काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी पुनः थालेको छ । साउनको दोस्रो हप्ता प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
यसका साथै प्रधानमन्त्री ओली असारको दोस्रो हप्ता स्पेन र साउनको तेस्रो हप्ता तुर्कमेनिस्तानको पनि भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयले यी ३ वटै देशको भ्रमणको तयारी सुरु गरेको छ ।
प्रधानमन्त्री ओलीको स्पेन र तुर्कमेनिस्तानको भ्रमणको मिति लगभग टुंगो लागिसके पनि भारत भ्रमणको मिति निश्चित नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । यद्यपी भ्रमण साउनको दोस्रो हप्तामा हुने सम्भावना बढी रहेको अधिकारीहरू बताउँछन् ।
भारत भ्रमणको सन्दर्भमा नयाँ दिल्लीबाट सकारात्मक संकेत आएकाले सोहीअनुसार तयारी थालिएको तर भ्रमणको तयारी अझै प्रारम्भिक चरणमै रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
यसका साथै नेपाल र भारतका परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा भारतीय अधिकारीहरूसँग छलफल थालेका छन् ।
यदि भारतमा पहलगाममा आतंकवादी आक्रमण नभएको भए प्रधानमन्त्रीको भारत भ्रमण जुनमै भइसक्ने थियो । भारत–पाकिस्तानबीचको तनावका कारण प्रधानमन्त्रीको भ्रमण पछि धकेलिएको हो ।
नयाँ दिल्लीबाट सकारात्मक संकेतहरू आएपछि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्लीमा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा आवश्यक समन्वय गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे आफू जानकार भएको तर भारत भ्रमणको बारेमा खासै जानकारी नभएको बताए । ‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पटकपटक भेटिसक्नुभएको छ, त्यसैले भ्रमणको सम्भावना सधै खुला हुन्छ’, उनले भने ।
गत वर्ष जेठमा प्रधानमन्त्रीमा नियुक्त भएका ओली भारत भ्रमणको लागि प्रयासरत छन् । तर हालसम्म उनको भारत भ्रमण हुन सकेको छैन । भारतले ओलीको भ्रमणमा अनिच्छा देखाउँदा उनको भारत भ्रमण हुन सकिरहेको थिएन ।
तर प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग संयुक्त राष्ट्रसंघ महासभा (न्यूयोर्क) र छैठौं बिमस्टेक सम्मेलन (बैंकक) मा २ पटक भेट गरिसकेका छन् ।
एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले स्पेन भ्रमणपछि भारतको भ्रमण गर्ने गरी प्रारम्भिक तयारी सुरु भएको छ ।
भारतले नेपालका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन सरकारलाई नरुचाएको कारण ओलीको भ्रमण हुन नसकिरहेको विश्लेषण नेपालमा हुने गरेको छ । तर यी २ पार्टीको सरकार तलमाथि तत्काल नहुने देखेपछि भारतले पनि ओलीलाई अब भारत भ्रमण गराउन खोजेको देखिएको छ ।
यसअघि भारतले चासो नदिएपछि प्रधानमन्त्री ओलीले गत नोभेम्बरमा चीनबाट आफ्नो वैदेशिक यात्रा सुरु गरेका थिए ।
चीन भ्रमणमा गएका थिए । दिल्लीले निमन्त्रणा दिएको भए प्रधानमन्त्री चीनभन्दा पहिले भारत भ्रमणमा जान्थे । तर उताबाट निमन्त्रणा नआएको कारण उनी चीन भ्रमणका गएका थिए ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केलगत्तै आफू चाँडै भारत भ्रमणमा जाने पनि बताएका थिए । चीन जानुअघि पनि उनले आफू फर्के लगत्तै भारत भ्रमणमा जान अभिव्यक्ति दिएका थिए ।
यसअघि प्रधानमन्त्री ओलीको गत अप्रिलमै भारत भ्रमण गर्ने सम्भावना थियो । त्यसका लागि दुबै देशले २५–२७ अप्रिलसम्म भ्रमण हुने जनाएका थिए ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक गएका बेला ओली र भारतीय समकक्षी मोदीबिच गत वर्ष २२ चैतमा बैंककमा भएको भेटवार्तामा नेपालद्वारा प्रस्तावित मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो गरी छलफल भएको थियो । भेटमा दुबै प्रधानमन्त्रीहरूले एकअर्कालाई भ्रमणको निम्तो पनि दिएका थिए ।
यसका साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्रीको भारत भ्रमणको तारतम्य मिलाउन २ पटक नयाँदिल्ली भ्रमण गरिसकेकी छन् ।
स्पेन र तुर्कमेनिस्तान पनि जाने
यसबीच प्रधानमन्त्री ओली आगामी जुन ३० देखि जुलाई ३ (असार १६–१९)सम्म स्पेनको सेभिलमा हुने चौथो संयुक्त राष्ट्र संघीय विकासका लागि वित्तीय सहयोग सम्मेलन ‘द फोर्थ इन्टरनेसनल कन्फरेन्स अन फिनान्सिङ फर डेभलपमेन्ट’ (एसएफडी–फोर) मा सहभागी हुनेछन् ।
यो उच्चस्तरीय सम्मेलनले विश्वभरका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधि र अन्य सरोकारवालाहरूलाई दिगो विकासका लागि वित्तीय सहकार्यबारे छलफल गर्ने थलो हो । परराष्ट्र मन्त्रालयले यस सम्मेलनका लागि प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको छ ।
सम्मेलनले नयाँ र उदीयमान मुद्दाहरूलाई सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका लक्ष्यहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्न तत्कालका आवश्यकता र अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारको पक्षमा मत जाहेर गर्नेछ ।
‘अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अन्य देशहरूलाई गर्ने सहयोग रकम स्थगित गरेका छन् । त्यसको असर नेपाललाई पनि परेको छ, ट्रम्पको निर्णयका कारण युरोपेली मुलुकले गर्ने सहयोग रकम पनि कटौती हुने पक्काजस्तै छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यो स्थितिमा ‘एसएफडी–फोर’को सम्मेलन नेपालका लागि महत्तवपूर्ण छ । नेपालको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन सम्मेलनमा प्रधानमन्त्री नै सहभागी हुनु नेपालका लागि लाभदायक छ ।’
साथै मन्त्रालयले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणको व्यवस्था मिलाइदिन पनि स्पेन सरकारलाई आग्रह गरेको छ । तर स्पेनले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणका लागि औपचारिक सहमति अझै दिएको छैन । यदि प्रधानमन्त्रीले यूरोपेली देशको द्विपक्षीय भ्रमण गरेमा उनी स्पेनका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् र काठमाडौं र म्याड्रिडबीच केही सम्झौताहरूमा हस्ताक्षर हुनेछन् ।
विकासका लागि वित्तीय सम्मेलनहरू एकमात्र यस्तो अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ सरकार प्रमुख, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, निजी क्षेत्र, नागरिक समाज र संयुक्त राष्ट्र प्रणाली एकै ठाउँमा भेला भएर दिगो विकासका लागि सहकार्यबारे छलफल गर्छन् ।
प्रधानमन्त्री ओली युरोपेली मुलुक स्पेन र भारतको भ्रमणसँगै मध्य–एसियाली मुलुक तुर्कमेनिस्तान पनि जानेछन् ।
२०–२३ साउन (५–८ अगस्ट) मा तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रको तेस्रो सम्मेलन हुँदै छ । यो निकाय पनि संयुक्त राष्ट्रसंघ अन्तर्गतकै हो ।
तुर्कमेनिस्तान पनि भूपरिवेष्ठित र विकासशील मुलुक भएकाले संयुक्त राष्ट्र संघको छातामुनि हुने यस्ता सम्मेलनलाई नेपालले प्राथमिकता दिँदै आएको छ । यही कारणले पनि यो सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने परराष्टका अधिकारीहरू बताउँछन् ।
‘प्रधानमन्त्री तुर्कमेनिस्तान जाने–नजाने टुङ्गो मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि लाग्ला,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर अहिलेसम्म प्रधानमन्त्रीस्तरकै प्रतिनिधित्व हुन्छ भन्ने आधारमा तयारी थालिएको छ ।’