काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा धान खेतमा पानी लगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका-१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोशी नदीमा भेटिएको हो ।
भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, काभ्रेपलाञ्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंकप्रसाद तिमल्सिना आज बिहान स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । तिमल्सिना सवार बा प्र ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नपा-२ स्थित बीस किलो भन्ने स्थानमा बा ६२ प ३५७८ नम्बरको अर्को स्कुटरले ठक्कर दिँदा स्कुटरको पछाडि बस्नुभएका तिमल्सिना गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले धुलिखेल अस्पतालमा शल्यक्रियासहितको उपचार भइरहेको छ ।
तिमल्सिना सवार स्कुटर चालक उनकै छोरा किशोर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । नार्केबाट काठमाडौँतर्फ जाँदै गरेको ठक्कर दिने स्कुटर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ बस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।