२०८१ चैत ४ गते सोमवार / Mar 17 , 2025 , Monday
२०८१ चैत ४ गते सोमवार
Ads

इजरायलका लागि आवेदन दिने अवधि थप

draupadi film
२०८१ असार २९ गते ०६:४५
इजरायलका लागि आवेदन दिने अवधि थप

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदारका लागि आवेदन दिने अवधि थप गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी साउन ११ गतेसम्म आवेदन दिन सकिने बताएको छ । यसअघि विभागले साउन १ गतेसम्म आवेदन गरिसक्नुपर्ने बताएको थियो ।

विभागले आवेदन दिन अंग्रेजी भाषा परीक्षाको जाँच दिइसकेपछि परिणाम प्राप्त गर्न समय लाग्ने भएको र नेपालस्थित ब्रिटिश काउन्सिलबाट लिइने फाउन्डेसन इङ्लिस टेष्टका लागि साउन १ गतेभित्र नाम रजिस्ट्रेशन गराइसकेकाले मात्रै आवेदन गर्न सक्ने पनि बताएको छ ।

विभागले नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलबाट ८ सय नेपाली कामदारको डिमाण्ड आएको भन्दै आवेदन माग गरेको हो । इजरायलले माग गरेको ८ सय जना कामदारमध्ये ५ सय मुख्य उम्मेदवार हुनेछन् भने बाँकी ३ सयलाई वैकल्पिकमा राखिने छ । ८ सयमध्ये ६० प्रतिशत अर्थात ४ सय ८० महिला र ४० प्रतिशत अर्थात ३ सय २० जना पुरूष छनोट हुनेछन् । इजरायलमा नेपाली केयरगिभरको तलब २ लाख १० हजार रुपैयाँ छ भने करार अवधि १ वर्षको भए पनि अवधि थपेर ५ वर्षसम्म इजरायल बस्न पाइने अवस्था  छ । 

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाइ भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम गरेका युवायुवतीले आवेदन दिन पाउने छन् । 

यस्तै योग्यता पुगेका आवेदकलाई गोला प्रथाबाट छनोट गरिने विभागले जनाएको छ । कामदारको तलब २ लाख १० हजार मासिक तलब तोकिएको छ । इजरायलमा केयरगिभरको रोजगारीका लागि अन्य योग्यताका अतिरिक्त न्यूनतम १४ महिना अवधि भएको राहदानी चाहिने दूतावासले जनाएको छ । यसअघि गत वर्ष साउनमा प्रकाशित सूचनामा पासपोर्टको उक्त अवधि कम्तीमा ३ वर्ष हुनुपर्ने उल्लेख थियो ।

यसैबीच विभागले इजरायल र जर्मनीको रोजगारीका नाममा ठगी भइरहेको सूचना प्राप्त भएकाले सचेत हुन पनि आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise