२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुने

Nada
२०८२ जेठ ३ गते २०:५०
Shares
सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । एभरेष्ट एलाइन्स नेपालद्वारा १३ जेठमा पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौंमा आयोजना हुन लागेको हो । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिने छन् ।

ncell

एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । उनले भने, ‘सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीहरूको उत्साहप्रद उपस्थिति देखिएको छ ।’ सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीजरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरू सहभागिता जनाउने छन् । 

सगरमाथा आरोहणको ७ दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावको बारेमा गहन छलफल हुने अध्यक्ष नेपालले बताए । यसका साथसाथै हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएको खुसीको आदानप्रदान हुनेछ । 

सम्मेलनमा प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायतका विभिन्न सङ्घ संस्थाको सहभागितामा हिमालका समस्याको बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर