२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

एनआरएनए रोमानियाको अध्यक्षमा गोमा देवी थापा मगर, नयाँ कार्यसमितिले लियो शपथ

Nada
२०८३ कार्तिक १६ गते १२:०३
Shares
एनआरएनए रोमानियाको अध्यक्षमा गोमा देवी थापा मगर, नयाँ कार्यसमितिले लियो शपथ

रोमानिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) रोमानियाको नवनिर्वाचित २५ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेको छ । आइतबार रोमानियाको राजधानी बुखारेस्टमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोमा देवी थापा मगरसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका हुन् ।

गत जुलाईमा अधिवेशन सम्पन्न भए पनि आन्तरिक समस्याका कारण कार्यसमितिले औपचारिक रूपमा पूर्णता पाउन सकेको थिएन । त्यसपछि आइतबार आयोजित शपथग्रहण समारोहसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।

बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनएका डा. हेमराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का महासचिव चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु तथा क्षेत्रीय उपसंयोजकहरू बाबाराजेश्वरी थापा, तीर्थ धमला, निरपेश गिरी र संघर्ष केसीलगायतको उपस्थिति थियो ।

त्यस्तै, आइसिसीका पूर्वसचिव भीमकमल केसी, आइसिसी सदस्य सुरेन्द्र गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ता तथा रोमानियामा बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए ।

शपथग्रहण समारोहमा रोमानियामा कार्यरत नेपाली श्रमिकका हकहित संरक्षण, नेपाली समुदायबीच एकता र सहकार्य विस्तार, संस्थागत सुदृढीकरण तथा आर्थिक पारदर्शिताका विषयमा छलफल भएको थियो । सहभागीहरूले प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि एनआरएनएलाई थप जिम्मेवार, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष थापा मगरको नेतृत्वमा रहेको कार्यसमितिले रोमानियामा रहेका नेपाली श्रमिक तथा समुदायको हित संरक्षण, आपसी सहयोग र सामाजिक सेवाका गतिविधिलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा गोमा देवी थापा मगर चयन भएकी छन् । वरिष्ठ उपाध्यक्षमा राजु लामा रहेका छन् भने उपाध्यक्षमा सागर क्षेत्री, सुरेन्द्र लामा, थमन गुरुङ र टेक्सुराम राई छन् ।

त्यस्तै, महासचिवमा गोविन्द सुब्बा, सचिवमा माधव घिमिरे, सरोज खनाल, कृष्णबहादुर विक, मानबहादुर ब्लोन तामाङ र रञ्जित तामाङ गोले चयन भएका छन् ।

कोषाध्यक्षमा राजु राना मगर र सहकोषाध्यक्षमा शशी लामा छन् ।

कार्यसमिति सदस्यहरूमा मनिष खत्री, अनिल पाण्डे, सन्तोष थापा मगर, अम्बरबहादुर तामाङ, गन्दीप मगर, लिला देवी ढकाल, ऋषिराम घिमिरे, म्याक्स सिंह, रोशन कुमार औरी, रुद्रबहादुर थामी र रमेश गिरि रहेका छन् ।

नयाँ कार्यसमितिले पदभार ग्रहण गरेसँगै रोमानियामा रहेका नेपाली समुदायका समस्या सम्बोधन, संस्थागत गतिविधि विस्तार र सामाजिक सेवाका कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर