नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना सभापति शेरबहादुर देउवाले पार्टी राजनीतिबाट अवकाश लिने कुरा सार्वजनिक गर्नुलाई प्रशंसनीय भएको बताएका छन् । केही समय अगाडि सभापति देउवाले चितवनमा आयोजित एक कार्यक्रम मार्फत् राजनीतिबाट अवकाश लिने बेला आएको बताएका थिए । कांग्रेसको विधान बमोजिम दुईपटक भन्दा बढी सभापति बन्न पाइदैन । ७९ वर्षीय सभापति लगातार दुई कार्यकाल सभापति भइसकेका छन् । त्यसैले अहिलेकै विधान बमोजिम देउवाले तेस्रो कार्यकाल सभापति बन्न पाउने छैनन् । यसो हुँदा सक्रिय राजनीतिबाट देउवाले अवकाश लिने निर्णय स्वभाविक हो । तर स्वभाविक निर्णयलाई पनि राष्ट्रिय राजनीतिले चासोका साथ हेरेको पाइन्छ । केन्द्रीय मूख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रशंसा गर्नुले पनि देउवाको निर्णय असामान्य बन्न पुगेको पुष्टि हुन्छ ।
७९ वर्ष पुगेका नेताले पार्टी विधानको बाध्यकारी नियमकै कारण तेस्रोपटक सभापति बन्दिनँ भन्दा पनि प्रशंसा गरिनुले वर्तमान राजनीतिक परिस्थितिको चिनारी दिन्छ । नेताहरुले स्वभाविक प्रक्रिया बमोजिम पद छाड्न नमान्ने रहेछ भन्ने अर्थमा पनि बुझ्न सकिन्छ । अनुमान मात्र होइन, तथ्यहरुले पनि त्यही पुष्टि हुन्छ । कांग्रेसकै जस्तो पार्टी विधानको व्यवस्था एमालेमा पनि छ । लगातार दुईपटक भन्दा बढी अध्यक्ष हुन नपाइने विधानको व्यवस्था भत्काउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली लागेका छन् । देउवा भन्दा पहिले पार्टी अध्यक्ष बनेका ओलीले अझै २०–२५ वर्ष नेतृत्व नछोड्ने सार्वजनिक घोषणा गरिरहेका छन् । ७४ वर्षका ओलीले त्यस्तो भन्नुको अर्थ उनले पार्टीको विधान तोडेर अगाडि बढ्नेछन् ।
अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दशकदेखि माओवादी केन्द्रका अध्यक्ष छन् । आफूलाई चुनौती दिने कसैलाई पनि पार्टीमा बस्न नसक्ने परिस्थिति प्रचण्डले तयार पार्दै आएका छन् । पतञ्जली जग्गा प्रकरणमा तारेख धाइरहेका माधवकुमार नेपालले नेतृत्व छोड्न मानिरहेका छैनन् । मोहनविक्रम सिंह, नारायणमान बिजुक्छेहरू आजीवन अध्यक्ष हुन अग्रसर छन् । कांग्रेसमै पनि सभापति पदमा रहँदै बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरुको निधन भएको थियो । अर्थात् नेताहरुको पदीय मोहले लोकतन्त्र नै बद्नाम छन् । यस्तो बेला देउवाले सार्वजनिक गरेको निर्णयले धेरैलाई उत्साहित बनाएको छ । महामन्त्री शर्माको प्रशंसा स्वभाविक हो । तर यति प्रशंसा पाइसकेका देउवाले आफ्नो निर्णय नबदलुन् ।