२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कोरियन एयरलाइन्सको एकाधिकार तोडियो

ADV
२०८१ असार २८ गते ०६:४०
कोरियन एयरलाइन्सको एकाधिकार तोडियो

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको हवाई टिकटका लागि बोलपत्र आह्वान गरेको छ । विगत केही वर्षदेखि कोरियन एयरलाइन्सले मात्रै ईपीएसमार्फत कोरिया जाने श्रमिकलाई लैजाँदै आएको छ ।

मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले बिहीबार काठमाडौंदेखि कोरियाको सिओलसम्मको हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो । एचआरडी कोरियाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरुलाई सम्झौताको दरमा नबढ्ने गरी  खानासहितको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

कोरियन एयरलाइन्ससँगको सम्झौता सकिन लागेपछि ईपीएस शाखाले नयाँ बोलपत्र आह्वान गरेको हो । शाखाले आगामी एक वर्षसम्मका लागि काठमाडौं–सिओलसम्म ईपीएस कामदार लैजान बोलपत्र आह्वान गरेको हो । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ । शाखाले बोलपत्रदाता कम्पनीसँग ३ करोड ८५ रुपैयाँको धरौटी रकम माग गरेको छ । बोलपत्रमा सिधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सिधा उडानलाई प्राथमिकता दिइने उल्लेख छ । 

कोरोना महामारीभन्दा पहिला ईपीएसमार्फत कोरिया जाने नेपाली कामदार ट्रान्जिट भएर पनि कोरिया जान पाउने व्यवस्था थियो । ट्रान्जिट भएर कोरिया जाँदा हवाई टिकटको मूल्य सस्तो थियो । तत्कालीन अवस्थामा भाडादर ५ सय देखि ६ सय ६५ अमेरिकी डलर हवाई भाडा थियो । तर कोभिडको अवधिमा शुरूवातमा नेपालले र पछि कोरिया सरकारले विभिन्न शर्त राखेपछि नेपाली कामदार रोकिए । पछि कोरियाले नेपाली कामदार ट्रान्जिट नलिइ सिधा उडानमा आउनुपर्ने शर्त राखेपछि महँगो भएपनि नेपालबाट कोरियन एयरलाइन्समार्फत सिधा उडान भर्नुको विकल्प थिएन । जुन प्रक्रिया हालसम्म पनि चलिरहेको छ । कोरियन एयरलाइन्सले प्रतिव्यक्ति ८ सय ९५ डलर भाडा असुल्दै आएको छ । 

कोरियन एयरलाइन्स एकाधिकार तोड्दै श्रमिकलाई सहज र सस्तो सेवा दिन नयाँ बोलपत्र आह्वान गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले आह्वान गरेको बोलपत्रअनुसार कम मूल्य प्रस्ताव गर्ने एयरलाइन्सले सिधा वा ट्रान्जिट उडानबाट नेपाली लैजाने पाउने छन् । यसले कामदारको हवाई भाडा कम हुने अपेक्षा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise