२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

जागिरको लोभमा भारतमा फस्दै नेपाली, एक सातामा ५७ जनाको उद्धार

shivam cement
जानकी पाठक
२०८२ असार १२ गते ०६:२५
जागिरको लोभमा भारतमा फस्दै नेपाली, एक सातामा ५७ जनाको उद्धार

काठमाडौं : आकर्षक रोजगारीको लोभमा परेर भारतमा बन्धक बनाइएका र ठगिएका ५७ नेपालीको उद्धार गरी नेपाल ल्याइएको छ ।

यसअघि बिहीबार बन्धक बनाइएका ३५ जना नेपालीहरूको उत्तराखण्डबाट उद्धार गरिएको थियो । उनीहरूलाई उत्तराखण्ड राज्यको काशीपुर भन्ने स्थानबाट उद्धार गरिएको थियो ।

भारतको उत्तराखण्डको विभिन्न ठाउँमा बन्धक बनाइएका उनीहरूलाई उद्धार गरेर  बुधबार पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश ल्याइएको हो । उद्धार गरिएकाहरू १६ देखि ४१ वर्षसम्मका छन् । त्यस्ता गिरोहहरूले धेरै लेखपढ नभएका व्यक्तिहरूलाई लक्षित गरेका छन् । उनीहरू निरक्षर तथा सात÷आठ कक्षासम्म मात्र पढाइ गरेका छन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रूपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो । 

उद्धार गरी स्वदेश ल्याइएका नेपालीहरूलाई सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकले स्वागत गरे । उद्धार गरिएका ५७ युवाहरूमा सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका छन् । उनीहरूलाई बुधबार महेन्द्रनगरमै बस्ने प्रबन्ध गरिएको छ । बिहीबार उनीहरूलाई गन्तव्यमा पठाइने छ ।

उद्धार हुनेमा चितवनका १०, कैलालीका ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम र उदयपुरका ४-४, दाङ, स्याङ्जा र बाँकेका ३-३, डोटी, ताप्लेजुङ र धादिङका २-२, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १-१ गरी ५७ जना बन्धकलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइएको हो । 

प्रलोभनमा पर्छन् नेपाली

आकर्षक रोजगारीको प्रलोभनमा पर्दा नेपालीहरू बन्धकमा पर्ने गरेका छन् । भारतमा संगठित गिरोहहरू आकर्षक रोजगारीमा फसाएर नेपालीहरूलाई बन्धक बनाएरअ मानवीय दुव्र्यवहार गरिएको पाइएको छ ।

ती गिरोहले नेपालीलाई बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृत्ति देखा परेको छ ।

प्रहरीसहितका भारतीय निकायहरूको सहयोगमा नेपालीहरू बन्धकमा परेको थप पत्ता लागेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उद्धार गरिएका एक पीडितका अनुसा उत्तराखण्डकै रुद्रपुरमा थप नेपालीहरू बन्धक अवस्थामा छन् । उद्धार अभियानमा ’किन इन्डिया’ नामक गैह्रसरकारी संस्थाले सघाइरहेको छ । ‘किन इन्डिया’ भारतमा मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था हो ।

मानव बेचबिखन रोकथामको क्षेत्रमा काम गर्दै आएका जानकारहरूले आकर्षक रोजगारीका नाममा बन्धक बनाइ ठगी गर्ने नयाँ प्रवृत्ति देखा परेको जनाएका छन् ।

‘किन इन्डिया’का निर्देशक नवीन जोशीले पीडितहरूले दिएको सूचनालाई आधार बनाएर थप नेपालीको खोजीमा आफूहरू उत्तराखण्डको रुद्रपुर पुगेको बताएका छन् । उत्तराखण्डको काशीपुरमा सक्रिय गिरोहले नेपालीहरूलाई दबावमा पारी र धम्की दिएर रकम असुल्ने गरेको पाइएको छ निर्देशन जोशीले बताए ।

ती गिरोहले सहर नजिकैका एकान्त स्थानमा घर नै भाडामा लिएर नेपालीहरूलाई बन्धक बनाउँदै आएका हुन् । जोशीले भने, ‘त्यस्ता गिरोहका सञ्चालकहरू निकै चलाख देखिन्छन् । यसबारे चासो पैदा भएसँगै उनीहरूले पीडितहरूलाई एक ठाउँबाट अर्को ठाउँ सार्ने गरेको देखिएको छ ।’

बन्धक बनाइएका ताप्लेजुङ एक नेपालीले आफ्नो साथीको मृत्यु भएपछि उद्धारको अनुरोध स्थानीय प्रशासन कार्यालयको सम्पर्कमा पुगेको र शवको उद्धारका निम्ति किन इण्डियालाई अनुरोध गरेपछि त्यस्तो ‘स्क्याम’बारे पर्दाफास भएको हो ।

नेपालीहरूबाट रकम असुल्नेहरूले ‘चेन व्यवसाय’को जस्तो शैली अपनाएको देखिएको छ ।

ती गिरोहले सुरुमा आकर्षक रोजगारीको प्रलोभन दिएर नेपालीलाई बोलाउँछन् । बोलाएको स्थानमा पुगिसकेपछि ब्याङक खाता, आधार कार्ड तथा तालिम आदिका नाममाा ५०–६० हजार लाग्ने भन्दै रकम असुल्छन् ।

उनीहरूको सम्पर्कमा आएका नेपालीलाई दबावमा पारेर आफ्नो चिनजानका व्यक्तिहरूलाई बोलाउन लगाउँछन् । यसरी एउटा ‘चेन’जस्तो शैली विकास भएको अधिकारीहरू बताउँछन् ।

उद्धार गरिएका एक पीडितले भने, ‘एक साथीले बिलिङ तथा प्याकिङको काम भएको र आफूले राम्रो कमाइ गरिरहेको भन्दै बोलायो । उसले तालिम तथा कागजपत्र आदि बनाउन सुरुमा नेपाली ४० हजार रुपैयाँ खर्च हुने र त्यसपछि महिनाको ३० हजार भारुसम्म कमाइ हुने बताएपछि यहाँ आइपुगेको हुँ ।’ यहाँ आएकै पर्सीपल्ट आफू ठगिएको र उच्च निगरानी राखिएको पनि उनले बताएका छन् । उनका अनुसार त्यस्ता केन्द्र सञ्चालन गर्ने मानिसहरूले फोन तथा मेसेजको समेत निगरानी राख्ने गरेका छन् ।

उनले सुरुमा लगिएको ठाउँमा ४-५ सय नेपालीहरू पनि रहेको जनाए । नेपालीहरूलाई उद्धार गर्ने क्रममा त्यस्ता गिरोहहरूको पर्दाफास भएको केही पक्राउ पनि परेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise