२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

रास्काेट नगरपालिकाले ल्यायाे ४७ करोड २२ लाखको बजेट

shivam cement
कमल कुमाल
२०८२ असार ८ गते १२:०५
रास्काेट नगरपालिकाले ल्यायाे ४७ करोड २२ लाखको बजेट

कालीकाेट : कालीकोटको रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार ७ गते सुरु भएको नगर सभाको १६औं अधिवेशनमा नगर प्रमुख धर्मराज शाही (पोषण)ले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले कालीकोट जिल्लाका संस्थापक एवं पूर्वमन्त्री स्वर्गीय धर्मदत्त उपाध्यायको नाममा विद्यालय स्थापना गरेको छ । उपाध्याय सांसद हुँदा वि.सं. २०३४ सालमा उनकै पहलमा कालीकोट जिल्ला बनेको थियो ।

उपाध्याय जन्मिएको रास्कोट नगरपालिका वडा नं. ४ मा धर्मदत्त आधारभूत विद्यालय स्थापना गरिएको जानकारी गराउँदै उक्त विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण कार्य तुरुन्त प्रारम्भ गरिने नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाले स्थानीय रैथाने बालीको खेतीलाई प्रोत्साहन गर्नुका साथै रैथाने खाद्य बस्तुको बजारीकरणमा प्राथमिकता दिएको छ ।

नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँगको सहकार्यमा नेपाल सरकारको अनुदान प्राप्त हुने खाद्य सामग्रीहरुको बिक्री केन्द्र स्थापना गरेको छ । यसबाट रास्कोटबासी र आसपासका स्थानीय तहका नागरिकहरु लाभान्वित हुने नगरापालिकाको अपेक्षा छ । कोदो, फापर, चिनो, कागुनो, गहत, सिमि, ओखर, स्याउ जस्ता स्थानीय रैथाने उत्पादनहरु कृषकबाट सोझै नगरले खरिद गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बिक्री गर्नेछ ।

नगरपालिकाले कृषकबाट सोझै खाद्य उत्पादन खरिद गर्नेगरी स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यवस्तुको बजारको सुनिश्चितता गर्न खोजेको छ । स्थानीय फलफूल, तरकारी, साग खरिदबिक्री गर्न सहजीकरण गर्नका लागि प्रत्येक महिनाको १ गते नगरपालिकाको केन्द्र आरसिपि बजारमा कृषि मेला लाग्नेछ । नगरपालिकाले स्थानीय कुखुरा, कालिज, भैंसी, बाख्रा पालन व्यवसाय र दुग्ध डेरी सञ्चालनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषकहरुलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ । त्यसैगरी नगरपालिकाले शहीद, घाइते, बेपत्ता परिवार, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक राजनीतिक योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरुको स्वास्थ्य बिमा निशुल्क गरिदिने घोषणा गरेको छ ।

नगरपालिकाले एक घर एक धारा कार्यक्रमलाई नगरपालिकाभित्रका सबै घरसम्म विस्तार गरी स्वच्छ खानेपानीयुक्त नगरपालिका घोषणा गर्ने नीति लिएको छ । नगरपालिकाले आगामी वर्ष एक हजार भन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने, कम्तिमा ५० जनालाई उद्यमशिलताका लागि सीप विकास तालिम दिने, भूमि बैंक स्थापना गर्ने, दीर्घरोगका बिरामीहरुलाई मासिक पाँच हजार आर्थिक सहायता प्रदान गर्ने, रास्कोटलाई मिठो ओखर हबका रुपमा बिकास गर्ने, ह्यापी मदर्स कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकामा राष्ट्रिय परिचयपत्र प्रविष्ट गर्ने इकाई स्थापना गर्ने, रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना र सञ्चालनका लागि निर्णायक सार्थक पहल गर्ने जस्ता कुराहरु पनि आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

नगरपालिकाले मेयर हेल्थ कार्यक्रम, बालबालिकासँग मेयर, नागरिक निर्जीवन घर बिमा, शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्रान्ति, विद्यालय नर्सिङ कार्यक्रम, मेयर कप, उपप्रमुख लक्षित वर्ग सशक्तीकरण कार्यक्रम, उपभोक्तासँग उपप्रमुख कार्यक्रम, आपतकालीन बाल संरक्षण कोष, मेयर छात्रवृत्ति कोष जस्ता कार्यक्रमलाई भने निरन्तरता दिएको छ । साथै यस बर्ष छात्रवृत्ति कोषबाट एमबीबीएस अध्ययनरत वडा नं. ८ का विद्यार्थी जनक राज बराललाई पाँच लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको जानकारी नगर सभामार्फत दिइएको छ ।

त्यसैगरी सभामा नगर उपप्रमुख मनिराज बरालले आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड २२ लाख ८२ हजार ५ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल बजेटमध्ये चालुतर्फ ३५ करोड ७ लाख १८ हजार रुपैयाँ र पुँजीगततर्फ १२ करोड १५ लाख ६४ हजार ५ सय ५१ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise