रौतहट : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरूलाई थप सशक्त र जवाफदेही बनाउने दिशामा मन्त्रालयको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गरुडा नगरपालिकाले आफ्नो १३औं नगरसभाको उद्घाटन गर्दै उनले गरुडाले पछिल्ला वर्षहरूमा देखाएको प्रगति उल्लेखनीय भएको बताए । अझ प्रभावकारी सेवा प्रवाह र नागरिकको जीवनस्तर उकास्नका लागि सबै तहको समन्वय आवश्यक रहेको उनले जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले गरुडा नगरपालिका विकासको नमुना बन्न सफल भएको भन्दै अझ उच्च स्तरीय पूर्वाधार विकास र उत्पादनमुखी कार्यक्रमतर्फ नगरपालिका उन्मुख हुनुपर्ने बताए ।
नगरप्रमुख कन्थमणी प्रसाद कलवारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६९ करोड २६ लाख १७ हजारको बजेट प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिको आधुनिकीकरण, युवाको रोजगारी सिर्जना, वातावरणीय संरक्षण लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ ।
नगरप्रमुख कलवारले सम्बोधन गर्दै भने, ‘गरुडा नगरपालिका जनमुखी सेवा र सुशासनमा आधारित, समावेशी तथा दिगो विकासको अवधारणालाई आत्मसात गर्दै अघि बढिरहेको हो । बजेट निर्माण प्रक्रियामा सहभागितामूलक योजना संकलन गरिएको छ, जसबाट स्थानीय तहमा आवश्यकता अनुसार योजना छनोट गरिएको हो ।’नगरसभामा समावेश गरिएका बजेट र नीति कार्यक्रमहरुका विषयमा विभिन्न वडाबाट आएका जनप्रतिनिधिहरु तथा सरोकारवाला पक्षले आफ्ना धारणा राखेका थिए ।