२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

पत्रकारमाथि आक्रमण गर्ने मेयरलाई कारबाहीको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ जेठ ३० गते २१:०१
Shares
पत्रकारमाथि आक्रमण गर्ने मेयरलाई कारबाहीको माग

रौतहट : प्रेस चौतारी नेपाल रौतहट शाखाले कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाललाई तत्काल कारबाही गर्न माग गरेको छ । रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीले एक विज्ञप्ति जारी गर्दै मेयर जयसवालले पत्रकार सागर संगम ठाकुरमाथि त्रिशक्ति बोर्डिङ स्कुलमा बोलाएर कुटपिट गरेको भन्दै कारबाहीको माग गरेका हुन् । 

ncell

पत्रकार ठाकुरले कटहरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विषयमा फेसबुकमा कमेन्ट गरेका थिए, जसका कारण मेयर जयसवालले ठाकुर र अर्का पत्रकार रविन्द्र प्रजापतिलाई स्कुलमा बोलाएका थिए । त्यहाँ मेयरसँग आएका अन्य व्यक्तिहरूसँग मिलेर ठाकुरमाथि आक्रमण गरिएको थिए । कुटपिटका कारण पत्रकार ठाकुर गम्भीर घाइते भएका छन् र उनी अहिले गरुडास्थित एक निजी अस्पतालमा उपचार गराइरहेका छन् । 

पत्रकार रविन्द्र प्रजापतिले भने, ‘कुटपिट मात्रै नभइ मेयरले हामीमाथि जथाभावी अपशब्द बोले । यसको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।’

अध्यक्ष पहाडीले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो अमानवीय आक्रमण प्रेस स्वतन्त्रता माथिको ठूलो हमला हो । प्रेस चौतारी रौतहट यसको घोर विरोध गर्दछ र मेयर जयसवाललाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दछ ।’

प्रेस चौतारीले यसअघि मेयर जयसवालको चिनी मिलमा उखुको तौलमा ठगी गरिएको विषयमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि पनि मेयरले हातपात गरेको घटनामा दुःख व्यक्त गरेको छ । त्यस्तै, सो घटनामा जिल्ला अदालत रौतहटले मेयरलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको भएपनि प्रहरीले अहिलेसम्म पक्राउ नगरेको प्रेस चौतारीले जनाएको छ । 

सम्बन्धित खबर