वीरगन्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले र कांग्रेसबीचको सात बुँदे सहमतिको आधारमा बनेको सरकारले जनतामा उत्साह जगाउने कुनै प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाए ।
सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनताले अनुभव गर्नसक्ने ठोस परिणाम नआएकोले कांग्रेसको छवि जनतामाझ कमजोर बन्दै गएको उनको भनाइ छ ।
‘कांग्रेस अहिले जनताबीच बदनाम हुँदैछ, यसले पार्टीलाई अझ कमजोर बनाउँदै लगेको छ,’ महरले भने ।
संघ, प्रदेश, र स्थानीय तहमा कांग्रेस सबैभन्दा ठूलो दल भए पनि सरकारभित्र एमालेको हालीमुहाली मात्र देखिएको उनले गुनासो गरे । उनले कांग्रेस नेतृत्वमाथि आन्तरिक आलोचना गर्दै १५औं महाधिवेशन तोकिएको समयमा हुनसक्ने सम्भावना कमजोर बन्दै गएको बताए ।
‘महाधिवेशन समयमा गर्न नेताहरू गम्भीर देखिँदैनन्, अब देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने समय आएको छ,’उनले जोड दिए ।
फरक प्रसंगमा बोल्दै महरले संघीय सरकारले मधेस प्रदेशसँग फेरि पनि विभेद गरेको आरोप लगाए । उनले मधेश प्रदेशलाई राजस्व संकलन तथा रेमिट्यान्स भित्र्याउने अग्रणी क्षेत्रका रूपमा चिनाउँदै पनि बजेटमा अपेक्षित प्राथमिकता नदिएको बताए ।
‘देशलाई सबैभन्दा धेरै राजस्व र रेमिट्यान्स दिने मधेस प्रदेश हो, तर बजेटमा त्यसअनुसारको सम्मान र सुविधा छैन,’महरले भने ।
राजनीतिक दलहरूमा इमान्दार र चरित्रवान नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै उनले कांग्रेसभित्रैबाट शुद्धीकरण अभियान सुरू गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले वर्तमान बजेटलाई ‘ब्रहमलुट’को मानसिकताबाट प्रेरित भएको आरोप लगाउँदै केन्द्रदेखि स्थानीय तहसम्म ल्याइएका योजनाहरू जनमुखी नभई स्वार्थ प्रेरित रहेको टिप्पणी गरे । देशमै रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेश फर्काउने वातावरण बनाउन सरकारलाई आह्वान गर्दै महरले जनशक्ति र समृद्धिको आधारभूत सवालमा गम्भीर हुनुपर्ने धारणा राखे ।
कार्यक्रम नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी लगायतको उपस्थिति रहेको थियो ।