काठमाडौं : नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खाली रहेको छ । आइतबार प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति दालि रहेको बताए ।
उनले विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको पनि बताए । सिनियर अफिसरहरुको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको उनले बताए ।
उनकाअनुसार तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ । आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको पनि उनले बताए ।
नेपाल प्रहरीले गत आर्थिक वर्षमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको छ । प्रहरी प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रहेको र जसमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको बताए । उनले २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन नसकेको पनि बताए ।
उनले चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको बताए ।