२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

दैलेखमा प्राकृतिक ग्यास, जस लिने होड सुरु

shivam cement
निमिष झा
२०८२ असार ८ गते ०७:३६
दैलेखमा प्राकृतिक ग्यास, जस लिने होड सुरु

काठमाडौं : दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेपछि शुक्रबार देशैभर यसको चर्चा भयो । आम नागरिकसहित राजनीकि वृत्तमा पनि यो विषयले चर्चा पायो ।

सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताबीच पनि दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यासको विषयले प्रवेश पायो । शीर्ष नेताहरू खुसी पनि बाँडे ।

संक्रमणकालीन न्याय सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास सिंहदरबारमा शुक्रबार बसेको ठूला ३ दल नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका शीर्ष नेताहरूले दैलेखमा ग्यास भण्डार भेटिएपछि खुसी बाँडे । बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा धेरै मात्रामा ग्यास रहेको पाइएकोमा देशकै लागि खुसीको क्षण भएको बताएका थिए ।

‘दैलेखमा ग्यास, पेट्रोलियम पदार्थको खानी भेटिनु खुसीको कुरा हो । यसमा हामी सबैले खुबै साटौँ,’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रधामनन्त्रीले यसको सुरुवात जुन सरकारले सुरु गरे पनि देशभित्र ठूलो खानी पत्ता लाग्नु महत्त्वपूर्ण भएकाले खुसी साट्नु उपयुक्त हुने बताएका थिए । प्रधानमन्त्रीको भनाइप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि समर्थन गर्दै यो खुसीको विषय भएको बताएका थिए । 

यसै वर्ष जेठमा माओवादी केन्द्रले मध्यपहाडी राजमार्गमा राजनीतिक अभियान गरेको थियो । त्यसक्रममा अध्यक्ष ओलीले दैलेखमा रहेको खानी उत्खनन क्षेत्रको अवलोकन गर्दै आफ्नै नेतृत्वको सरकारमा खानी अन्वेषण भएको दाबी गरेका थिए ।
खानी अन्वेषणको काम आफु्नो नेतृत्वको सरकारको पालमा भएको अध्यक्ष प्रचण्डले दाबी गरे जस्तै प्रधानमन्त्री ओलीले यसको जस आफूले लिन खाजेका छन् ।दैलेखमा ठ्ुलो मात्रमा प्राकृतिक ग्यास पत्ता लागेको निश्चित भएपछि प्रचण्ड र ओलीबीच यसको जस लिने होडबाजी सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रवार बिहान फेसबुकमा आफ्नो हात जोडेको तस्बिरसहितको एक पोस्ट सार्वजनिक गरे । तस्बिरको पृष्ठभूमिका दैलेखमा पेट्रोलियम पदार्थको अध्ययन स्थापना गरिएकोे संरचना देखिन्छ । 

तस्बिरको माथि ठुलो अक्षरमा लेखिएको छ–खुसी र मुनि लेखिएको छ– दैलेखमा ११२ अर्ब घन मिटर प्राकृतिक ग्यासको प्रारम्भिक अनुमान । तस्बिरको माथि क्याप्सन लेखिएको छ–‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध–आवाज थरिथरिका थिए । ११२ अर्ब घन मिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो । 

हालसम्म प्राप्त सूचनाअनुसार दैलेखमा चिनियाँ विज्ञ टोलीले गरिरहेको अन्वेषणमा भैरवी गाउँपालिका–१ जलजलेमा ११२ अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको पुष्टि भएको छ । 

अन्वेषण गरिरहेको चिनियाँ टोलीले त्यहाँ ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको अनुमान गरेको छ । यो ग्यास व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सके अर्थतन्त्रलाई ठुलो योगदान पुग्ने जनाइएको छ ।

दैलेखमा ग्यास भेटिएको समाचार आएसँगै प्रधानमन्त्री ओली र एमालेले ले यसको जस लिइरहँदा जस लिने होडबाजीमा माओवादी केन्द्र पनि उत्रेको छ ।

शुक्रवार ग्वार्कोको ओभरपास उद्घाटन गर्ने क्रममा पनि प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम आफूले थालेको दाबी गरे । त्यहाँ ओलीले भने, ‘यो ओभरपास सुरु गरेजस्तै दैलेखको अन्वेषणको सुरुवात पनि मैले नै गरेको हो ।’ 
प्रधानमन्त्री ओलीले नै जस लिन खोजेपछि त्यसको प्रतिकारमा माओवादी केन्द्र उत्रेको छ । माओवादी केन्द्रका सांसद राजन दाहालले शनिबार फेसबुकमार्फत आफ््नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निर्णायक नेतृत्वले दैलेखमा ग्यास अन्वेषण भएको दाबी गरेका छन् । 

‘हजार तर्क हुन सक्छन् तर सत्य एउटै हुन्छ । बा (प्रधानमन्त्री ओली) का अनुयायीहरूले सत्य पढ्न कष्ट गरिदिनु होला’ राजनले लेखेका छन्, ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना ।’ 
सांसद दाहालले ‘नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना माओवादी अध्यक्ष दाहालको दीर्घकालीन रणनीति र सक्रिय पहलका कारण पुनः सुरु भई निष्कर्षतर्फ अघि बढिरहेको’ दाबी गरेका छन् । 

२०७३ सालमा दाहाल प्रधानमन्त्री बनेपछि नेपाल र चीनबिच सरकार–सरकार (जिटुजी) प्रारम्भिक समझदारी सम्पन्न भएको उल्लेख गर्दै सांसद दाहालले लेखेका छन्, ‘जसले दैलेख ग्यास परियोजनालाई राष्ट्रिय प्राथमिकतामा ल्यायो ।’तत्कालीन उद्योग मन्त्री एवं माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले २०७६ मा दैलेखको नाभिस्थानमा अन्वेषणको शिलान्यास गरे पनि उनले जनाएका छन् । 

दाहालले अगाडी बढेका छन्, ‘२०७९–८० मा प्रधानमन्त्रीको तेस्रो कार्यकालमा रहेका दाहालले २०८० जेठ १ गते जलजले स्थित अन्वेषण स्थलको निरीक्षण गरेपछि रोकिएको परियोजनालाई पुनः सक्रिय बनाउने ठोस कदम चाल्नुभयो । निरीक्षणपछि चिनियाँ पक्षसँग उच्चस्तरीय संवाद गर्दै प्राविधिक सहयोग सुनिश्चित गरियो,’ स्टाटसमा उल्लेख छ । एमाले र माओवादीबिचमा जस लिने होड सुरु भइसक्दा दैलेखमा ग्यासको व्यवसायिक उत्खनन गर्न मिल्ने वा नमिल्ने टुंगो लागेको छैन । 

अहिले भएको अन्वेषण अन्तिम प्रतिवेदन आएपछि मात्र टुङ्गो लाग्ने आनी तथा भूगर्भ विभागले जनाएको छ । चीनको जिओलोजिकल सर्भे कम्पनीले २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने जनाएको छ ।

विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा दैलेखमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको हो ।

अब यसको परीक्षण गरेर त्यसको यकिन उत्पादन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि २०७२ चैतमा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यस आधारमा २०७६ असोजबाट झन्डै ६ महिना खानी विभाग र चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो भने २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन्का लागि २ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो । तर कोरोना महामारी, उत्खनन् र अन्वेषणका ठूला उपकरण ल्याउन ढिलाइ, सडक समस्या, जग्गा प्राप्तिलगायत कारण काम ढिलो भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise