काभ्रेमा कुकूर मारिएको तस्वीर सार्वजनिक भएपछि यो विषय देशब्यापी बनेको छ । राजधानी उपत्यकामा कुकूर सुरक्षाको माग सहित प्रदर्शन नै भएको छ । प्रदर्शनकारीले कुकूर नै लिएर सडकमा निस्किएका थिए । कुकूरको बाँच्न पाउने अधिकारलाई लिएर सामाजिक सञ्जाल देखि सडकसम्म बहस र अभियान चलिरहेको छ । यसअघि पनि कुकूर मारिएको तस्वीरहरुबारे प्रश्न उठ्ने गरेको थियो । तर, काभ्रेमा पोलमा बाँधेर कुकूर मारिएको विषयलाई भने बढी जोडका साथ उठाइएको छ । कुकूरको हत्या गर्नेलाई कार्बाहीको माग अगाडि बढाइएको छ । काभ्रे प्रहरीले यसबारे छानबिन नै अगाडि बढाएको छ । कुकूरको हत्या गर्नेमाथि कार्बाहीको माग गरिए पछि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।
जनावर र मानिस बीचको समस्या नयाँ कुरा होइन । केही दिन अगाडि मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको थियो । उक्त निकुञ्जमा यसअगाडि पनि बाघको आक्रमणबाट मानिसको मृत्यु हुने गरेको छ । संरक्षणमा राखिएको बाघबाट मानिस खतरामा देखिनुलाई विशेष चासोका साथ हेरिनुपर्ने प्रश्न उठिरहेकै छ । पश्चिम तराईका जिल्लाहरुमा छाडा चौपायाका कारण मानिसको ज्यान जाने समस्या पुरानै हो । जंगलमा छाडिएका गाइगोरुका कारण सडक दुर्घटना हुने देखि लिएर अन्नबाली जोगाउन समेत किसानलाई गाह्रो बनिरहेको छ । गएको वर्ष छाडा गाइगोरु जंगलमा छोड्ने क्रममा चर्को विवाद भएको थियो । जंगलमा छोड्न लगिएको गाइगोरु मरेपछि यसलाई धार्मिक रंग लगाउने प्रयास गरिएको थियो ।
अर्थात्, जंगली देखि घरपालुवा जनावरका कारण संकट भने मान्छेमा पर्ने गरेको छ । यो पृथ्वी र प्राकृतिक स्रोतसाधनमा सम्पूर्ण जीवहरुको समान अधिकार छ । अझ घरपालुवा जनावर र मानिस बीच दोहोरो लाभ लिनेदिने प्रणाली हुन्छ । तर, त्यही सम्बन्ध अहिले समस्याका रुपमा देखिएको छ । यस्तो बेला कसले बाँच्ने ? मान्छे कि जनावर भन्ने प्रश्न हुन्न । दुवैले बाँच्न पाउनुपर्छ । तर, त्यसको व्यवस्थापन गर्न भने सरकारले उचित ध्यान दिइनुपर्छ । अहिले व्यवस्थापनकै समस्या हुँदा यस्ता समस्या देखिने गरेको छ । जसको दीर्घकालीन समाधान भनेकै उचित व्यवस्थापन हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies