२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

नेपाल–दक्षिण कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी नोभेम्बरमा

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते २०:४३
नेपाल–दक्षिण कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी नोभेम्बरमा

काठमाडौं : एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । 

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले यसै वर्षको नोभेम्बरमा सोलमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिइन् ।

‘नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागिएको हो’, अध्यक्ष लामाले भनिन्, ‘यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।’  

वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने छ । 

कम्पनीका प्रवन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालमा पर्यटक बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘दक्षिण कोरिया र नेपालबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध छ, यस कार्यक्रमले दक्षिण कोरियामा नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध थप बलियो हुनेछ’, उनले भने ।

प्रदर्शनीमा नेपालमा उत्पादन भएका सामानहरू राखिनेछ भने दुई देशका व्यवसायीहरूबीच व्यावसायिक साझेदारीको अवसर पनि सृजना गरिनेछ ।

पत्रकार सम्मेलनमै कार्यक्रमका लागि वर्ल्ड पिस युनियन अर्गनाइजेसन, वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यासडर योसेफ काङ र आयोजक कम्पनीका अध्यक्ष लामाबीच सम्झौतासमेत भएको छ ।

वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङले आफू यहाँ विश्व शान्तिका लागि आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा हुने यस कार्यक्रमले दुई देशबीचको सम्बन्ध विकासमा सहयोग गर्ने बताए । ‘यस्तो कार्यक्रम दुई देशबीचको सम्बन्ध विस्तारमा सेतु बन्ने विश्वास छ । हामीले विभिन्न देशमा यसप्रकारका कार्यक्रम गर्दै आएका छौँ’, उनले बताए । कोरियामा नेपाली खाना, संस्कृति र पर्यटन तथा व्यापार विस्तारमा कार्यक्रम माध्यम बन्ने उनले विश्वास व्यक्त गरे ।

त्यसअवसरमा दक्षिण कोरियास्थित चुङवुन विश्वविद्यालय र सोल जाङसिङ विश्वविद्यालयका प्राध्यापक सोङसुक चोले दक्षिण कोरियामा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीका लागि राम्रो गन्तव्य भएको बताए । प्रदर्शनीमा नेपाल र कोरियाका कलाकारबीच सांगीतिक आदानप्रदान, सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना र पहिरनको शोकेसिङ, समूहगत छलफल तथा युनेस्को सम्पदास्थलहरूको प्रवद्र्धनलगायतका गतिविधि समावेश गरिनेछ । कम्पनीले यसअघि जापान, दुबई र चीनमा यसप्रकारका कार्यक्रम आयोजना गरिसकेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise