२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

मध्यान्ह
२०८२ जेठ ३ गते १४:५७
खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी : नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण गाउँपालिका-५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ ।

खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रय स्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिए ।

आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समुद्र सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाउ द्वार गाउँका मजदुर त्यही बास बसेका छन् । गाउँदेखि आवतजावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताए । 

“वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन”, उनले भने, “हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ ।” गत वर्ष पनि प्रदेश सरकारको रु. २० लाखको बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो ।

सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ । गुराँसको जंगलको बीचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो ।

अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजंगल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रय स्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो ।

ADV

सम्बन्धित खबर