रौतहट : जिल्लाको दुर्गा भगवती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साहविरुद्ध जिल्ला अदालत गौरले पक्राउ पूर्जी जारी गरेको छ । जग्गासम्बन्धी ठगी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाको निवेदनपछि अदालतले पूर्जी जारी गरेको हो ।
प्रहरीका अनुसार साहसहित तीन जनामाथि १ करोड ४३ लाख ५० हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप लागेको छ । पीडित सन्तोष कुमार चौधरीले काठमाडौंको नागार्जुन नगरपालिका ४ निवासी विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाही जिल्लाको हरिपुर ७ मा रहेको जग्गा खरिद गर्ने सम्झौता गरेका थिए ।
सम्झौता अनुसार चौधरीले नगद तथा चेकमार्फत किस्ताबन्दीमा उक्त रकम बुझाएका थिए । पूर्व अध्यक्ष साहले १० लाख रुपैयाँ लिएर चौधरीको नाममा जग्गा पास गराइदिने आश्वासन दिएका थिए ।
चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको बैंक खाताबाट २०८१ साल भदौ १९ गते अरुण साहलाई चेकमार्फत भुक्तानी गरेका थिए । तर, लगातारको आलटाल र असहयोगका कारण आफू ठगीमा परेको भन्दै उनले गत जेठ १३ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गरेका थिए ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार मुख्य अभियुक्तहरूसहित पूर्व अध्यक्ष साह विरुद्ध पनि ठगी अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्ला अदालत गौरबाट पक्राउ पूर्जी जारी भइसकेको डिएसपी कार्कीले जानकारी दिए । प्रहरीले तीनै अभियुक्तलाई कानूनी प्रक्रियाअनुसार पक्राउ गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ । उक्त प्रकरणमा थप अनुसन्धान जारी छ ।