२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते

Nada
२०८३ कार्तिक १५ गते १२:३५
Shares
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार, वर्ष २२ का रामदिन हरिजन, वर्ष २४ का प्रेम धोबी, वर्ष २९ का दिलीपकुमार यादव. वर्ष ३५ का लक्ष्मीराम यादव, भारतको बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद, वर्ष २४ का नशिव कुमार निषाद र वर्ष २५ का विनोद कुमार निषाद रहेको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ०८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर