–शंकर मान सिंह
रसुवास्थित ल्हेन्दे खोलामा अकस्मात् चीनतर्फबाट आएको बाढीले नेपाल–चीनबिचको मैत्री पुल मात्रै बगाएन, रसुवाका विभिन्न स्थानहरुमा ठूलो मात्रामा जनधन क्षति गरायो । बाढीसँगै नेपाल–चीन दुईतर्फी आवागमन समेत बन्द भएको छ । नेपाल–चीन सीमा क्षेत्रमा मात्रै क्षति पुर्याएन तल्लो भेगमा पनि ठूलो नोक्सानी पुर्यायो । बाढीले रसुवागढीसहित विभिन्न जल जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा राष्ट्रिय प्रसारण लाइनमै समस्या निम्त्यायो । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रको उत्पादन मात्रै बन्द गराएन चिलिमे जलविद्युत केन्द्र, माथिल्लो त्रिशूली ‘ए’ लगायतमा क्षति पुर्यायो ।
रसुवा चीनतर्फबाट आएको बाढीले क्षति पुर्याउँदा यता मुस्ताङमा पनि त्यही समय बाढीले ठूलो क्षति बनायो । बाढीले ६ वटा पुल मात्रै बगाएन विभिन्न भौतिक संरचनामा पनि क्षति पुर्यायो । सँगै, आवतजावतमा ठूलो बाधा बनायो । लोमान्थाङमा परेको वर्षासँगै भीषण बाढी आएको थियो ।
एकपछि अर्काेगरी बाढीका घटना घटिरहँदा सुरक्षा सावधानीबारे केही चर्चा चलेको छ । हिमाली जिल्लामा अकस्मातरूपमा आएका बाढीको कारणबारे एक तहमा छलफल भएको छ भने अर्काेतर्फ आगामी दिनमा कसरी सचेतता अपनाउने भन्ने चिन्ता पनि चुलिएको छ । जसको निरूपणको लागि व्यापक अनुसन्धान आवश्यक देखिन्छ । उल्लेखित घटनामाथि भूगर्भविद्, हिमनदीविद्, जलमौसमविद् र रिमोट सेन्सिङ विश्लेषकहरू सम्मिलित बहु–अनुसन्धानात्मक टोलीले बाढीको वास्तविक कारण निर्धारण गर्न संयुक्तरूपमा अध्ययन गर्नुपर्छ । साथै, अन्य क्षेत्रमा पनि कसरी सचेतता अपनाउने भन्ने सन्दर्भमा ऊचित नीतिको खाँचो छ ।
वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा गएको वर्ष उपत्यकामा भएको थियो । जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार गत वर्ष २४ घण्टामा ३ सय २३ मिलिमिटरसम्म वर्षा मापन गरिएको थियो । यसलाई ध्यान दिई नेपालले सावधानी अपनाउनु पर्ने देखिन्छ । नेपाल खडेरी र बाढीको उच्च जोखिममा छ । यद्यपि, बाढी प्रभावित जनसंख्याका लागि सुरक्षा योजना छैन । उद्धार र राहतका लागि पनि विशेष कार्यक्रम निर्माण भएको छैन । घटना भइहालेमा कसरी व्यवस्थापन गर्ने भन्ने पनि व्यवस्थित खाका छैन ।
बाढी पहिरोबाट जोगिन गरिनुपर्ने पूर्वतयारीको पहिलो कदम जनचेतना हो । मानिसहरूले बाढी र पहिरो आउन सक्ने संकेतहरू बुझ्न जान्नुपर्छ र आकस्मिक अवस्थामा के गर्ने भन्ने थाहा हुनुपर्छ । समुदायस्तरमा तालिम, अभ्यास र जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । साथै, जोखिमयुक्त क्षेत्रको पहिचान गरी त्यस्ता स्थानहरूमा समयमै सूचना प्रवाहको व्यवस्था मिलाइनुपर्छ । सँगै, सरकारबाट पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन गराउनु पर्छ । मौसम पूर्वानुमान, नदीको सतह नाप्ने प्रविधि तथा संचार माध्यममार्फत सतर्कता सन्देशहरू समयमै सम्प्रेषण हुनु आवश्यक हुन्छ । स्थानीय तहबाट केन्द्रसम्म सहकार्यपूर्ण संयन्त्र खडा गरिनु पूर्वतयारीको भरपर्दो आधार हो ।
पूर्वाधार तथा आपतकालीन सामग्रीको व्यवस्था हो । सुरक्षात्मक पर्खाल, पानीको निकास व्यवस्था, सुरक्षित बसोबासको प्रवन्ध तथा आकस्मिक उद्धारका लागि आवश्यक उपकरण र खाद्यान्नको जोहो गरिनु जरुरी हुन्छ । विद्यालय, सामुदायिक भवन तथा अन्य सार्वजनिक संरचनाहरूलाई अस्थायी सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गर्नुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा, बाढी र पहिरोजस्ता प्रकोपबाट हुने क्षति रोक्न सकिन्छ भने पनि त्यसका लागि समयमै सोच, योजना र कार्यान्वयन हुनुपर्छ । केवल विपद्पछि उद्दार गर्ने विषय मात्र होइन, त्यसअघि नै जोखिम न्यूनीकरण गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्छ । यसका लागि सरकार, स्थानीय तह, नागरिक समाज र जनताबीच सहकार्य अपरिहार्य हुन्छ ।