काठमाडौं : भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई दोषी ठहर गरेको विशेष अदालतले सोमबार सजाय निर्धारण गरेको छ ।
सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो ।
अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ । कुल १३ करोड १२ लाख ७३ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर भएका बस्नेतलाई ३ वर्ष कैद र बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिबाना हुने फैसला भएको छ ।
बस्नेतले पद्मा कोलोनी र माउन्टेन टेलिभिजनका समेत सञ्चालक रहेका पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुुस २०८१ मा दायर गरेको थियो ।
यस्तै बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसला समेत अदालतले गरेको छ ।
त्यस मुद्दामा बस्नेतसहित कँडेल पनि दोषी ठहर भएका थिए । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ ।
बस्नेतले नगरपालिका जस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप ३ महिना कैद सजाय गर्ने निर्णय पनि अदालतले गरेको छ ।
यस्तै सम्पत्ति शुद्धीकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धिकरण गरेको देखिँदा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ बमोजिम ३ वर्ष कैद सजाय हुने, बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना हुनेसँगै सम्पत्ति जग्गासमेत जफत हुने फैसला गरेको छ ।
यस्तै प्रमुख बस्नेतलाई सम्पत्ती शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने भएको छ । जसमा कैदतर्फ ३ महिना १८ दिन र जरिवानातर्फ २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ ।
पत्रकार पाठकविरुद्ध साइबर अपराधको मुद्दा
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
मुद्दा सोमबार दर्ता भएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताए ।
सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ । सरकारी वकिलको कार्यलयले पाठकलाई फरार सूचीमा समेत राखेको छ ।
२८ जेठमा पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । ‘टफ टक’ नामक युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरका तर्फबाट उजुरी परेपछि साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । ५ असारमा उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो ।