२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

एमालेमा थप शक्तिशाली ओली

ADV
दिवाकर अधिकारी
२०८१ असार २७ गते ०६:५५
एमालेमा थप शक्तिशाली ओली

काठमाडौं : राजनीतिमा नाटकीय उथलपुथल नआए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही असार २८ गतेपछि प्रधानमन्त्री बन्नेछन् । कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री पाउने भएपछि एमाले अध्यक्ष ओली सरकार सञ्चालनको तयारीमा जुटिसकेका छन् । 

ओलीले बुधबार एमालेको सचिवालय बैठक राखे । उक्त बैठकले एमालेमा एक व्यक्ति एक पद लागू गर्ने निर्णय गरेको छ । तर, यो निर्णय एमाले अध्यक्ष ओलीको हकमा भने लागू हुने छैन । 

दोहोरो जिम्मेवारी नदिइने मापदण्ड अध्यक्ष ओलीको हकमा लागू नहुने गरी एमाले सचिवालयले अन्य नेताहरुको हकमा दोहोरो जिम्मेवारी नदिइने मापदण्ड बनाएको हो । नेताहरूका अनुसार दोहोरो जिम्मेवारी नदिने एमालेको प्रचलनकै विषय हो । विगतमा पनि एमालेले यस्तो अभ्यास गर्ने गरेको छ । तर, पुर्णतः लागू भएको पाईँदैन् ।

अब सरकारको नेतृत्वमा जाने भएपछि मन्त्री छनोट लगायतका विषयलाई व्यवस्थापन गर्न एमालेले दोहोरो जिम्मेवारी नदिने नीति लिएको हो । यसका लागि एमालेले पार्टीमा रहेका नेताहरुको भूगोलको जिम्मेवारीमा समेत केही हेरफेर गरेको छ । 

विभाग प्रमुख, उपप्रमुख, प्रदेश, जनसंगठन, भूगोलको इन्चार्ज फेर्न लागिएको छ । ताकि सरकारमा रहँदा जनतासँगको सम्बन्ध नटुटोस् र नेताहरुले पनि जिम्मेवारी पाएको महसुस गर्न सकुन् । 

अध्यक्ष ओलीसँग भने तेहोरो जिम्मेवारी हुनेछ । उनी पार्टी अध्यक्ष, संसदीय दलका नेताका साथ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् । 

प्रधानमन्त्री भएपछि मन्त्री छनोटको अधिकार पनि ओलीमै रहनेछ । यसको संकेत गर्दै सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर चर्चा भएपनि अहिले कुनै निर्णय नहुने बताए ।

कांग्रेस र एमालेको समझदारी अनुसार प्रचण्डले विश्वासको मत लिन असफल भएपछि ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन् । त्यसक्रममा पहिलो पटक ओली प्रधानमन्त्री बन्नेछन् । 

‘कांग्रेस एमाले समीकरणमा एकपछि अर्को पार्टीले समर्थन गर्दैछन्’ बैठकमा अध्यक्ष ओलीले भने, ‘कति दल सरकारमा सहभागी हुन्छन् भन्ने कुनै ठेगान छैन । त्यसैले अहिले नै कति मन्त्रालय कसले लिने र कुन मन्त्रालय कसले पाउने भनेर टुंग्याउन सक्ने कुरा भएन ।’ 

एमालेमा अध्यक्ष ओली नेतृत्वमा आएदेखि नै शक्तिशाली रहँदै आएका छन् । पार्टीले सरकारको नेतृत्व गर्ने बेला अन्य नेताहरूको दोहोरो जिम्मेवारी खोसिँदा ओलीको भने थपिँदैछ । पार्टी र सरकार सञ्चालनको अधिकार आफैँसँग राखेर ओली सुपर पावर अभ्यास गर्न खोज्दैछन् ।

यसका लागि उनले सरकारमा पनि बढी भन्दा बढी दल सहभागी गराउने प्रयास जारी राखेका छन् ।

बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले अघिल्लो सचिवालय बैठकबाट आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारका लागि सबै दललाई अपिल गरेको भन्दै दलहरूले समर्थन गर्ने क्रम जारी रहेको बताए । 

‘दलहरूले समर्थन गर्ने क्रम पनि जारी छ, असार २८ पछिको सिनारियो हेरेर त्यसपछि बैठक बसेर यी कुराहरुमा छलफल गरौला’ ओलीको भनाइ थियो । 

नेताहरूका अनुसार एमालेबाट ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा उपाध्यक्ष विष्णु पौडेल जाने सम्भावना छ । 

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पौडेललाई अध्यक्ष ओलीले भौतिक मन्त्रालयको नेतृत्व गर्दै सरकारमा जान भनेका थिए । तर, त्यसवेला पौडेलले आफू पार्टीकै काम गर्न इच्छुक रहेको बताएर सरकारमा गएका थिएनन् । 

ओली यसपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई दोहोर्‍याउने पक्षमा छैनन् । त्यसैले पौडेलसहित उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ र सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेल लगायतले मन्त्री बन्ने अवसर पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise