रौतहट : उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ ।
यही असार १० गते हुने भनिएको ९औं बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेश आएसँगै वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन असार १० गरेका लागि आह्वान गरेको नगर अधिवेशन स्थगित भएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले आइतबार यस्तो आदेश दिएको हो । वृन्दावन नगर उपप्रमुख संगीतादेवी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेपछि अदालतले वृन्दावन नगरपालिकाको कार्यालय रौतहटलाई विपक्षी बनाउँदै पालिका कार्यालयको नाममा नगरसभा नगर्न अन्तरिम आदेश दिएको हो ।
नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै यो मुद्दाको पेसी अदालतले यही आउँदो असार १३ गरेका लागि तोकेको हो । नगरसभाको विषयमा छलफल गर्न अदालतले असार १३ गते नगर उपप्रमुख राम र विपक्षी दुवैलाई अदालतमा बोलाइएको हो । असार १३ गते छलफल भइ कुनै निष्कर्ष ननिस्केसम्मका लागि नगरपालिकाद्वारा असार १० गते बोलाइएको नगरसभा नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश दिएको अदालतको पत्रमा उल्लेख छ ।
अदालतले असार १३ गतेसम्मका लागि नगर अधिवेशन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अब वृन्दावन नगरपालिकाले असार १३ गतेसम्म नगर अधिवेशन गर्न नपाउने भएको छ ।
नगर प्रमुख कुर्मीले आफूसँग कुनै राय सल्लाह नै नगरी एकलौटी ढंगले नगरसभा गर्न लागेपछि आफूले अदालत गएर नगरसभा स्थगित गर्न मुद्दा हालेको उपमेयर संगिताले बताइन् ।