यान्सर देखा पर्दा पुनः डा. श्रेष्ठकै हातबाट अपरेशन भयो । पछि रोग हड्डीसम्म फैलिँदा केमोथेरापी गर्नुपरेको र अन्ततः पूर्ण रूपमा निको भएको अनुभव उनले सुनाइन् ।

उनका अनुसार, आर्टिफिसियल ब्रेस्ट वा प्याडेड ब्रा आवश्यक स्थानमा उपलब्ध गराउनु क्लबको प्रमुख उद्देश्य हो ।

आयोजकका अनुसार, यस कार्यक्रमले स्तन क्यान्सरबाट बचेका महिलामा आत्मविश्वास र आत्मसम्मान बढाउँदै, समाजमा क्यान्सरप्रतिको डर र गलत धारणा तोड्ने सन्देश दिएको छ- “क्यान्सर अन्त्य होइन, नयाँ जीवनको सुरुवात हो ।”

कार्यक्रममा १८ जना स्तन क्यान्सर सर्भाइभर सहभागी भएका थिए, तीमध्ये अधिकांशको अपरेशन डा. भक्तमान श्रेष्ठले गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise