काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन र रूपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरूको काँधमा रहेको बताएका छन् ।
बुधवार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरूको काँधमा रहेको बताए । चुनौती आए भनेर निराश नहुन उनले आग्रह गरे । उनले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको उल्लेख गरे ।
उनले चुनौती आउँदैमा पलायन नै हुनुपर्ने भन्ने नरहेको बताए । चुनौतीको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने अध्यक्ष नेपालले बताए ।
पार्टीको विरुद्धमा निराशाको प्रचार गर्ने, पार्टीका विरुद्धमा लाग्ने, जथाभाबी बोल्ने, अनुशासन तोड्नेहरुको प्रतिवाद गर्नुपर्ने उनले बताए । उनले पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउन सक्ने बताए ।
अध्यक्ष नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राखे । समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उनले बताए ।
पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गरेको उल्लेख गर्दै उनले आफूले पनि नेकपा एमालेको नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिए । उनले भने, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठिक ढंगले बुझ्नुभएको थियो । तपाईंहरूले पनि ठिक ढंगले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।”