२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिको राजनीतिक पुनरागमन : पासाङलाई सहज, अप्ठ्यारोमा विद्या

shivam cement
जीवन शर्मा
२०८२ साउन ४ गते ०६:३५
पूर्वराष्ट्रपति–उपराष्ट्रपतिको राजनीतिक पुनरागमन : पासाङलाई सहज, अप्ठ्यारोमा विद्या

काठमाडौं : नेपालको राजनीतिमा नयाँ अभ्यासस्वरूप पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति नै पार्टी राजनीतिमा सक्रिय भएपछि विभिन्न कोणबाट बहसहरू भइरहेका छन् । सम्माननीय भइसकेका व्यक्तिहरू फेरि राजनीतिमा फर्कने विषय कानुनीरूपमा बन्देज नभएपनि उनीहरूमाथि नैतिक प्रश्नले भने घेरेको छ । 

विगत ६ महिनाअघि पुरानै दल नेकपा माओवादी केन्द्रको राजनीतिक विरासतमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई माओवादीले जसरी सहजै अवतरण गरायो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका हकमा त्यसको ठिक विपरीत भएको छ । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सक्रिय राजनीतिक यात्रालाई अवरोध गर्न पार्टी शीर्ष नेतृत्वबाटै छेक्ने प्रयास भइरहेको छ । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले राजनीतिमा प्रवेश गर्ने भन्ने विषय गम्भीर भएको टिप्पणी गरेका छन् । उनले पार्टीको पोलिटब्युरो बैठकमा भनेका छन् ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति, सेनाको परमाधिपति भइसकेको, देशको सर्वोच्च पदमा पुगेको, देशको गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने गम्भीर विषय हो । यसलाई पार्टीले उचित समयमा निष्कर्ष निकालेर निर्णय लिन्छ ।’ 

मुलुकको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरूमा फेरि राजनीतिक मोहले उक्त पदको गरिमामाथि समेत प्रश्न उठेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किनु ठिक नहुने बताए । उनले पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन आफ्ना मातृ पार्टीमा पुनः आबद्ध र क्रियाशील हुनु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि नै गम्भीर विषय भएको टिप्पणी गरेका छन् । 

शनिबार एक वक्तव्य जारी गर्दै डा. भट्टराईले भनेका छन्– ‘उहाँहरूमा पुरानै शैलीको एकल दलीय–राज्यको धङ्धङी कायम रहेको हो भने त्यो सही र उपयुक्त हुन्न । झन् ‘जबज’को रक्षाका निम्ति पुरानो पार्टीमा फर्कन लागेको भन्ने पूर्वराष्ट्रपतिको मिडियामा आएको भनाइ सत्य हो भने त त्यो आफैंमा ‘जबज’को स्पिरिटविरोधी कुरा हुन्छ ।’

पूर्वराष्ट्रपतिको पार्टीमा फर्कने निर्णयले एमाले र समग्र कम्युनिष्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय बढाउने उनको दाबी छ । ‘त्यस्तै पूर्वउपराष्ट्रपतिको कदमले माओवादीको रूपान्तरणमा योगदान होइन, नोक्सान गर्न सक्छ’, भट्टराईले भनेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भण्डारीलाई आगामी पार्टी राजनीतिमा सहजरूपमा आउन दिने संकेत देखिएको छैन । उनले भण्डारीको पार्टी सदस्यता नै नवीकरण नभएकाले यस विषयमा पार्टीले चाँडै निर्णय लिने बताएका छन् । तर पार्टीको तथ्यांकअनुसार भण्डारीको सदस्यता १ वर्षअघि नै नवीकरण भइसकेको देखिन्छ । अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेललगायतका नेताहरूलाई पार्टी राजनीतिमा भण्डारीलाई सहजै स्वीकार गरे आगामी नेतृत्वमा ओलीलाई रोक्ने त्रासले पिरोलेको छ ।

पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको नेतृत्व फेरि पनि ओलीले नै लिनुपर्ने बताए । भण्डारीको सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीबाटै निर्णय हुनुपर्ने भन्दै उनले भने, ‘हाल अध्यक्षको विकल्प तयार नभएकाले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्छ ।’ भण्डारीलाई विकल्पका रूपमा उचाल्ने प्रयास भएको भन्दै बस्नेतले असन्तुष्टि जनाएका छन् । 

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई बैठकमा सकारात्मकरूपमा नलिएको प्रष्ट पारेका छन् । उनको सदस्यता नवीकरण भन्दा पनि नयाँ सदस्यताको प्रक्रियाबाट आउनुपर्ने विधानले नै ध्यानाकर्षण गराएको जिकिर गरेका छन् ।

तर स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने पार्टीमा निर्विकल्प भन्ने नहुने बताए । उनले पार्टी अध्यक्ष ओलीसहित केही नेताहरूको पार्टी कब्जा गर्ने नीतिप्रति फरक मत राखेका छन् ।  ‘पार्टी नेतृत्वमा निर्विकल्प भन्ने हुँदैन’, उनले भने ‘पार्टीमा विधि र विधानअनुसार विकल्पहरू हुन्छन् । तर कुनै व्यक्तिलाई रोक्ने नाममा विधि विधान मिच्ने काम कोहीबाट हुनुहुँदैन ।’ 

तर भण्डारी राष्ट्रपति बन्दा उनीसँगै उपराष्ट्रपति बनेका पासाङका हकमा माओवादीले स्वागत गरेको छ । माओवादीको जनमुक्ति सेनाका पूर्वकमाण्डरसमेत रहेका पूर्वउपराष्ट्रपति पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनाअनुसार नै पार्टी राजनीतिमा फर्काइएको माओवादी नेताहरूले बताएका छन् । उनलाई गत माघमै पार्टी केन्द्रीय समितिबाट निर्णय गरेर उत्पादन क्षेत्र हेर्ने संयन्त्रको जिम्मेवारी दिइएको माओवादी केन्द्रका सचिव राम कार्कीले जानकारी दिए ।

राज्यको सर्वोच्च पदमा आसिन व्यक्तिहरू राजनीतिमा फर्कनु सामान्यतया नमिल्दोजस्तो देखिएपनि पार्टीले स्वीकार गरेर ल्याइसकेपछि फरक मत राख्नुपर्ने विषय नरहेको उनको भनाइ छ । ‘पूर्वविशिष्टहरू राजनीतिमा फर्कनु ठिक कि बेठिक भन्ने बहस चलिरहेपनि पार्टीले निर्णय गरेर जिम्मेवारी नै दिइसकेपछि त्यो बहसको अर्थ रहँदैन,’ कार्कीले मध्यान्हसँग भने ।

पूर्वराष्ट्रपति भण्डारी पूर्वउपराष्ट्रपति पुनभन्दा अघि नै राजनीतिक सक्रियताका लागि तयार भएकी थिइन् । यद्यपि पार्टीका देशभरका नेता कार्यकर्ताहरूसँगको भेटघाट र सल्लाहअनुसार निर्णय लिँदा पछि परेको भण्डारी निकटका नेताहरूले बताएका छन् । 

‘माओवादीमा चाहिँ सक्रिय राजनीति गर्न पाउने र एमालेमा नपाउने भन्ने हुँदैन’, एमालेका एक नेताले मध्यान्हसँग भने, ‘यो समय सवाल–जवाफ गर्ने होइन । राष्ट्रपति या उपराष्ट्रपति भएका मानिस फेरि राजनीतिमा सक्रिय हुन सक्छन् र पार्टीको कमाण्डसमेत हाँक्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न सकिन्छ ।’

संविधानतः राष्ट्रपति र उपराष्ट्रपति भएका मानिसले राजनीति गर्न पाइँदैन भन्ने बाध्यात्मक अवस्था नरहे पनि यो नैतिक मूल्य र मान्यतामा आधारित प्रश्न हुने कतिपयको टिप्पणी छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले भने, ‘संविधानतः राष्ट्रपति र उपराष्ट्रपति भएका मानिसले राजनीति गर्न पाइँदैन भन्ने बाध्यात्मक अवस्था छैन । तर मुलुककै सबैभन्दा उच्च पदमा बसिसकेका मानिसहरूमा नैतिक मूल्य मान्यताको प्रश्न उठ्नु स्वभाविक छ ।’

यही नजीरका आधारमा अन्य पूर्वपदाधिकारीले पनि राजनीतिमा सक्रिय हुने र लाभ लिन सक्ने बाटो अपनाउनसक्ने मार्गप्रशस्त हुने उनको तर्क छ ।  नेपाली कांग्रेसबाट पहिलो राष्ट्रपति निर्वाचित डा. रामवरण यादव र उपेन्द्र यादवको तत्कालीन मधेशी जनाधिकार फोरमबाट उपराष्ट्रपति बनेका परमानन्द झा पनि राजनीतिमा प्रवेश गर्न सक्ने आधार भएपनि उनीहरूमा नैतिक मूल्य मान्यता देखिएको विश्लेषकहरू बताउँछन् ।

भण्डारीको सदस्यता स्थगन

नेकपा एमालेको पोलिटब्युरो बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले निर्णयहरू सार्वजनिक गरेका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङ (स्थगित) अवस्थामा रहेको बताए ।

भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने भन्दै उनले भने, ‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ ।’ 

भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको गैतमले बताए । ‘विभिन्न कोणबाट छलफल भएको छ । निष्कर्षमा पुगेको छैन । स्वेच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुनः आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुनः आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise