
काठमाडौं : भाइटीका भन्नेबित्तिकै दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाइदिएको दृश्य धेरैको आँखामा आउँछ । दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै मनाइने यो पर्व दाजुभाइ नहुने दिदीबहिनीका लागि भने फरक अनुभूतिसँग जोडिएको हुन्छ । बाल्यकालदेखि नै भाइटीकाका दिन खल्लो महसुस गर्नेहरू पनि छन् । तर समयसँगै दिदीबहिनीले नै एकअर्कालाई टीका लगाएर यो दिनलाई विशेष बनाउन थालेका छन् ।
धापासी–६, काठमाडौंकी कल्पना आचार्यका आफ्नै दाजुभाइ छैनन् । तर दाजुभाइ नभएकै कारण उनले भाइटीका मनाउन छाडेकी छैनन् । बरु तीन दिदीबहिनी नै एकअर्कालाई टीका लगाएर पर्व मनाउँदै आएका छन् । भाइटीकाका दिन उनीहरू एकअर्काको निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । मखमली र सयपत्री फूलका माला पहिर्याउँछन्, मिठाई खुवाउँछन् र एकअर्काको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्छन् । उनका लागि यो टीका लगाउने विधि मात्रै होइन, आपसी माया, साथ र सम्बन्धलाई थप बलियो बनाउने अवसर पनि हो ।
दिदीबहिनीबीच टीका लगाउन थालेको करिब १४ वर्ष पुग्न लागेको आचार्य बताउँछिन् । ‘दाजुभाइ नहुनेहरूले दिदीबहिनीबीच पनि भाइटीका लगाउँदा राम्रो लाग्छ,’ आचार्यले भनिन्, ‘भाइटीकाबाट दिदीबहिनीमा परिमार्जन भएको हो, सकारात्मक लिनुपर्छ ।’
१४ वर्षअघि दिदीबहिनीले मात्रै टीका लगाएर फेसबुकमा तस्बिर पोस्ट गर्दा आफन्तबाट सकारात्मक प्रतिक्रिया पाएको उनी सम्झिन्छिन् । ‘त्यो समयमा दिदीबहिनीहरूले टीका लगाउँदैनथे, नाता पर्ने दाइभाइ खोजीखोजी टीका लगाइन्थ्यो । तर हामी दिदीबहिनीले टीका लगाउने निधो गरेर लगायौं,’ उनले भनिन् ।
उनकी क्यानडामा बस्दै आएकी दिदी पनि यसपटक नेपालमै छिन् । त्यसैले धेरैपछि तीन बहिनीले सँगै भाइटीका लगाउँदै छन् । उनी मात्रै होइन, उनका दुई बहिनी छोरीहरूले पनि एकआपसमा टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । ‘दुई बहिनी छोरी छन्, उनीहरू पनि एकआपसमा भाइटीका लगाउँछन् । छोरा वा दाजुभाइ नभएर भाइटीका निरास हुँदैन,’ उनले भनिन् ।
दाजुभाइ हुँदै नहुने दिदीबहिनी मात्रै होइन, अध्ययन तथा रोजगारीका सिलसिलामा बिदेसिएका दाजुभाइ बर्सौंसम्म स्वदेश नफर्किएपछि पनि दिदीबहिनीले एकअर्कालाई टीका लगाएर भाइटीका मनाउन थालेका छन् । तारकेश्वर–७ की शोभा ढुंगानाले दाजुलाई भाइटीका लगाउन नपाएको १८ वर्ष भयो । उनका दाजु अस्ट्रेलियामा छन् । दाजु घरमा नहुँदा हरेक वर्षको भाइटीका खल्लो हुने गथ्र्यो । तर पछिल्लो सात वर्षदेखि ढुंगानाका दिदीबहिनीले एकआपसमा टीका र फूलमाला लगाएर भाइटीका मनाउँदै आएका छन् । ‘दाजु अस्ट्रेलियामा बस्न थालेको धेरै वर्ष भयो, हामीले टीका लगाउन नपाउँदा खल्लो हुन्थ्यो,’ उनले भनिन्, ‘सबैले टीका लगाउँदा नरमाइलो लाग्थ्यो, हामीले पनि लगाउन सुरु गर्यौं ।’
दाजुभाइको मात्रै होइन, दिदीबहिनीको सुरक्षा र समृद्धिको पनि उत्तिकै आवश्यकता रहेको उनी बताउँछिन् । ‘हामी दिदीबहिनीले भाइटीका लगाउँदा परिवारका अन्य आफन्त र समाजले के भन्छन्, त्यो हामीले सुनेका छैनौं,’ उनले भनिन्, ‘दाजुभाइको जत्तिकै दिदीबहिनीको सुरक्षा, दीर्घायु र समृद्धिको आवश्यकता छ ।’
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माका पनि दुई छोरी छन् । कान्छी छोरी चार वर्षकी हुँदा दुवै छोरीले टीका लगाउन भाइ चाहियो भन्ने गरेको निर्मला आज पनि सम्झिन्छिन् । ‘छोरीहरू चार र सात वर्षको हुँदा टीका लगाउनका लागि भाइ चाहियो भन्न थाले,’ निर्मलाले भनिन्, ‘छोराछोरी जे भए पनि दुईवटा बनाउने मात्र योजना थियो । तेस्रो सन्तान नजन्माउने, बरु छोरीहरूलाई नै भाइटीका होइन, तिहारको टीका लगाउन अनुरोध गरेँ ।’
त्यस दिनदेखि दिदीबहिनीले एकअर्कालाई टीका लगाउन थालेको १८ वर्ष पुगिसकेको छ । काम विशेषले देशबाहिर भएको अवस्थामा बाहेक उनीहरूले हरेक वर्ष टीका लगाउँदै आएका छन् । ‘दिदीबहिनी नहुने दाइभाइलाई त सामान्य हुँदो रहेछ, तर दाइभाइ नहुने दिदीबहिनीलाई त केही नै नभएको जस्तो हुँदो रहेछ,’ उनले भनिन्, ‘मैले नै छोरीहरूलाई दिदीबहिनी टीका लगाउन लगाएर उनीहरूको हिम्मत बढाइदिएँ ।’
त्यतिबेला सामाजिक सञ्जाल थिएन । छोरीहरूले एकअर्कालाई टीका लगाउने निर्णय गर्दा विभिन्न प्रतिक्रिया पनि आएको उनी सम्झिन्छिन् । ‘देवरको छोराबाट टीका लगाउनुपर्ने, दाइ बनाएर भए पनि टीका लगाउनुपर्ने भन्ने धेरै कुरा आए,’ उनले भनिन्, ‘कहीँकतै दिदीबहिनी टीका लगाउने चलन बढ्न थाले पनि पुरानो सोच अझै परिवर्तन भएको छैन ।’
परम्पराको विस्तार
संस्कृतिविद् डा. गोविन्द आचार्यका अनुसार भाइटीकाको मूल भाव दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सम्मान, आत्मीयता र एकअर्काको समृद्धिको कामना गर्नु हो । त्यसैले भाइटीका दाजुभाइ र दिदीबहिनी दुवैका लागि विशेष पर्व भएको उनी बताउँछन् । दिदीबहिनीले एकअर्कालाई टीका लगाउनु सामाजिक तथा पारिवारिक परम्पराको विस्तारका रूपमा बुझ्न सकिने उनको भनाइ छ । ‘दाजुभाइ नहुने दिदीबहिनीहरूले बुवाका भाइका छोराहरूको टीका लगाउने, त्यो पनि नभए दाजुभाइ नै बनाएर वा मन्दिरमा गएर टीका लगाउने परम्परा हो,’ उनले भने, ‘पछिल्लो समय परम्पराको विस्तार भएको छ । दिदीबहिनीले भाइटीका लगाउनु संस्कृतिमा थपिएको अर्को सुविधा पनि हो ।’
परम्परागत रूपमा भाइटीका दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने पर्वका रूपमा परिचित छ । धार्मिक मान्यतामा यमराज र उनकी बहिनी यमुनाको कथासँग जोडिएको यस पर्वमा दाजुभाइको दीर्घायुको कामना गरिन्छ । तर दाजुभाइ नहुने परिवारमा दिदीबहिनीले एकअर्कालाई टीका लगाउने अभ्यासलाई सकारात्मक रूपमा लिनुपर्ने डा. आचार्यको धारणा छ ।
भाइटीकाको परम्परागत विधि र मान्यताबीच दिदीबहिनीले एकअर्कालाई टीका लगाउने अभ्यासले पर्वको भावनालाई फराकिलो बनाएको देखिन्छ । दाजुभाइको अनुपस्थिति वा भौगोलिक दूरीका कारण चाडपर्वमा महसुस हुने खालीपनलाई आपसी माया, साथ र आत्मीयताले पूर्ति गर्ने यो अभ्यासले सम्बन्धको महत्त्वलाई पनि उजागर गरेको छ ।