काठमाडौँ : थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण झडप हुँदा ३२ जनाको मृत्यु भएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।
कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ ।
हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताएका छन् ।
थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।
त्यस्तै थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपत्कालीन राहत केन्द्रहरू स्थापना गरिएको छ । हिजो थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पर्ने आठ जिल्लामा सैनिक कानून मार्शल ‘ल’घोषणा गरेको छ ।
यो दशकौँदेखिको विवादित सीमा क्षेत्रसँग सम्बन्धित तनाव अस्ति फेरि चर्किएको हो, त्यहाँ सीमा क्षेत्रमा भएको एक ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए ।