२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

विश्वविद्यालय कसरी सुधार्ने ?

shivam cement
२०८२ साउन ५ गते ०६:००
विश्वविद्यालय कसरी सुधार्ने ?

–रूपा अर्याल

नेपालका विश्वविद्यालयहरू दशकौँदेखि विभिन्न समस्याको घेरामा छन् । शैक्षिक गुणस्तर, समयमै परीक्षा तथा नतिजा, राजनीतिक हस्तक्षेप, अनुसन्धानको कमी, भौतिक पूर्वाधारको जर्जर अवस्था, शिक्षक र विद्यार्थीबिचको दूरी र पाठ्यक्रमको सान्दर्भिकता जस्ता समस्याहरु सुल्झिएका छैनन् । यस्तो अवस्थामा विश्वविद्यालय सुधार गर्नु भनेको केवल एउटा नीतिगत छलफल मात्र नभई राष्ट्रिय समृद्धिको दिशातर्फ अघि बढ्ने महत्वपूर्ण पाइला हो । सुधारको प्रक्रिया बहुआयामिक र चरणबद्ध हुनुपर्छ, जसले शिक्षण, अनुसन्धान, प्रशासन, नीति, संरचना र संस्कृतिलाई समेट्न सकोस् ।

विश्वविद्यालय सुधारको मूल कुरा शैक्षिक गुणस्तरको वृद्धिमा केन्द्रित हुनुपर्छ । शिक्षकहरूको छनोट प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता आधारित हुन आवश्यक छ । आजको दिनमा धेरै विश्वविद्यालयमा शिक्षक नियुक्ति राजनीतिक पहुँच वा आन्तरिक सिफारिसका आधारमा हुने गरेको गुनासो छ, जसले शैक्षिक स्तरमा नकारात्मक असर पार्छ । नियुक्तिपछि पनि निरन्तर प्रशिक्षण, मूल्यांकन र शैक्षिक प्रदर्शनको समीक्षा गरिनु जरुरी छ । एक कुशल शिक्षक मात्र पाठ्यक्रम पढाउने होइन, सोच्न, प्रश्न गर्न र नयाँ सिर्जना गर्न प्रेरणा दिन सक्ने क्षमता राख्नुपर्छ ।

अर्को महत्वपूर्ण पक्ष, अनुसन्धान हो । विश्वविद्यालय शिक्षण मात्र होइन, ज्ञान उत्पादनको केन्द्र पनि हो । तर, हाम्रो विश्वविद्यालय प्रणाली अनुसन्धानभन्दा पाठ्यपुस्तक केन्द्रित शिक्षामा सीमित छ । अनुसन्धानका लागि स्रोत, समय, सहयोग र सम्मानको वातावरण सिर्जना गरिनुपर्छ । सरकार र निजी क्षेत्र मिलेर अनुसन्धानमा लगानी गर्नुपर्ने समय आएको छ । स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरूलाई समाजसापेक्ष, व्यावहारिक र नवीन विषयमा अनुसन्धान गर्न प्रेरित गर्नुपर्छ । अनुसन्धानको नतिजालाई नीतिगत निर्णयमा प्रयोग गर्ने परिपाटी विकास गर्न सकिएमा विश्वविद्यालयको भूमिका सार्थक बन्न सक्छ ।

पाठ्यक्रम सुधार पनि अपरिहार्य पक्ष हो । आजको बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने ज्ञान र सीप दिने पाठ्यक्रम हुनुपर्छ । केवल सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक, प्राविधिक र विश्लेषणात्मक सीप विकास गर्ने पाठ्यक्रमलाई प्राथमिकता दिनु जरुरी छ । विभिन्न संकाय र विषयमा उद्यमशीलता, नेतृत्व, प्रविधि र सामाजिक उत्तरदायित्वजस्ता विषयलाई समावेश गरिनुपर्छ । स्थानीय सन्दर्भलाई ध्यानमा राखेर पाठ्यक्रम निर्माण गर्ने परिपाटी विकास गरिनुपर्छ, जसले विद्यार्थीलाई समाजसँग जोड्न सकोस् ।

विश्वविद्यालयको प्रशासन पनि सुधारको केन्द्रमा हुनुपर्छ । आजको दिनमा धेरै विश्वविद्यालयमा प्रशासनिक प्रक्रियाहरू ढिला, अस्पष्ट र अनुत्तरदायी छन् । सूचना प्रवाह प्रणाली कमजोर छ, विद्यार्थीहरू आफ्ना हक र अवसरबारे जानकारीविहीन छन् । प्रशासनिक निर्णयहरूमा पारदर्शिता, जबाफदेहिता र डिजिटल प्रविधिको प्रयोग बढाउनु जरुरी छ । अनलाइन प्रणालीमार्फत भर्ना, परीक्षा, नतिजा र प्रमाणपत्र वितरण प्रक्रिया सहज, छरितो र विश्वासिलो बनाउन सकिन्छ । विश्वविद्यालय स्वायत्त हुनुपर्ने भए पनि त्यसको नाममा जबाफदेहिता नभएको अवस्थालाई सहन सकिँदैन ।

राजनीतिक हस्तक्षेप विश्वविद्यालयको अर्को गम्भीर समस्या हो । विद्यार्थी संगठन र शिक्षक संगठनहरू राजनीतिक दलका भातृ संस्थाजस्ता बनिरहेका छन् । यसले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावित पार्नुका साथै विश्वविद्यालयको स्वाभिमान र स्वतन्त्रतालाई हानि पुर्‍याउँछ । विश्वविद्यालयलाई राजनीति मुक्त बनाउने प्रयास केवल नीतिगत हैन, सांस्कृतिकरूपमा पनि गर्नुपर्छ । विद्यार्थीको नेतृत्व विकास हुनुपर्छ, तर त्यो पार्टीको चस्माभन्दा माथि उठेर शैक्षिक र सामाजिक सरोकारमा आधारित हुनुपर्छ ।

शैक्षिक पूर्वाधार, पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधिको पहुँच र आत्मनिर्भरता पनि सुधारको महत्वपूर्ण क्षेत्र हो । धेरै क्याम्पसमा अझै पनि आधारभूत पूर्वाधारको अभाव छ । एक डिजिटल युगमा समेत इन्टरनेट सुविधा उपलब्ध छैन, पुस्तकालयहरू अपडेट छैनन् र प्रयोगशालाहरूमा उपकरण छैनन् । यस्तो अवस्थामा विद्यार्थीको सिर्जनात्मक सोचको विकास सम्भव छैन । विश्वविद्यालयमा लगानी खर्च होइन, दीर्घकालीन पुँजी हो भन्ने बुझाइ राज्य र समाज दुवैले राख्न आवश्यक छ ।

विश्वविद्यालय सुधार केवल सरकारी योजना होइन; यो सम्पूर्ण शैक्षिक समुदाय, अभिभावक, निजी क्षेत्र र विद्यार्थीहरूको साझा दायित्व हो । जबसम्म सुधारको भावना भित्रबाट आउँदैन, तबसम्म संरचनागत फेरबदल पनि अलपत्र पर्छ । विश्वविद्यालयले केवल डिग्री दिने संस्था हैन, सोच्ने, सोध्ने र सिर्जना गर्ने थलो बन्न सक्नुपर्छ । त्यसका लागि हाम्रो दृष्टिकोण, प्राथमिकता र नेतृत्व सबैलाई नयाँ सोचसहित अगाडि बढ्न जरुरी छ । सुधार केवल सम्भव हैन, आवश्यक छ—अहिले नै ।

ADV

सम्बन्धित खबर

Advertise