कतार : एनआरएनए एनसीसी कतारको कार्यकाल २०१७–०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार अन्तर्गतको ‘पत्रकारिता पुरस्कार’राम एकवाल रामलाई प्रदान गरिएको छ । वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिरहाका रामलाई उत्कृष्ट पत्रकार पुरस्कारबाट नगद १५ हजार १ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
गैरआवासिय नेपाली संघ(एनआरएनए) एनसीसी कतारको ११औं राष्ट्रिय एकता महाधिवेशनमार्फत रामलाई प्रवासमा रहेर नेपाली समुदायलाई पत्रकारिताको माध्यमबाट सूचना प्रदान, साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्त रूपमा प्रवाह गरेको उल्लेख गर्दै सम्मान प्रदान गरिएको हो ।
सम्मान ग्रहणपछि रामले संस्थाका सम्पूर्ण पदाधिकारी र आयोजकप्रति आभार व्यक्त गर्दै सम्मानले आफूलाई पत्रकारितामा अझ दृढ भएर अगाडि बढ्न ऊर्जा र प्रेरणा प्रदान गरेको बताए । सिरहाको लहानबाट प्रसारण भइरहेको सामुदायिक रेडियो समाद एफएमबाट पत्रकारिता सुरू गरेका राम हाल बालासुन्दरी खबर राष्ट्रिय दैनिकका सम्पादक हुन् ।
उनी कतारमा सामुदायिक पत्रकारिता तथा प्रवासी मजदुरका समस्या उठाउने पत्रकारका रूपमा चिनिन्छन् । संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । महाधिवेशनबाट कृष्ण पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भइसकेको छ ।