लिस्बन : युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ तारिखका दिनदेखि दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली क्लब तथा खेलाडीहरुको सहभागिता रहने आयोजक संस्था धरान फुटबल क्लबले जनाएको छ ।
खेलकुदको माध्यमबाट युरोपका नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका संयोजक अरुण राईले जानकारी दिए ।
प्रतियोगिताका विजेता टोलीले मेडल, प्रमाणपत्र र उपाधिसहित नगद पाँच हजार युरो हात पार्नेछ भने उपविजेताले दुई हजार ५०० युरोसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागततर्फका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।
लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट गरी २० टिमको सहभागिता रहने संयोजक राईले बताए ।