२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

सुर्मा गाउँपालिकाको बजेट ३६ करोड ५६ लाख, स्थानीय उत्पादन र पर्यटन प्राथमिकतामा

shivam cement
रमेशबहादुर सिंह
२०८२ असार १० गते १६:२४
सुर्मा गाउँपालिकाको बजेट ३६ करोड ५६ लाख, स्थानीय उत्पादन र पर्यटन प्राथमिकतामा

बझाङ : बझाङको सुर्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३६ करोड ५६ लाख ५० हजार ५३१ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको कार्यालय दौलिचोरमा आयोजित १७औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष रमला कुमारी मण्डेल पुजाराले बजेट प्रस्तुत गरेकी हुन् ।

"सुखी सुर्माबासी" नाराका साथ प्रस्तुत गरिएको बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणलाई प्राथमिकता दिएको छ । साथै, पशु विकास, स्वास्थ्य, शिक्षा, पूर्वाधार, उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई समेत नीतिगत प्राथमिकता दिइएको छ ।

बजेटमा ‘एक टोल एक नर्सरी’, ‘एक घर एक करेसाबारी’ जस्ता उत्पादनमुखी र प्रतिफल दिने योजनाहरुलाई समेत समेटिएको छ । "आफ्नो काम, आफ्नो रोजगार–कृषि, निर्माण र पर्यटन हाम्रो आधार" भन्ने नारासहित रोजगारमूलक कार्यक्रमलाई समेत जोड दिइएको उपाध्यक्ष मण्डेलले जानकारी दिइन् ।

यस वर्षको बजेटमा कर प्रणालीलाई सुधार गर्ने र करको दर अभिवृद्धि गर्दै गाउँ विकासमा योगदान पुर्‍याउने नीति लिएको उल्लेख गरिएको छ । बेरोजगार युवालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने कार्यक्रम पनि समावेश गरिएको छ । साथै, सुर्मा ताललगायत पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

१७औं गाउँसभा अधिवेशनमा अध्यक्ष खड्क बोहराको अध्यक्षतामा १६ पृष्ठ लामो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । सभामा तीन वटा विधेयक पारित गरिनुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी जयकरण बोहरा, दानबहादुर जेठारा र हरिचन्द्र बोहरालाई सम्मान गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष बोहराले विगतमा पारिवारिक कारणले गाउँमै समय दिन नसकेको स्वीकार गर्दै अब भने पूर्णरूपमा पालिकाको कामकाजमा सक्रिय रहने प्रतिबद्धता जनाए । उनले कर्मचारी तथा जनप्रतिनिधिलाई जनताको सेवा छिटोछरितो र इमान्दारीपूर्वक गर्न निर्देशन दिए । साथै, करारमा नियुक्त शिक्षक तथा कर्मचारीले पालिकाको आलोचना गर्ने हो भने राजीनामा दिन आग्रह गर्दै विकासको बजेटभन्दा बढी भार तलबमा जान नहुने स्पष्ट पारे ।

गाउँसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी जोशी, पाँच वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, बुद्धिजीवी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise